मंगलवार, जेठ २ २०८०
नेपाल वाइड
खोटाङ, २ जेठ । हिजोआज बहुराष्ट्रिय कम्पनीबाट उत्पादिन पेय पदार्थ गाउँ–गाउँमा पुगेको छ । स्थानीय पेय पदार्थलाई विदेसी रक्सी, बियर, कोकाकोला, ड्यु, पेप्सीजस्ता महंगो पेय पदार्थले विस्थापित गर्दै लगिरहेको छ । कोसेलीपातका रुपमा लोकल तीनपाने रक्सीको प्रयोग घट्दो छ ।
तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा कुशुङ्खाका स्थानीयले रम, ह्वस्की, बियरदेखि ड्यु, कोकाकोला, पेप्सी प्रयोग नगर्ने/नगराउने अठोट गरेका छन् । सुर्योद्धय साँस्कृतिक परिवारमा आवद्ध स्थानीयको जेठ १ गतेको बैठकले गाउँघरमा हुने विभिन्न चाड तथा शुभ–अशुभ कार्यमा आयतीत पेय पदार्थको नाममा हुने फजुल खर्च रोक्ने निर्णय लिएको हो ।
बुईपा कुशुङ्खामा १८ घरको बसोबास छ । साँस्कृतिक परिवारको प्रस्ताव कार्यान्वयनमा सबैले सहमती जनाएका छन् । घर–घरमा महंगो मुल्यका आयतीत पेय पदार्थको प्रयोग बढिरहेकाबेला त्यसको प्रयोग नगर्न/नगराउन सहमती जुटाइएको सुर्योद्धय साँस्कृतिक परिवारका अध्यक्ष प्रेम राई बताउँछन् ।
निर्णय अनुसार आगामी दिनमा चाडवाड, विबाह, छेवर, पास्नी, गुन्युचोली, मृत्यु संस्कार लगायतका शुभ–अशुभ कार्यमा शिलप्याक गरिएका आयतीत पेय पदार्थको प्रयोग गरिने छैनन् ।
हुने खानेले महंगो रक्सी खरिद गरेर ल्याउने, पाहुनापाछालाई खुवाउने तर आर्थिक अवस्था कमजोर भएका परिवारले महंगो रक्सी किनेर खान र खुवाउन सक्ने अवस्था नभएकाले आयतीत पेय पदार्थको प्रयोगलाई बर्जित गर्ने निर्णय गरिएको हो । यस्तै, पेयपदार्थका कारण हुने आर्थिक भार तथा शारीरिक क्षतीबाट बच्न र बचाउनका लागि महत्वकांक्षी निर्णय गरिएको राईले बताए ।
कुशुङ्खाबासीले विशेष अवसरमा भेटघाटमा आउने छोरीचेलीलाई पनि कोसेलीका रुपमा रम, ह्वस्की, बियरदेखि ड्यु, कोकाकोला, पेप्सी नल्याउनका लागि खबर दिने निर्णय गरेको छ । त्यसको सट्टा गाउँ घरकै रक्सी, जाँड र चियाको प्रयोगलाई बढवा दिइने छ ।
“महंगो रक्सीमा सबैको लत परेको छ । तर हाम्रो आर्थिक स्तर फरक–फरक छ । सबैले महंगो पेय पदार्थ जुटाउन सक्दैन । नहुनेलाई ऋण खोज्नुपर्ने वाध्यता छ,” राईले भने, “आर्थिक रुपमा भइरहेको क्षती कम गर्ने तथा हुने र नहुनेबीचको खाडल पुर्नका लागि यस्तो निर्णय गरेका हौँ ।”
कुशुङ्खाबासीले २०५१ सालमा सुर्योद्धय साँस्कृतिक परिवार स्थापना गरेका हुन् । सोही साँस्कृतिक परिवारको अगुवाईमा गाउँमा २०५३ सालमा विहे, छेवर, गुन्युचोलीका समयमा चलाउने थालबटुका खरिद गरिएको थियो ।
त्यही थाल बटुका भाडामा चलाउन दिने गरिएको छ । साँस्कृतिक परिवारको निर्णयले गाउँमा पिलाउनका लागि देखासिकी अन्य गर्ने र स्थानीय पेय पदार्थको प्रर्वद्धनमा टेवा पुग्ने वडाध्यक्ष दिनेश राई बताउँछन् ।
सामाजिक सदभाव कायम राख्न पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । “गाउँमा पेय पदार्थलाई टोटल्ली बन्द गर्न त नसकिएला तर न्युनीकरण भने अवश्य गर्न सकिन्छ,” वडाध्यक्ष राईले भने, “स्थानीय उत्पादनले ठाउँ पाउँछ । पेय पदार्थको नाममा बाहिर जाने अर्थलाई गाउँमै रोक्न सकिन्छ । यसले स्थानीय सरकारलाई विकल्प खोज्न प्रेसर पनि सिर्जना गरेको छ ।”
समयक्रमसँगै कोसेली संस्कृति फेरिँदो छ । कोसेलीका रुपमा जाँडरक्सी, भुटेको मासु, सेल रोटी, फलफुल लगायत बोक्ने प्रचलन घट्दो छ । बरु कोसेलीपातका लागि एउटै टोलमा लाखौंको बियर, ड्यू, कोक, स्प्राईट भित्रिनेको गरेको छ । खोटाङ उद्योग बाणिज्य संघको फागुन १३ गते आयोजित ११ औं अधिबेसन उद्घाटन–सत्रमा जिल्लामा वार्षिक १५० करोडको मदिरा सहितका पेय पदार्थ भित्रिने गरेको तथ्यांक सार्वजनिक भएको थियो ।