Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: वाप्लुखा प्रहरी जिर्ण भवनमा, सेवा प्रवाह कष्टप्रद

    खोटाङ: वाप्लुखा प्रहरी जिर्ण भवनमा, सेवा प्रवाह कष्टप्रद


    • बिहिवार, बैशाख २१ २०८०

    • नेपाल वाइड


    खोटाङ:  वाप्लुखा प्रहरी जिर्ण भवनमा, सेवा प्रवाह कष्टप्रद
    खोटेहाङ गाउँपालिकाको प्रहरीचौकी वाप्लुखा । तस्बीरः दमन राई

    खोटाङ, २१ बैसाख । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरीचौकीका प्रहरी जिर्ण भवनमा बसेर सेवा दिन बाध्य छन् । २६ वर्षअघि स्थापना गरिएको प्रहरीचौकीका लागि हालसम्म भवन निर्माण नहुँदा प्रहरी स्थानीय महाकन्य प्राविको जिर्ण भवनमा बसेर शान्ति सुरक्षा सम्वन्धी कार्यसम्पादन गर्न बाध्य बनेका हुन् ।

    भोजपुर सिमाना भएको खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी कानढाकामा २०५४ सालमा प्रहरीचौकी स्थापना गरिएको थियो । शसस्त्र द्धन्द्धको समयमा २०५७ साल चैतमा प्रहरीचौकी जलाएर ध्वस्त बनाइएपछि हालसम्म नयाँ भवन बनाइएको छैन ।

    द्धन्द्ध कालमा विस्थापित भएपछि २०६८ सालमा पुःर्नस्थापना गरिएको प्रहरीचौकीको आफ्नै भवन नहुँदा करिब पाँच सय मिटरमाथि रहेको विद्यालयको रित्तो भवनमा राखिएको हो । प्रहरी चौकीमा १० प्रहरीको दरबन्दी छ ।

    २०६७ सालमा विद्यालयलाई केही तल सारिएपछि रित्तो भएको भवन हाल सिर्जनशिल आमा समुहको स्वामित्वमा रहेको छ । २०५१ सालमा बनाइएको भवनको चार कोठामध्ये दुई कोठामा प्रहरी बसेका छन् ।

    अन्य दुई कोठालाई एउटा बनाएर आमा समुहले कुटानी पिसानी मिल राखेका छन् । भूकम्पका कारण जिर्ण बनेको भवनको कोठाको भित्ता चर्किएर चिराचिरा परेको छ । कोठा साँघुरो र अँध्यारो छ । दिउँसो पनि कोठामा बत्ती बाल्नुपर्ने अवस्था छ ।

    वर्षामा छाना चुहिने समस्या छ । एउटा कोठा चिरा परेर भासिएको छ । प्रहरी राखिएको भवन जुनसुकै बेला ढल्ने खतरा भएको स्थानीय बिष्णुबहादुर बिष्टले बताए । प्रहरीचौकीको भवन निर्माणका लागि २०७० सालमा दुई ठाउँमा करिब १० रोपनी नौ आना जग्गा खरिद गरेर पास गरिएको छ । तर हालसम्म भवन बनेको छैन ।

    police post at phaktang.jpg

    बराहपोखरी गाउँपालिकाको प्रहरीचौकी हुक्नाजोर ।

    वर्षा, भूकम्प जस्ता प्राकृतिक विपत्तीका बेला स्वयं प्रहरी नै दुर्घटनामा पर्ने खतरा छ । तीन/चार वर्षअघि वाप्लुखा पुगेको तत्कालिन प्रमुख जिल्ला अधिकारी र डिएसपीले भने अनुसार प्रहरीचौकीका लागि जग्गा व्यवस्थापन गरिए पनि भवन निर्माणको काम नभएको स्थानीय बताउँछन् ।

    प्रदेशमा पुगेर प्रहरीचौकीका लागि भवन बिनियोजन गर्न माग राख्दा समेत सहयोग नमिलेको वडाध्यक्ष पारस राईले बताए । यस्तै, बराहपोखरी गाउँपालिका–२ फाक्टाङस्थित प्रहरीचौकी हुक्नाजोरलाई स्वास्थ्यचौकीको भवनमा राखिएको छ ।

    बालकन्य माबिभन्दा केही माथि रहेको भवन द्धन्द्ध कालमा भत्काइएपछि प्रहरीचौकी पुःर्नस्थापनाका क्रममा स्वास्थ्यचौकीको साँघुरो भवनमा राखिएको हो । जिर्ण भवनबाट असहज तरिकाले सेवा प्रवाह भइरहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

    ‘प्रहरीचौकीको आफ्नै जग्गा छ । भवन बनाउन प्रकृया पुरा गरेर पटक–पटक माग राख्यौं,’ बञ्जराले भने, ‘अहिलेसम्म भवनका लागि बजेट उपलव्ध भएन । प्रहरी असहज तरिकाले बसिरहेका छन् ।’ बराहपोखरी गाउँपालिका–१ बराहपोखरी प्रहरीचौकीको पनि भवन नहुँदा प्रहरीलाई तत्कालिन गाबिसको कच्ची भवनमा राखिएको छ ।

    सम्बन्धित समाचार