शुक्रवार, बैशाख २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ बैसाख । खोटाङमा पुलको तोड्न लागिएको ठेक्का थमौती गराएर ठेकेदार सम्पर्क विहिन बनेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको बुवालुङ र लामीडाँडास्थित पंखु खोलामा निर्माण हुने पुल निर्माणको ठेक्का लिएको सिरुवा कन्ट्रक्सन प्रालिका प्रतिनिधि ठेक्का थमाएर सम्पर्क विहिन बनेको हो ।
पिलरको जग उठाएर वर्षौंसम्म पुल अलपत्र पारेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेपछि अत्तालिएका ठेकेदारले पुस २३ गतेदेखि कामलाई सुचारु गराएजस्तो गरेको थियो तर पिलरको केही भाग ढलान थप गरेपछि फागुन १९ गतेदेखि पुःन पुलको काम ठप्प पारेका छन् ।
२०७३ सालमै बनिसक्नुपर्ने १५ मिटर लामो पुलको हालसम्म दुईतिरको पिलर ठड्याउने बाहेकका काम नभएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेलका इन्जिनियर दिपेश मुनकर्मीले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडीको पंखु खोला मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनका लागि चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
नगरको पत्राचारपछि अत्तालिएका सिरुवा कन्ट्रक्सन प्रालिका प्रवन्ध निर्देशक दिनेश पौडेलले चैत २९ गते चालु आर्थिक वर्षभित्र पुलको काम सम्पन्न गर्ने कबुल गरेका थिए ।
पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन बनेपछि आयोजनाले सम्पर्कमा आउन भन्दै २०७६ सालमा १५ दिने सूचना प्रकाशित गरेको थियो ।