आइतवार, बैशाख १० २०८०
दमन राई/सुर्य तामाङ
खोटाङ, १० बैसाख । खोटाङमा आयोजित १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा १६ स्वर्ण, ११ रजत र १२ कास्य सहित केपिलासगढी गाउँपालिका टिम प्रथम बन्यो ।
चैत २८ गतेदेखि बैसाख १ गतेसम्म दिक्तेलमा सञ्चालन गरिएको प्रतियोगीतामा ६ स्वर्ण, २ रजत र १२ कास्य जितेको साकेला गाउँपालिकालाई जिल्ला खेलकुद विकास समितिले टिम दोश्रो घोषणा गर्यो ।
४ स्वर्ण, ४ रजत र १० कास्य जितेको दिप्रुङ चुईचुम्मा गाउँपालिका टिम तेश्रोको पुरस्कार बोकेर फर्किए । तर १० स्वर्ण ९ रजत र ६ कास्य जितेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई विजेता घोषणा गरिएन ।
टिम दोश्रोको एक मात्र हकदार हुँदाहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पुरस्कार लिन पाएनन् । अन्य विद्याका खेलाडी सहभागी नगराए पनि नगरपालिकाले करातेमा ७ स्वर्ण, ६ रजत र ६ कास्य तथा तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत हात पारेको थियो ।
स्वर्ण पदक संख्याको आधारमा पाउनुपर्ने टिम दोश्रो पुरस्कारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बञ्चित गराइएको नेपाल कराते महासंघका प्रदेश सदस्य मिलन कसजूले बताए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन निर्देशिका अनुसार सम्वन्धित स्थानीय तहले प्रतियोगीता सम्पन्न भएको मितिले सात दिनभित्र खेलको नतिजा सहितको प्रगति प्रतिबेदन जिल्ला खेलकुद विकास समितिमा बुझाउनुपर्ने हुन्छ ।
तर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको नतिजा सार्वजनिक गरेर पुरस्कार वितरण गरिसकेपछि प्रतिबेदन बुझाएका कारण टिम दोश्रो पुरस्कार पाउन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।
‘निर्देशिकामा उल्लेख भएको समयभित्र प्रतियोगीता सम्पन्न भएको प्रतिबेदन आएन,’ केसीले भने, ‘बैसाख १ गते प्रतियोगीता सकेर पुरस्कार बाँडियो तर प्रतिबेदन बैसाख ३ गते प्राप्त भएकाले अर्कैलाई पुरस्कार गएको हो ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा करातेको छनौट खेल चैत २६ गते गरिएको थियो । सो मितिबाट निर्देशिका अनुसार हप्ता दिनभित्रै बैसाख ३ गते खेलकुद विकास समितिमा प्रतिबेदन बुझाएको कसजु बताउँछन् ।
अर्कातर्फ प्रतिष्पर्धा नै नगराई तेक्वान्दोको विजेता छानिएको हो । बैसाख ६ गते तेक्वान्दोको विजेता टुंग्याइएको हो । तेक्वान्दोको ३ स्वर्ण जोडेर दिक्तेलको स्वर्ण पदक १० पुगेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका लागि सम्वन्धित स्थानीय तहले प्रतियोगीता सञ्चालन गरेर प्रतिष्पर्धामा अघि आएका खेलाडीलाई जिल्ला स्तरिय प्रतियोगीतामा सहभागी गराउनुपर्ने हुन्छ ।
तर कतिपय स्थानीय तहले पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड नै गराउन सकेनन् । कतिपयले पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड नै नगराई जिल्ला स्तरिय प्रतियोगीतामा खेलाडी सहभागी गराएको पाइएको छ ।
बराहपोखरी गाउँपालिकाले पालिका स्तरिय प्रतिष्पर्धा नै गराउन सकेन । रावाबेँसी गाउँपालिकाले प्रतिष्वर्धा नै नगराई जिल्ला स्तरिय प्रतियोगीतामा खेलाडी सहभागी गराएको गुनासो छ ।
खेलाडी आफै जिल्ला स्तरिय प्रतिष्पर्धा गर्न दिक्तेल पुगेपछि कागजी प्रकृया मिलाइएको चर्चा छ । यद्यपी, खेलकुद विकास समिति प्रमुख केसीले पालिका स्तरिय प्रतियोगीता गराएको कागजातको आधारमा जिल्ला स्तरिय प्रतियोगीतामा खेलाडीलाई सहभागी गराएको बताउँछन् ।
खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पालिका स्तरिय प्रतियोगीता गरेको थियो तर जिल्ला स्तरिय प्रतियोगीतामा खेलाडी पठाउन सकेनन् । जिल्ला स्तरिय प्रतियोगीताको मिति बारे सुचना नपाउँदा खेलाडी पठाउन नसकेको सम्वन्धित स्थानीय तहको जवाफ छ ।
सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट कराते र तेक्वान्दोका खेलाडी मात्र सहभागी भए । अन्य विद्याका खेलाडी सहभागी बनेको भए नगरपालिकाको प्रतिष्पर्धा टिम प्रथमका लागि हुने थियो ।
दिक्तेलमै हुने राष्ट्रपति रनिङ शिल्डमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खेलाडी सहभागी गराउन नसक्नु दुःखद भएको सरस्वती माबि दिक्तेलका प्रअ केशरकुमार राईले बताए ।
राष्ट्रपति रनिङ शिल्डको प्रदेश स्तरिय प्रतियोगीतामा सहभागी हुने अधिकांश खेलाडी ‘क्लोज क्याम्प’मा बस्न नपाउँदै प्रतियोगीतास्थल पुग्न बाध्य छन् ।
जिल्लामा कराते महासंघले मात्र करातेका खेलाडीलाई चैत २७ गतेदेखि बैसाख ८ गतेसम्म ‘क्लोज क्याम्प’मा राख्ने व्यवस्था मिलाएको थियो । खेलाडीलाई ‘क्लोज क्याम्प’मा राख्ने विषयमा स्थानीय सरकारकै ध्यान गएको देखिन्न । प्रशिक्षण र बिना तालिम प्रतिष्पर्धा गर्न जाने खेलाडीबाट पदकको धेरै आश गर्न सकिन्न ।
कतिसम्म भने प्रतिष्पर्धा गर्न जाने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रायोजक खोजेर ट्र्याक जुटाइएका छन् । राष्ट्रपति रनिङ शिल्डको प्रदेश स्तरिय प्रतियोगीता बैसाख ११ गतेदेखि १३ गतेसम्म सुनसरीमा हुँदैछ ।
निर्देशिका अनुसार जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्षको संयोजकत्वमा व्यवस्थापन निर्देशन समिति तथा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्नुपर्ने हुन्छ तर जिल्ला खेलकुद विकास समितिले दुबै समिति गठन नगरेको पाइएको छ । जिल्लामा खेलकुद विकास समितिका अध्यक्षको उपस्थिति कमै हुने गरेको छ ।
उमेर हद नाघेको खेलाडी सहभागी गराइएकामा हलेसी तुवाचुङ नगरपालिकामाथि निर्देशिका अनुसार कारबाही भयो तर स्वयं खेलकुद विकास समितिबाट निर्देशिका पालना नभएको खेलाडी बताउँछन् ।