Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    हलेसी र दिप्रुङबासीका लागि साप्सु खोला जलविद्युत आयोजनाको आइपिओ खुला, विदेश हुनेले पनि आवेदन दिन पाउने

    हलेसी र दिप्रुङबासीका लागि साप्सु खोला जलविद्युत आयोजनाको आइपिओ खुला, विदेश हुनेले पनि आवेदन दिन पाउने


    • सोमवार, बैशाख ११ २०८०

    • नेपाल वाइड


    हलेसी र दिप्रुङबासीका लागि साप्सु खोला जलविद्युत आयोजनाको आइपिओ खुला, विदेश हुनेले पनि आवेदन दिन पाउने
    साप्सु खोला जलविद्युत आयोजनाको जलाशय ।

    खोटाङ, ११ बैसाख । खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादित जलविद्युत आयोजनाको साधारण शेयर बिक्री निष्कासन गरेको हो ।

    आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सोमबारदेखि शेयर खुला गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका सबै ११ वडा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै ७ वडाका स्थानीयले शेयरका लागि आवेदन दिन सक्ने थ्रीस्टार हाइड्रो पावर कम्पनीका साइड इन्चार्ज प्रदिप दाहालले बताए ।

    यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले शेयरका लागि आवेदन दिन सक्नेछन् । प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीयले अधिकतम ४ लाख ९२ हजार ५ सय र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७३ हजार ८ सय ७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    शेयरका लागि बैसाख २५ गतेसम्म र ढिलोमा जेठ ९ गनेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । स्थानीयले सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास, प्रभु र थ्रीस्टार हाइड्रो पावरको कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    यसैगरी, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । कम्पनीले प्रभावित क्षेत्रका स्थानीयका लागि जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर खुला गरेको छ ।

    यस्तै, सर्वसाधारणलाई छुट्याएको १५ प्रतिशत अर्थात् ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन बाँडफाँड गर्न बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

    करिब १ अर्व ५० करोडमा साप्सु खोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको हो । खोलाबाट करिब ४ किलोमिटर हेडड्रेसमार्फत ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेण्ड ७ हजार लिटर पानी खसाएर विद्युत उत्पादन गरिएको हो ।

    राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । २०७८ मंसिर १४ गतेदेखि परिक्षण उत्पादन सुरु गरिएको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २०७८ पुसमा राष्ट्रिय प्रशारणलाईनमा जोडिएको थियो ।

    सम्बन्धित समाचार