शनिवार, बैशाख २३ २०८०
नेपाल वाइड
खोटाङ, २३ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रबर्द्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रबर्द्धन कार्यक्रम ल्याएको हो ।
गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रबर्द्धन कार्यक्रम अघि सारिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाले व्यवसायीक रुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन बैसाख १९ गते प्रथम पटक सुचना प्रकाशित गरेको छ ।
गहतको बिउ भएका किसानले स्वतः गहत उत्पादन गर्न सक्ने र बिउ नभएका किसानलाई आवश्यक बिउ उपलव्ध गराइने नगरपालिकाले जनाएको छ । उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने मेयर राईले बताईन् ।
नगरपालिकाको ११ वडामध्ये सबैजसो वडामा गहत खेती हुने गरेको छ । त्रि–धार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एबं पर्यटकले ‘कोसेली’का रुपमा लैजान पाउनेगरी गहत खेती प्रवर्द्धधनको कार्यक्रम ल्याइएको हो ।
‘रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ । अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्व बुझाउन सकिएको छैन । गाउँघरमा चामलसँग गहत साट्ने चलन छ,’ मेयर राईले भनिन्, ‘अव इच्छुक किसानलाई गहतको बिउ उपलव्ध गराउँछौँ ।
उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था मिलाउने योजना बनाएका छौँ । गहतलाई हलेसीको कोसेलीका रुपमा स्थापित गर्ने योजना छ ।’ नगरमा उत्पादित गहत संकलनका लागि विक्रेता सुचिकृत गर्ने नगरपालिकाको योजना छ ।
गत असारमा सम्पन्न ११ औं नगरसभाले रैथाने बाली प्रवर्द्धधन कार्यक्रम सम्वन्धी निती तथा कार्यक्रम पास गरेको थियो । नगरपालिकामा गहतको व्यवसायीक खेतीको प्रचुर सम्भावना छ ।
नगरमा उत्पादित गहत जिल्ला बाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार लगायतका ठाउँका किसानले गहत खेती गर्दैआएका छन् ।
हाल गाउँघरमा गहत दालको रुपमा उपयोग हुने गरेको छ । नगरपालिकाले रैथाने बाली प्रबर्द्धन कार्यक्रम अन्तरगत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बिउकालागि आवेदन दिन आव्हान गरेको छ ।