Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    प्राविधिक र प्रअमाथि पैसा लिएको आरोप

    दिसापिसाव गर्न खोल्साखोल्सीमा कुद्छन् विद्यार्थी, शिक्षक व्यक्तीको शौचालयमा

    दिसापिसाव गर्न खोल्साखोल्सीमा कुद्छन् विद्यार्थी, शिक्षक व्यक्तीको शौचालयमा


    • सोमवार, जेठ १ २०८०

    • नेपाल वाइड


    दिसापिसाव गर्न खोल्साखोल्सीमा कुद्छन् विद्यार्थी, शिक्षक व्यक्तीको शौचालयमा
    खोटाङको बाहुनीडाँडास्थित पञ्चावतीदेवी प्रावि र नजिकै बनाइएको शौचालय । तस्बीर: दमन राई

    खोटाङ, १ जेठ । शौचालय अभावमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बेता साउनेस्थित पञ्चावतीदेवी प्राविका विद्यार्थी दिसा पिसावका लागि खोल्सा खोल्सी र झाडीमा जान वाध्य छन् ।

    २०४६ सालमा स्थापना भएको विद्यालयमा शौचालय नहुँदा छात्र/छात्रा नजिकैको खोल्सा, बारीका कान्ला तथा पाखा भित्तामै गएर दिसा पिसाव गर्न वाध्य छन् । दिसापिसावका लागि खोल्सा तथा पाखाभित्तामा जाँदा कतिपय विद्यार्थीलाई लडेर चोट पटक लाग्ने गरेको छ ।

    शिक्षकहरु भने नजिकैको स्थानीयको घरको शौचालयमा गएर दिसा पिसाव गर्ने गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत प्राप्त भएको १५ लाखमा निर्माण सुरु गरिएको तीन कोठे शौचालय फिनिसिङ नहुँदा प्रयोगमा ल्याउन नसकिएको प्रअ बिन्द्रधन राई बताउँछन् ।

    नयाँ शौचालय बनिनसकेको अवस्थामा विद्यालयले वैकल्पिक शौचालयको व्यवस्था गर्न सकेको छैन । विद्यार्थीले पालैपालो खोल्सा तथा पाखामा दिसा पिसाव गर्नेगरेका छन् ।

    दिसा पिसावका लागि छात्रछात्रा पाखाभित्तामा दौडिन बाध्य भएको देखिरहेका विद्यालय प्रशासन र व्यवस्थापन समितिले शौचालय प्रयोगमा ल्याउने विषयमा चासो नदेखाएको अभिभावक एलबी राईले बताए ।

    २०७२ सालको भूकम्प प्रभावित विद्यालयको पुःननिर्माण योजना अन्तरगत प्राप्त भएको बजेटबाट शौचालय निर्माण गर्ने ठेक्का स्थानीय बेलकुमार राईलाई दिइएको थियो । २०७७ असार २१ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७६ असार १३ गते शौचालय निर्माणको सम्झौता गरिएको थियो ।

    4.jpg

    तर शौचालय ‘फिनिसिङ’ नहुँदै २०७७ असोज २१ गते फस्र्यौट गरिएको पाइएको छ । तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कार्यालयका सव–इन्जिनियर चेतराज सिवाकोटीको अन्तिम मुल्यांकनपछि भुक्तानी दिइएको थियो ।

    अपांग तथा छात्रामैत्री शौचालयभित्रको काम सम्पन्न भए पनि बाहिर धारा जडान गर्ने, टायल राख्ने लगायतका काम बाँकी नै छ । लामो समयसम्म प्रयोगमा नआउँदा शौचालयभित्रको कोठा, कोमोड, धारा धुलोले पुरेको छ । फिलिङ माटोमाथि उठाइएको शौचालयको तल्लोपट्टिको भाग केही चर्किएको छ ।

    “शौचालयको बाहिरी काम मात्र बाँकी छ । भित्रको काम दुई वर्षअघि नै सकिएको हो । शौचालय प्रयोगका लागि रेडी छ,” बेलकुमारले भने, “प्रयोग गर्दैगर्नु भनेर त्यही बेला मैले चाँबी पनि दिएको थिएँ । फिनिसिङ गर्ने केही पैसा नपाएकाले बाहिरी काम बाँकी रहेको हो ।”

    शौचालयमा पानी नचढ्ने खानेपानी योजना

    विद्यालय र शौचालयकै प्रयोजनका लागि सुरु गरिएको ६ लाखको खानेपानी आयोजना समेत अलपत्र छ । विद्यालय नजिकै बनाइएको ट्यांकीको फर्मा समेत हालसम्म निकालिएको छैन ।

    शौचालयमा प्रयोग गर्नेगरी सुरु गरिएको खानेपानीको ट्यांकी शौचालयभन्दा होचो भागमा बनाइएको छ । शौचालयभन्दा तल ट्यांकी बनाइएकाले ट्यांकीको पानी शौचालयमा चढ्ने अवस्था छैन । खानेपानी योजना शौचालयका लागि प्रयोग नभए पनि तल्लो क्षेत्रका गाउँलेका लागि प्रयोग हुने प्रअ राई बताउँछन् ।

    प्राविधिक र प्रअमाथि पैसा लिएको आरोप

    शौचालय निर्माणका लागि आएको बजेटमध्ये १ प्रतिशत कन्टेन्जेन्सी र १.५ प्रतिशत टिडिएस कटाइएको छ । त्यसपछि बाँकी रहेको रकम झिक्नका लागि दिक्तेल आउजाउका क्रममा लागेको खर्च कटाएर बाँकी रहने रकम शौचालय निर्माणको जिम्मा लिएका बेलकुमारलाई दिने मौखिक सम्झौता भएको थियो ।

    तर प्राविधिक खर्च र अडिट खर्च भन्दै थप रकम कटाइएकाले शौचालयको फिनिसिङ गर्न नसकिएको बेलकुमार बताउँछन् । प्राविधिक अनुगमनका नाममा सव–इन्जिनियर सिवाकोटीले ४० हजार र प्रअ राईले अडिट खर्चवापत २० हजार पैसा कटाएको बेलकुमार बताउँछन् ।

    शौचालय सम्झौताको बेला बिरेन्द्र थापा प्रअ रहेको विद्यालयमा केही समयपछि राई प्रअ बनेका हुन् । योजनाको कामका सिलसिलामा दुई प्रअ दिक्तेल आउजाउ गर्दा ६० हजार भन्दा धेरै खर्च भएको पाइएको छ ।

    सम्बन्धित समाचार