Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जापान पुग्ने वित्तिकै एयरपोर्टबाटै फर्काइए दुई युवा, भिसा नेपाल एयरलाइन्सको नियन्त्रणमा

    जापान पुग्ने वित्तिकै एयरपोर्टबाटै फर्काइए दुई युवा, भिसा नेपाल एयरलाइन्सको नियन्त्रणमा


    • सोमवार, बैशाख २५ २०८०

    • नेपाल वाइड


    जापान पुग्ने वित्तिकै एयरपोर्टबाटै फर्काइए दुई युवा, भिसा नेपाल एयरलाइन्सको नियन्त्रणमा
    इमिग्रेसन फ्यासिलिटी वापत केदार चौहान र निरकुमार तामाङलाई मागिएको चलानी पत्रसहित जापानको एयरपोर्टबाटै फर्काइएका खोटाङका केदार चौहान (बाँया) र निर कुमार तामाङ ।

    खोटाङ, २५ बैसाख । जापान पुग्ने वित्तिकै एयरपोर्टबाट फर्काइएका दुई युवा नेपाल एयरलाइन्सको कार्यालयमा भिसा छाड्न बाध्य भएका छन् । भिजिट भिसामा गत अप्रिल १५ तारिखमा जापान पुगे पनि एयरपोर्टबाट फर्काइएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका केदार चौहान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका निरकुमार तामाङको भिसा नेपाल एयरलाईन्सले नियन्त्रणमा राखेको हो ।

    जापानको नारिता इन्टरनेशनल एयरपोर्टमा दुई दिन बस्दा इमिग्रेसन फ्यासिलिटी वापत मागिएको दुई लाख ६४ हजार जापानी येन बुझाउन नसक्दा चौहान र तामाङको भिसा नेपाल एयरलाईन्सका कर्मचारी बताउने व्यक्तिले नियन्त्रणमा लिएर राखेका हुन् । चौहान र तामाङ गत अप्रिल १४ तारिखमा नेपाल एयरलाइन्सको जहाजमार्फत जापान उँडेका थिए ।

    जापानको एयरपोर्ट पुगेपछि सोधपुछ तथा सेक्युरिटी चेक गर्नेक्रममा आफुहरुलाई ‘इन्ट्री’ नदिइ इमिग्रेसनमा राखेको चौहानले बताए । इमिग्रेसनमा दुई दिन राखिएका उनीहरु अप्रिल १७ तारिखमा स्वदेश फर्किएका थिए ।

    जापानको एयरपोर्टबाटै फर्कने तयारीका क्रममा नेपाल एयरलाईन्सका कर्मचारी बताउने व्यक्तिले इमिग्रेसन फ्यासिलिटी वापत एउटै कागजमा दुई जनालाई दुई लाख ६४ हजार येन जम्मा गर्न कागज थमाएको थियो ।

    तर, चौहान र तामाङले इमिग्रेसन फ्यासिलिटी वापतको रकम नेपाल ओर्लिएपछि बुझाउने अडान लिएर फर्किएको बताउँछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौंमा ओर्लिएपछि पुःन नेपाल एयरलाईन्सका कर्मचारी बताउने व्यक्ति आएर ‘कार्यालयमा काम छ’ भन्दै लगेर इमिग्रेसन फ्यासिलिटी वापतको पैसा मागेका थिए ।

    मागेको पैसा नदिएपछि भिसा नियन्त्रणमा राखेको चौहानले बताए । “जापानको एयरपोर्टमा ओर्लिएपछि डकुमेन्ट चेक भयो । तिमीहरुलाई जिम्मा लिने मान्छे, घुम्ने ठाउँ, लोकेसन वारेमा थाहा छैन, अंग्रेजी आउँदैन भनेर इमिग्रेसनमा लगेर राख्यो ।

    सिग्नेचर गरायो,” चौहानले भने, “दुई दिनपछि एनएको मान्छे आयो । हामीलाई सेक्युरिटी वापत दुई लाख ६४ हजार येन मागियो । हामीसँग पैसा छैन । नेपाल पुगेर दिन्छौँ भन्यौं । नेपाल आएपछि पुःन एनएकै कार्यालयमा लगेर पैसा मागियो । हामीले दिन सक्दैनौं भनेपछि पैसा लिएर आएपछि दिन्छौं भनेर भिसा राखिदियो ।”

    व्यक्तिमार्फत जापान जानेक्रममा उनीहरुको जनही आठ/नौ लाखका दरले खर्च भएको थियो । यद्यपी हवाई टिकटको पैसा कटाएर अन्य पैसा फिर्ता भएको पिडित बताउँछन् । जापान रहँदा उनीहरुको खानामा आफ्नै खर्च भएको थियो ।

    उनीहरु काम गर्ने र पैसा कमाउने सपना बोकेर लाखौं खर्च गरेर चिनजानका व्यक्तिमार्फत भिजिट भिसामा जापान गएका थिए । जिल्लाका युवालाई जापानको एयरपोर्टबाटै फर्काइएको र लाखौं पैसा मागेको विषयमा गुनासो आएपछि सोमबार नेपाल एयरलाइन्समा पुगेर आवाज उठाएको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राई बताउँछन् ।

    “२४ घण्टाभन्दा बढी समय बसेपछि प्रत्येक दिनको शुल्क तिर्नुपर्ने सिस्टम रहेछ । यो बेठीक छ । केही गरौंला भनेर विदेश जाने गरिब मान्छेको लाखौं रकम डुबिसकेको अवस्थामा एयरपोर्टबाटै फर्कने क्रममा उत्तिकै पैसा माग्नु न्यायोचित भएन,” राईले भने, “उहाँहरुको न्यायको लागि संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रीसम्म कुरा पुर्‍याउनेछौँ । यसरी धेरैको पासपोर्ट एनएकै कार्यालयमा रहँदा कतिपयले अर्को राहदानी लिएको जानकारी पनि पाएका छौँ ।”

    सम्बन्धित समाचार