शुक्रवार, बैशाख ८ २०८०
दमन राई
खोटाङ, ८ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगरस्तरिय वार्षिक (फाइनल) परिक्षामा जनता मावि सल्लेका कक्षा ४ मा अंग्रेजी, नेपाली, गणित र सामाजिक विषयमा कुनै पनि विद्यार्थी उत्तिर्ण भएनन् ।
कक्षा ४ मा विज्ञानमा एक जना मात्र विद्यार्थी उत्तिर्ण हुन सफल भए । सोही माबिको कक्षा ७, ८ र ९ मा गणितमा उत्तिर्ण दर ‘शुन्य’ देखियो । कक्षा ६ मा गणितमा एक जना र सामाजिकमा दुई जना मात्र उत्तिर्ण भए ।
कक्षा ७ मा सामाजिकमा एक जना उत्तिर्ण भएका छन् । कुनैपनि विषयमा उत्तिर्ण हुनका लागि विद्यार्थीले आन्तरिक र बाह्य मूल्यांकनमा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ।
यस्तै, ज्योती मावि राजापानीको कक्षा ४ मा गणित, सामाजिक र विज्ञानमा एक जना पनि विद्यार्थी उत्तिर्ण हुन सकेनन् । कक्षा ५ मा पनि गणितमा नतिजा शुन्य देखियो ।
कक्षा ६ मा अंग्रेजीमा दुई जना, नेपाली, गणित, सामाजिक र विज्ञानमा एक/एक जना उत्तिर्ण भएका छन् । कक्षा ७ मा गणितमा एक जना मात्रै उत्तिर्ण भए । कक्षा ८ मा अंग्रेजीमा तीन, नेपालीमा तीन, गणितमा एक, सामाजिकमा तीन र विज्ञानमा एक तथा कक्षा १० मा गणितमा एक जना मात्र उत्तिर्ण भएका छन् ।
हालसम्म कक्षा ८ को मात्रै नगरस्तरिय परिक्षा सञ्चालन गर्दैआएको नगरपालिकाले चैत ९ गतेदेखि चैत १६ गतेसम्म कक्षा ४ देखि कक्षा ९ सम्मको नगरस्तरिय वार्षिक परिक्षा सञ्चालन गरेको थियो । कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२, निमावि तहको कक्षा सञ्चालन भइरहेका १५ वटा र १२ वटा माबिलाई परिक्षामा सहभागी गराइएको थियो ।
नगरले गरेको बाह्य मुल्यांकनमा देखिएको उत्तिर्ण प्रतिशत भने निराशाजनक छ । आन्तरिक मूल्यांकनतर्फ सम्वन्धित विद्यालयले पहिलो र दोश्रो त्रैमासिक परिक्षा सञ्चालन गरेको थियो । माथिल्लो कक्षा जानकालागि आन्तरिक र बाह्य दुबै मुल्यांकनमा उत्तिर्ण हुनुपर्ने हुन्छ । नगरस्तरिय परिक्षाका लागि उत्तरपुस्तिका, प्रश्नपत्र नगरपालिकाले व्यवस्था गरेको थियो ।
उत्तर पुस्तिका कोडिङ गरेर फरक–फरक विद्यालयलाई चेक गर्न दिइएको थियो । झट्ट सुन्दा नगरपालिकाको शैक्षित्र अवस्था निराशाजनक देखिए पनि तुलनात्मकरुपमा अन्य स्थानीय तहका विद्यालय सरहकै परिणाम आएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदक कार्की बताउँछन् ।
“रिजल्टको बारेमा बैसाख ३ गते समिक्षा गरिसकेका छौँ । दुई विषय लागेका छात्र/छात्रालाई ५ अंक ग्रेस दिएर उत्तिर्ण गराउने तथा दुई विषय लागेका तर ग्रेस अंक दिँदा पनि उत्तिर्णांक नपुग्ने विद्यार्थीका लागि ग्रेडवृद्धि परिक्षा लिने निर्णय गरेका छौँ,” कार्कीले भने, “शैक्षिक सुधार गर्न नगर स्तरिय पाठ्ययोजना बनाएर कार्यान्वयन गर्दैछौँ । १.६ जिपीएभन्दा कम अंक आएका विषयका शिक्षकलाई स्पष्टीकरण सोध्नेसम्मको तयारी छ ।”
