आइतवार, बैशाख १७ २०८०
भीम राई
खोटाङ, १७ बैशाख । स्थापना भएको ५३ बर्षपछि लिच्किराम्चेको माबेमा माध्यामिक विद्यालय शुरु भएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर-९ स्थित भानु आधारभुत विद्यालयलाई गाउँपालिकाले यसै शैक्षिकसत्रदेखि कक्षा ९ संचालन अनुमति दिएसँगै माबे गाउँले मावि पाएको हो ।
स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी, तथा विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थितिमा आइतवार माविको उद्घाटन गरिएको छ । गाउँ पालिकाक अध्यक्ष उदिम बहादुर राईले मैन बत्ती बाल्नुका साथै विद्यालयको ब्यानर खोलेर माविको उद्घाटन गर्नु भएको हो ।
गाउँमै माध्यामिक विद्यालय उद्घाटन भए सँगै यहाँका विद्यार्थीहरुले ३ घण्टा हिडेर टाढाको सिम्पानी मावि सिम्पानी पुग्नु पर्ने हैरानीको अन्त्य भएको छ । स्थानीय अभिभावकहरुले संकलन गरेको आर्थिक चन्दा र स्थानीय सरकार सहयोगले विद्यालय संचालन गर्ने हिम्मत बढेको विद्यालयका प्रधानाध्यापक गोपाल राइले बताउनु भएको छ ।
हालै थप कक्षा संचालन हुने भएसी विद्यार्थी संख्या समेत बढ्ने संभावना रहेको प्रधानाध्यापक राईले जानकारी दिनु भयो । राईका अनुसार १८५ जना विद्यार्थी भर्ना भईसकेको बताउँदै ९ कक्षामा जम्मा ३१ जना विद्यार्थी आईसकेको र केही आउनै बाँकी रहेको बताउनु भयो ।
कार्यक्रममा गाउँ पालिका अध्यक्ष उदिम बहादुर राई उपाध्याक्ष रुपेश राई, वडा अध्यक्ष इन्द्र व राई, किरण राई राजनैतिक दलका तर्फवाट नेकपा माओबादी केन्द्र पालिका अध्यक्ष दिपेन्द्र राई, एमाले प्रदेश सदस्य राजन ढकाल लगायतले शुभकामना दिनु भएको छ ।
विद्यार्थीहरुको रोचक नृत्यहरु सहित सम्पन्न भएको कार्यक्रममा माध्यामिक विद्यालय संचालनार्थ चन्दा प्रदान गर्ने महानुभावहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, शिक्षक अभिभावक संघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
