मंगलवार, बैशाख १९ २०८०
दमन राई
खोटाङ, १९ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भ्रमणमै साँढे २३ लाख खर्च गरेको छ । चालु आर्थिक वर्ष पदाधिकारी देश–बिदेश दर्शन कार्यक्रम शिर्षकमा बिनियोजित आठ लाख र कर्मचारी देश–विदेश दर्शन कार्यक्रम (भ्रमण काज विदा) शिर्षकको १५ लाख ५० हजार खर्च गरेको हो ।
जनप्रतिनिधिको एउटा र कर्मचारीको छुट्टाछुट्टै चार टोली भ्रमणमा निस्किएको थियो । कार्यालय नै रित्तो हुने भएकाले कर्मचारीको छुट्टाछुट्टै टोली भ्रमणमा निस्किएका हुन् । नगरको अध्ययन भ्रमण कार्यविधिमै ‘कार्यालयलाई असर नपर्नेगरी’ नौ जना भन्दा बढीको समुह हिँड्न नमिल्ने व्यवस्था छ ।
गत चैत २९ गते देश दर्शनमा निस्किएको मेयर तीर्थराज भट्टराई, वडाध्यक्ष र नगर कार्यपालिका सदस्यको १८ जनाको टोली बैसाख ५ गते फर्किएका थिए । बैसाख ४ गते भ्रमणमा हिँडेको प्रशासन प्रमुख रामबहादुर खत्री नेतृत्वको नौ जना कर्मचारीको टोली बैसाख १० गते फर्किएको थियो ।
त्यस भन्दा अघि फागुनमा प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल नेतृत्वको पाँच जना र चैतमा लेखा अधिकृत राजकुमार राई नेतृत्वको नौ जनाको कर्मचारीको टोली भ्रमणमा निस्किएको थियो । यस्तै, बैसाख १३ गते छैठौ अधिकृत एवं उजुरी प्रशासक रेखा राई सहितको कर्मचारीको टोली हप्ता दिनका लागि भ्रमणमा निस्किएको थियो ।
चर्चित र नमूना पालिकाको सेवा प्रवाहका बारेमा अध्ययन गर्ने र फर्किएर ‘एप्लाई’ गर्ने योजना सहित नगरसभाले देश दर्शन शिर्षकमा बजेट बिनियोजन गरेको थियो । जनप्रतिनिधिको टोली धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा केन्द्रित हुँदा कर्मचारीको टोली नमूना पालिकाको अध्ययनमा केन्द्रित भएको जनाइएको छ ।
पदाधिकारी देश–बिदेश दर्शन कार्यक्रमको बजेट मध्ये केही रकम मेयर भट्टराई जापान भ्रमणमा गएको बेला उपहार तथा कोसेली खरिदमा पनि खर्च भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरे बताउँछन् ।
जनप्रतिनिधिको टोलीमा मेयर भट्टराई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष हरिप्रसाद चौंलागाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडाध्यक्ष भगेश्वर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका वडाध्यक्ष रामबहादुर कट्वाल लगायत सहभागी थिए ।
तर, उपमेयर बिसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाध्यक्ष ध्रवबिक्रम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष महेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहान, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष इखबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राई देश दर्शनमा गएनन् । मितव्यायीता अपनाउनुपर्ने भन्दै कतिपय जनप्रतिनिधि देश दर्शनमा सहभागी नभएका हुन् ।
यस बाहेक नगरपालिकाले चालु आर्थिक वर्ष विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चका लागि नौ लाख बिनियोजन गरेको छ । सो बजेट विदेशबाट भ्रमणका क्रममा नगरपालिका आउने विशिष्ट अतिथि लगायतको व्यवस्थापनका लागि बिनियोजन गरिएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले बताए ।
बिकास सम्बन्धी सिकाईका लागि भन्दै निवर्तमान मेयर दिपनारायण रिजालको पालामा पनि २०७५ कात्तिकमा जनप्रतिनिधि र कर्मचारीको टोलीलाई ६ दिने सिक्किम भ्रमणमा लगिएको थियो । उपलव्धी विहिन क्षेत्रमा बजेट सक्ने काम भएको भन्दै हरेक भ्रमणको आलोचना हुने गरेको छ ।