आइतवार, बैशाख २४ २०८०
नेपाल वाइड
खोटाङ, २४ बैसाख । बिश्व शान्तीको कामना गर्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दिप प्रज्वलन गरिएको छ । शंकराचार्य हेमानन्द गिरी र बिश्व हिन्दु महासंघका अध्यक्ष एबं भारतीय पुर्व शिक्षामन्त्री डा. अजय सिंको उपस्थितिमा आइतबार हलेसीमा बिश्व शान्तीको कामना गर्दै बृहत दिप प्रज्वलन गरिएको हो ।
हलेसीको प्रांगणमा १०८ वटा दिप प्रज्वलन गर्दै र दुई लाख ५० हजार लाखबत्ती बालेर बिश्व शान्तिको कामना गरिएको छ । कार्यक्रममा शंकराचार्य गिरी र बिश्व हिन्दु महासंघका अध्यक्ष सिंले दिप प्रज्वलन गरेका थिए ।
हलेसीलाई भारत लगायत बिश्वभर चिनाउने र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ दिप प्रज्वलन आयोजना गरिएको होटल व्यवसायी एबं नेपाल दशनामी समाजका निवर्तमान केन्द्रीय अध्यक्ष रुद्र गिरीले बताए ।

हलेसीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ हलेसी महादेवस्थान विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति, होटल व्यवसायी संघ हलेसी, हलेसी तुवाचुङ बजार व्यवस्थापन समिति, वडा कार्यालय महादेवस्थान, हलेसी र नेपाल दशनामी समाज, जिल्ला कार्य समिति खोटाङको आयोजनामा बृहत दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।
४५ देशका हिन्दु आवद्ध बिश्व हिन्दु महासंघका अध्यक्ष लगायतको उपस्थितिमा हलेसीमा पहिलोपल्ट बिश्व शान्तीको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा शंकराचार्य गिरी र बिश्व हिन्दु महासंघका अध्यक्ष सिंलाई बिश्वभरका हिन्दुलाई हलेसीमा भित्र्याउनका लागि सहजीकरण गरिदिन छुट्टाछुट्टै निवेदन दिइएको गिरीले बताए ।
“हलेसीमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना भएको हो,” गिरीले भने, “हलेसीको प्रचार–प्रसार गर्दै बिश्वभरका हिन्दुलाई हलेसीमा भित्र्याउने लक्ष्यका साथ बिश्व शान्तीको कामनामा दिप प्रज्वलन गर्ने कार्यक्रम राखिएको हो ।” कार्यक्रममा पञ्चे बाजा सहित पञ्चकन्यको कलश यात्रा, साकेला नाच, भजन लगायतका प्रस्तुती राखिएको थियो ।