मंगलवार, बैशाख १९ २०८०
नेपाल वाइड
खोटाङ, १९ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा दुई वर्षदेखि बन्द विद्यालय पुःन सुचारु गराइएको छ । शिक्षकको लापरवाहीका कारण २०७७ साल भदौ १५ गतेदेखि बन्द रहेको फुलेसीस्थित सहकला प्राविलाई चैत १२ गतेको बृहत अभिभावकको भेलाको निर्णय अनुसार पुःन सुचारुको प्रयास गरिएको हो ।
विद्यालय पुःन सुचारु गराउने प्रयास स्वरुप बैसाख १ गतेदेखि बैसाख १५ गतेसम्म सञ्चालन गरिएको भर्ना अभियानका क्रममा सेवा क्षेत्रभित्रका विभिन्न कक्षाका ३० जना विद्यार्थी भर्ना भएका छन् ।
कक्षा ४ सम्म अध्यापन गराउने अनुमती पाएको विद्यालयमा हाललाई कक्षा ३ सम्मको कक्षा सञ्चालनका लागि नगरपालिका समक्ष अनुमती माग गरिएको अभिभावक मुगाधन राईले बताए ।
२०४५ सालमा स्थापना भएको विद्यालयमा नियमित पठन–पाठन नभएपछि अभिभावकले बालबच्चा अन्यत्र पठाउँदा सहकला प्रावि बन्द हुन पुगेको थियो । विद्यार्थी नआएपछि नगरपालिकाले शिक्षकलाई अन्यत्र विद्यालयमा काज सरुवा गरेको थियो ।
बन्द विद्यालय पुःन सुचारु गराउनका लागि स्थानीय अभिभावकले सामुहिक रुपमा जमर्को गरेका हुन् । अंग्रेजी माध्यमबाट पठन–पाठन गर्ने/गराउनेगरी विद्यालय सुचारु गराउने प्रयास थालिएको अभिभावक राईले बताए ।
‘बन्द विद्यालय सुचारु गर्नका लागि नगरपालिकामा माग राखेका छौँ । अंग्रेजी माध्यमबाट पढाउने लक्ष्यका साथ विद्यालय पुःन सुचारु गराउने लक्ष्य छ,’ राईले भने, ‘बोर्डिङ खोज्ने विद्यार्थीलाई गाउँमै अंग्रेजी माध्यमबाट पढ्ने पढाउने हाम्रो योजना छ ।’
बन्द विद्यालय सुचारु गराउनका लागि अभिभावकले नगरपालिका समक्ष लिखित माग राखेपछि बैसाख १७ गते उपमेयर बिसन राईले विद्यालयको स्थलगत अनुगमन गरेका छन् । अनुगमनमा पुगेका उपमेयर राई समक्ष अभिभावकले सात बुँदे माग राखेका छन् ।
उनीहरुले विद्यालय पुःन सञ्चालनका लागि भौतिक पुर्वाधार मर्मत तथा नयाँ संरचना निर्माणका लागि पहल गर्न, चालु शैक्षिक–सत्र कक्षा ३ सम्म पढाउने अनुमती प्रदान गर्न, शिक्षकको काज दरबन्दीलाई फिर्ता गरिदिन, वालविकास कक्षा सञ्चालनका लागि दरबन्दी कायम गरिदिन, शैक्षिक सामग्री उपलव्ध गराउन, दक्ष अंग्रेजी शिक्षकका साथमा पाठ्यापुस्तकको व्यवस्था गरिदिन, खालिङ भाषा कक्षा सञ्चालनका लागी दरबन्दी व्यवस्था गर्न माग राखेका छन् ।
बन्द विद्यालय पुःन सञ्चालन हुने खुसियालीमा पूर्व विद्यार्थी एवं कर्मध्वज फाउन्डेशन नेपाल काठ्माडौंका अध्यक्ष रामकुमार राई र पूर्व विधार्थी एबं रुभिभेल्ली स्कुल भतपुरका फाउन्डर प्रिन्सीपल रत्नबहादुर राईले करिव एक लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेका छन् ।