बुधवार, बैशाख २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ जेठ । जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा दुई घर र तीन गोठ जलेको छ । २१ लाख ६६ हजार बराबरको क्षति भएको छ । स्थानीय डाँडाखर्क सामुदायीक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको डुम्रेबोटेका मानबहादुर राउतको ढुंगामाटोले बनेको दुई तले दुई वटा घर र बाँसको टाँटीले बनेको बाख्रा खोर जलेको छ । राउतको अन्दाजी १३ लाख ६६ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै, डढेलोले सोही ठाउँका तिलकबहादुर बस्नेतको एउटा गोठ जल्दा अन्दाजी पाँच लाख र भिमबहादुर दाहालको एक वटा गोठ जल्दा करिब तीन लाख बराबरको क्षती भएको छ । आगलागीमा मानवीय क्षती भएको छैन । मंगलबार बिहान नापेटार जंगलबाट सुरु भएको डढेलो डाँडाखर्क सामुदायीक वन हुँदै बस्तीमा प्रवेश गरेको वडाध्यक्ष ढकबहादुर कार्कीले बताए ।

वडा कार्यालय र प्रहरीलाई गाउँमा डढेलो पसेको खबर भएपछि प्रहरी चौकी बराहापोखरी, इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र प्रहरी बल सुरक्षा बेस चिसापानीबाट खटिएको टोलीले राती डढेलो नियन्त्रणमा लिएको थियो ।
यस्तै, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको खोटेजुरेली र झाँक्रीथान सामुदायीक वन, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको कालीका भगवती सामुदायीक वन र रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रातामाटा हाँडीखोला सामुदायिक वनमा डढेलो लागिरहेको छ ।
मंगलबारदेखि सुरु भएको डढेलोबाट घर जोगाउन स्थानीय रातभर खटिएको डुम्रेधारापानीका वडा सदस्य गोमा पाण्डेले बताईन् । दुबेकोलमा पनि जोखिममा परेको तीन घरलाई पत्कर सोहोरेर र अग्नी रेखा बनाएर जोगाइएको छ । डढेलो निभाउने क्रममा घाईते अवस्थाका चराचुरुङ्गी भेटिएको थियो ।