बुधवार, बैशाख २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ बैसाख । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट सामना परिवारले खोटाङको दिक्तेलबजारमा सांगीतिक कार्यक्रम गरेको छ । वैज्ञानिक समाजवादका लागि नेपाल कम्यूनिष्ट पार्टी केन्द्रीय समितिको सामना जनसंगीत अभियान अन्तरगत दिक्तेलबजारमा सामना परिवारले सांगीतिक कार्यक्रम गरेको हो ।
सामना परिवारका कलाकारले बुधबार दिक्तेलको रत्नपार्कमा सडकमै नृत्य एवं क्यारिकेचर प्रस्तुत गरेका थिए । मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरुमा सामना जनसंगीत कार्यक्रम गर्नेक्रममा दिक्तेलमा करिब दुई घण्टा सांगीतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सामना परिवारका समरकुमार झुसेले शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र चित्रबहादुर केहीको क्यारिकेचर गरेर हँसाएका थिए । कार्यक्रमलाई नेपाल कम्यूनिष्ट पार्टीका खोटाङ इन्चार्ज सञ्जिव मगरले सम्बोधन गरेका थिए ।