११ वडा रहेको नगरपालिकाका १२ वटा माविमध्ये दुर्छिम माबिका कक्षा ४ मा अंग्रेजी र सामाजिकमा कुनै पनि विद्यार्थ उत्तिर्ण भएनन् । यस्तै, कक्षा ५, कक्षा ६, कक्षा ७, कक्षा ८ र कक्षा ९ को गणितमा सबै विद्यार्थी अनुत्तिर्ण भए । महेन्द्रोद्धय माबि हलेसीका कक्षा ९ ‘सि’मा गणित र विज्ञानमा नतिजा शुन्य देखियो । कक्षा ४ मा अंग्रेजीमा एक जना उत्तिर्ण हुँदा सामाजिक र स्वास्थ्यमा एक जना पनि उत्तिर्ण हुन सकेनन् ।
लक्ष्मी माबि बडहरेका कक्षा ४ मा अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा कुनै पनि विद्यार्थी उत्तिर्ण भएनन् । कक्षा ५ मा नेपाली र गणितमा पनि असफल भए ।
च्यास्मीटार माबिमा कक्षा ५ र कक्षा ७ मा गणितमा कुनै पनि विद्यार्थी उत्तिर्ण भएनन् । दाम्ली माबिमा कक्षा ८ मा गणितमा एक जना उत्तिर्ण भए । कक्षा ८ कै विज्ञानमा एक जना पनि उत्तिर्ण भएनन् । मालिकादेबी कदुवा, बाहुनीडाँडाका कक्षा ५ र कक्षा ७ मा गणितमा उत्तिर्ण दर शुन्य देखियो । कक्षा ८ मा विज्ञानमा कुनै पनि विद्यार्थी उत्तिर्ण भएनन् ।
यस्तै, सरस्वती माबि अर्खौलेका कक्षा ४ मा गणितमा शुन्य र कक्षा ५ मा गणितमा एक जना उत्तिर्ण भएका छन् । बुलापन्थे माबि धितुङका कक्षा ५ मा गणितमा दुई जना मात्र उत्तिर्ण भएका छन् । कक्षा ४ देखि कक्षा ९ सम्मको नगरस्तरिय वार्षिक परिक्षाले विद्यालयको शैक्षिक चित्र स्पष्ट देखाएको नगरपालिकाका सामाविक विकास शाखा प्रमुख रुद्र राई बताउँछन् ।
“नगरको शैक्षिक संस्थाको रोग पत्ता लागेको छ । शिक्षाको स्तर छ्याङ्ग भएको छ । यसमा शिक्षक दोषी छन् । व्यवस्थापन समिति र अभिभावक पनि दोषीका भागीदार छन्,” राईले भने, “कमजोरी पत्ता लाग्यो अव आवश्यक कार्ययोजना सहित उपचारमा जुट्ने विन्दुमा पुगेका छौँ ।”
नगरपालिकाभित्रका माविमध्येमा नगरस्तरिय वार्षिक (फाइनल) परिक्षामा कालिका माबि बाहुनीडाँडाको उत्तिर्ण दर सबैभन्दा उत्कृष्ट देखिएको छ । कालिका माबिका कक्षा ४ देखि कक्षा ९ सम्मका १२१ विद्यार्थी परिक्षामा सहभागी भएकामा ४७ प्रतिशत उत्तिर्ण भएका छन् ।
सरस्वती माबि अर्खौलेका परिक्षामा सहभागी १८९ विद्यार्थीमध्ये ४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
बुलापन्थे माबि धितुङका परिक्षामा सहभागी २१८ विद्यार्थीमध्ये ४१ प्रतिशत, महेन्द्रोद्धय माबि हलेसीका परिक्षामा सहभागी २१८ विद्यार्थीमध्ये ३० प्रतिशत, लक्ष्मी माबिका परिक्षामा सहभागी ८४ विद्यार्थीमध्ये २९ प्रतिशत, दुर्छिम माबिका १३२ विद्यार्थीमध्ये २६ प्रतिशत उत्तिर्ण भएका छन् ।
यस्तै, मालिकादेबी कदुवाका परिक्षामा सहभागी १११ विद्यार्थीमध्ये २६ प्रतिशत, दाम्ली माविका १२३ मध्ये २४ प्रतिशत, ज्योती माबि राजापानीका १३५ विद्यार्थीमध्ये १४ प्रतिशत, जनता माबि सल्लेका ७८ विद्यार्थीमध्ये १२ प्रतिशत र च्यास्मीटार माबिमा २७४ विद्यार्थी परिक्षामा सहभागी भएकामा १० प्रतिशत उत्तिर्ण भएका छन् ।