बिहिवार, बैशाख ७ २०८०
नेपाल वाइड
खोटाङ, ७ बैसाख । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उपायको खोजीमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित वडा शिक्षा समितिले कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
वडाका सामुदायीक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर उकास्ने उपायको खोजीमा वडा शिक्षा समितिले कार्यशाला गोष्ठी सुरु गरेको हो । वडाभित्रका विद्यालयका प्रअ, शिक्षक, जनप्रतिनिधि र वडा शिक्षा समितिका पदाधिकारीलाई शुभद्रा–मदन फाउण्डेसनमा भेला गरेर वडास्तरिय शैक्षिक गुणस्तर अभिवृद्धि सम्वन्धी दुई दिवसिय कार्यशाला गोष्ठी सुरु गरेको हो ।
शिक्षा सम्वन्धी कार्यशाला गोष्ठी बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक बिकास शाखा संयोजक दानबहादुर राईले उद्घाटन गरेका हुन् ।
शैक्षिक क्षेत्रको विकास एबं सम्भावनाको खोजीमा वडाभित्रका विद्यालयका ४० शिक्षक/शिक्षिकालाई कार्यशाला गोष्ठीमा सहभागी गराइएको खाल्लेका वडाध्यक्ष एबं वडा शिक्षा समितिका संयोजक खगेन्द्र राईले बताए ।
सामुदायीक विद्यालयमा राज्यको प्रशस्त लगानी भए पनि नतिजा सन्तोषजनक नहुनुका कारण पत्ता लगाउन, सामुदायीक विद्यालय र संस्थागत विद्यालय बिचको खाडल बढ्नुका कारण बारे छलफल गर्न, पाठ्यक्रमले निर्दिष्ट गरे बमोजिम मूल्यांकन नहुनुका कारण बारे अन्तरक्रीया गर्न, सामुदायीक विद्यालयका शिक्षक तालिम प्राप्त, योग्यता प्राप्त र श्रोत साधनले सम्पन्न भए पनि गुणस्तर न्युन हुनुको कारण पत्ता लगाउन, शिक्षाको गुणस्तर अभिबृद्धिमा शिक्षण विधि र प्रविधिबिचको संयोजन गर्न एबं प्रअले विद्यालयको तथ्यांक अद्यावधिक राख्ने तरिकाका बारेमा निचोड निकाल्न कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
‘सामुदायीक विद्यालयमा राज्यको लगानी १०.३८ प्रतिशत छ । तर नतिजा किन सन्तोषजनक छैन ? राज्यले दिएको जति सेवा सुविधाहरु छन्, यसलाई प्रयोग तथा उपयोग गर्नमा हामी कही चुकेका त छैनौं ? विचार गरौं,’ वडा शिक्षा समितिका संयोजक राईले भने,
‘सामुदायीक विद्यालयप्रतिको मोह घट्दो छ । कतिपय मोहभंग हुने अवस्थामा पुगेका छन् । यो किन भइरहेको छ ? सामुदायीक र निजी विद्यालय बीचमा खाडल किन छ ? यसलाई कसरी पुर्ने ? यो विषयमा गम्भीर बहस गर्न कार्यशाला गोष्ठी गरिएको हो ।’
शिक्षालाई प्रभावकारी र कामयवी बनाउने उपायको खोजी गर्दै वडाको शैक्षिक गुणस्तर वृद्धि गर्न पहल गरिने वडा शिक्षा समितिले जनाएको छ । सहभागी शिक्षक/शिक्षिकालाई पञ्च माबि दिक्तेलका शिक्षक लक्ष्मीप्रसाद खनाल र हरिकाजी बुढाथोकीले सहजीकरणा गरिरहेका छन् ।