मंगलवार, बैशाख २६ २०८०
नेपाल वाइड
खोटाङ, २६ बैशाख । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका गंगाबहादुर विश्वकर्माले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर लागिरहेका गंगाबहादुरले कन्ये जातको च्याउ खेतीबाट मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । उनले उत्पादन गरेको च्याउ दिक्तेल, हलेसीलगायत स्थानीय बजारमा खपत हुने गरेको छ ।
गंगाबहादुरले दैनिक १५ देखि २० किलो च्याउ उत्पादन गर्दै आएका छन् । उत्पादित च्याउ बिहान पाँच बजे नै मोटरसाइकलमा राखेर दिक्तेल बजार पुर्याउँछन् । स्थानीय बजारमा कन्ये च्याउ प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री हुने गरेको उनको भनाइ छ ।
तर‚ च्याउका बजार यथेष्ट भने छैन । दिक्तेल बजारमा दैनिक २०-२५ किलो खपत हुने गरेको छ। “च्याउका लागि बजारको चुनौती छ । दिक्तेलमा दैनिक २० देखि २५ किलो खपत हुन्छ‚” उनले भने‚ “केही मात्रामा हलेसीमा जान्छ । ठूलो मात्रामा उत्पादन गर्दा बिक्री हुने अवस्था छैन ।” कच्चा पदार्थ अन्यत्रबाट ल्याउनुपर्ने भएकाले मूल्य पनि केही महँगो भएको उनको भनाइ छ ।

च्याउ खेतीमा त्रैमासिक दुईदेखि तीन लाख रुपैयाँ लगानी गर्दै आएको गंगाबहादुर बताउँछन्। वार्षिक करीब ६ लाख आम्दानी गर्दै आएका छन् । च्याउका लागि बीउ र अन्य कच्चा पदार्थ काठमाडौंबाट ल्याउने गरेको उनको भनाइ छ। पराल तराईबाट ल्याउने गरेका छन् । च्याउ खेतीमा श्रीमती सरिता राईले साथ दिइरहेकी छन् ।
गंगाबहादुरले २०६५ सालमा सिताके च्याउ खेती गरेका थिए। सिताके च्याउले बजार नपाएपछि उनले २०६७ सालदेखि कन्ये च्याउ खेती शुरू गरेका हुन् । गंगाबहादुरले च्याउसँगै चार रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । च्याउ र अन्य तरकारीबाट मासिक ६०-७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ। “च्याउबाट महीनामा ४० देखि ५० हजार आम्दानी हुन्छ । खुर्सानी र अन्य तरकारीको आम्दानी जोड्दा ६०-७० हजार आउँछ ।”
समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका गंगाबहादुर कृषिलाई व्यावसायिक बनाउन पढेलेखेका व्यक्ति लाग्नुपर्ने बताउँछन् । “कृषिलाई व्यावसायिक बनाउन पढालेखा भएकै मान्छे अघि सर्नुपर्छ‚” उनी भन्छन् । २०६१ सालदेखि कृषि पेशामा लागेका भए पनि गंगाबहादुरले २०७१ सालमा मात्र खोटाङ कृषि फर्म दर्ता गरेका थिए । श्रोत: हिमालखबर
