शनिवार, बैशाख ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० बैसाख । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन संगठित रुपमा राज्य शक्तीको दुरुपयोग गर्ने कार्यमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै राप्रपाले राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्नो नागरिक बेच्ने कार्यमा संलग्न जुनसुकै तहका नेतालाई कुनै वाहनामा छुट नदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई उच्च प्राथमिकतामा राखेर निष्पक्ष छानविन गरी दोषी उपर सजाय गर्न, विगतका ठूलठूला भ्रष्टाचार काण्डका फायल खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ती छानविन गरी अवैध सम्पत्ती जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण निर्माण गर्न प्रधानमन्त्री समक्ष जोडदार माग गरेको छ ।
बहालवाला सचिव र तात्कालिन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भए पनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरु समयक्रमसँगै सेलाएर जानुका साथै ठूलाहरु खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मुक्ति पाउने नजिरका कारण पूर्णरुपमा आश्वस्त हुनसक्ने अवस्था सिर्जना भइनसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष ललितकुमार राईले बताए ।
ज्ञापन–पत्र बुझाउनका लागि राप्रपाका नेता तथा कार्यकर्ता राष्ट्रिय झण्डा र पार्टीको झण्डा सहित प्रशासन पुगेका थिए । ‘बहालवाला सचिव र तत्कालिन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भए पनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरु समयक्रमसँगै सेलाएर जानका साथै ठूलाहरु खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मुक्ति पाउने नजिरका कारण पूर्णरुपमा आश्वस्त हुनसक्ने अवस्था सिर्जना भइसकेको छैन ।राप्रपा यस प्रकरणलाई कुनै पनि बाहनामा लम्व्याएर अलपत्र पार्ने कोशिस विरुद्ध छ ।
तसर्थ अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘राप्रपा छानविनमा निर्दोष नपरुन र दोषी कोही नछुटुन् भन्ने कानुनको सम्मान गर्दै यस प्रकरणमा दोषी उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापुर्वक सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने प्रतिवद्धता गर्दै यस प्रकरणलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष छानविन गरी भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ ।’