बिहिवार, चैत्र ३० २०७९
नेपाल वाइड
कतार, ३० चैत । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च कतारले प्रदेशको पुःन नामांकनको माग गरेको छ । प्रदेश १ को नामाकरण तथा त्यसको बिरोधमा आन्दोलन भइरहेको सन्दर्भमा प्रवास पार्टी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च, जनजाती बिभाग कतारले विज्ञाप्ती जारी गर्दै पहिचान देखिने गरि प्रदेशको पुनः नामाङ्कन गर्न माग गरेको हो ।
नेपाली जनप्रगतिशील मन्च जनजाती बिभाग कतारका संयोजक रेशम आले मगरले जारी गरेको विज्ञाप्तीमा विभिन्न पहिचानहरुलाई दृष्टिगत गरी बहुपहिचानका आधारमा प्रदेशको नामाकरण हुनु पर्दछ भन्ने कुरामा प्रवास पार्टी बिभागको दृढ मत र निर्णय रहेको स्पष्ट पारिएको छ ।
चार बुँदे विज्ञाप्तीमा पहिचान पक्षधर संघ, संस्था, पार्टी र समुदायहरुले पनि प्रदेशको नामाकरणका विषयमा गम्भिर समिक्षा गर्दै भावि आन्दोलनलाई सफल बनाउन साझा एजेण्डा र साझा विषयहरुमा सहकार्य सहित नयाँ सिमाङ्कन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनाका विषयमा पनि वहस जरुरी रहेको उल्लेख छ ।
‘नामाङ्कन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपुर्ण आन्दोलनप्रति हाम्रो समर्थन र ऐक्यबद्धता रहेकोछ,’ विज्ञाप्तीमा भनिएको छ, ‘आन्दोलन माथि दमन गरेर होइन सरकारको तर्फबाट यथाशिघ्र वार्ता मार्फत आन्दोलनरत पक्षसंग संवाद गर्न आग्रह गर्दछौं । साथै पहिचान देखिने गरि पुनःनामाङ्कन गर्न यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।’