आइतवार, बैशाख ३१ २०८०
नेपाल वाइड
खोटाङ, ३१ बैशाख । हलेसी तुवाचुङ नगरपालिकाका अमृतसिं राईको घरको भित्तैभरि लहरै मौरीका घार राखिएका छन् । उनले २२ वटा परम्परागत घरमा मौरी पाल्दै आएका छन् ।
घर बाहिरको चारै भित्तामा लहरै मौरीको घार राखिएका छन् । घारका मौरी हेरचाहमा खटिरहेका हुन्छन् खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा मोलिबासका अमृतसिं राई । उनले परम्परागत घारमा स्थानीय एपिस सेराना जातको मौरी पालेका छन् ।
मौरी पाल्ने शोखले उनले सानैमा धोद्रो परेको रूखो ठुटालाई मौरीको घार बनाएका थिए । कालान्तरमा त्यही रहरले उनलाई मौरीपालक किसानको परिचय दिएको छ । २४ वर्षदेखि मौरी पालन गर्दै आएका अमृतको आम्दानीको स्रोत मह भएको छ ।
उनको घर र आसपासमा २२ वटा घारमा मौरी छन्। ४५ वटा घार अझै खाली छ । पछिल्लो समय बारीमा कंक्रिट पिलर ठड्याएर मौरीको मुढे घार राख्न थालेका छन् । एउटा घारमा वार्षिक सरदर पाँचदेखि सात किलो मह उत्पादन हुने अमृत बताउँछन् । “मौरी मान्छेलाई टेवा पुर्याउने खालको कीरा रहेछ,” अमृत भन्छन्, “समय र घामपानीले साथ दिए एउटै घारबाट पाँच-सात किलो मह निस्कन्छ । एक सिजनमा कम्तीमा ५०–६० हजार रुपैयाँ हात पर्छ ।”

घरैबाट प्रतिकिलो एक हजार २०० र प्रतिबोतल एक हजार ५०० रुपैयाँमा मह बिक्री गर्दै आएका छन् । मह बिक्रीबाट वार्षिक एक लाख २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । जङ्गलमा चिउरी, ढुर्सी, रुबिला जस्ता रूखबिरुवा फुलेको याममा मह धेरै लाग्ने गरेको छ ।
उनी जङ्गलमा २०-२५ वटा रित्तो घार राख्छन् । ठूलठूला रूखको फेदमा, पानी र डढेलोले नभेट्ने ओडारमा राखिएको रित्तो घारमा मौरी बसेपछि घर ल्याउने गरेको अमृत बताउँछन् ।
घारमा मौरी आएर बसे/नबसेको हेर्न प्रत्येक साता त्यहाँ जाने गरेका छन् । घरमा रहेको घारमा प्रत्येक साँझ मौरीको घार चहारेर माउसुली र माकुरा धपाउँछन् । दिनमा रातो अरिङ्गाल र बछ्युँले पनि मौरीलाई आक्रमण गर्ने गरेको अमृत बताउँछन् ।

घारका लागि टुनी, सेतो खिर्रो, चिउरी, बोटधयाँरो, गिदेरी लगायत रूख उपयुक्त मानिन्छन् । विशेषगरी दूध निस्कने र फूल फुल्ने प्रजातिको रूखको घार मौरीले बस्न रुचाउने गरेको अमृत बताउँछन् । घारमा राखिएको मौरी १०-१५ वर्षसम्म बस्ने गरेको छ । कतिपय मौरी दुई-तीन वर्ष मात्र बस्ने गरेको उनको अनुभव छ ।
मौरीका आधुनिक घार भए पनि उनले परम्परागत घार त्याग्न सकेका छैनन् । आधुनिक घारका मौरीलाई चास्नी दिनुपर्ने र चास्नी खाएको मौरीको मह शुद्ध नहुने भएकाले परम्परागत शैलीमा नै मौरीपालन गरेको अमृत बताउँछन् । आधुनिक घारको फ्रेममा माउसुली, माकुरा जस्ता शिकारी कीरा बस्ने उनी बताउँछन् । श्रोत: हिमाल खबर