मंगलवार, जेठ २ २०८०
नेपाल वाइड
खोटाङ, २ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई कपास प्रशोधन गर्ने उपकरण प्रदान गरेको छ । व्यवसायीक रुपमा कपास खेती गर्दैआएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका जुनतारा आमा समुह र गोदावरी आमा समुहलाई नगरपालिकाले १४ लाख मूल्य पर्ने मेसिन प्रदान गरेको हो ।
मंगलबार कात्तिकेमा आयोजित ‘कपास प्रशोधन मेसिन हस्तान्तरण तथा जुनतारा आमा समुहको भवन उद्घाटन’ कार्यक्रममार्फत हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले आमा समुहलाई कपास प्रशोधन गर्ने उपकरण हस्तान्तरण गरेका हुन् ।
कपासको रुवा र बियाँ छुट्याउनका लागि उपयोग गरिने हेभ्भी मेसिन स्काभेटरले टुचन लगाएर ट्याक्टरमा लोड अनलोड गर्दै गाउँमा ल्याइएको हो । मेनुअल्ली कपासको रुवा र दाना छुट्याउन अत्यान्तै झन्झटिलो, ढिलो र समय लाग्ने भएकाले टेण्डर आव्हान गरेर कपासको रुवा र दाना छुट्याउने मेसिन खरिद गरेर आमा समुहलाई प्रदान गरिएको मेयर राईले बताईन् ।

कपास र त्यसको दानालाई चाँडोभन्दा चाँडो छुट्याउने व्यवस्था मिलाएर महिलाको श्रम र समयको बचत गर्दै कपासको औधोगिकरणको लक्ष्यकासाथ नगरपालिकाले कपास प्रशोधन मेसिन उपलव्ध गराएको जनाएको छ ।
एक दिनमा सरदर एक केजी कपासबाट त्यसको दाना अलग गर्ने गरिएकामा प्रशोधन मेसिनको सहायतामा घण्टामै सयौं केजी कपास र त्यसको दाना छुट्याउने वातावरण बनेको छ ।
‘किराती सभ्यतासँग सम्वन्धित कपास र त्यसको सिड छुट्याउन एकदमै समय लाग्ने रहेछ । दिनमा एक जनाले एक केजी मात्रै छुट्याउन सकिने भएकाले कपासबाट निर्मित कपडा र अन्य चिज महंगो हुन जान्छ । जसका कारण श्रम र संस्कृतिबाट मान्छे टाढिने भएकोले मेसिनको व्यवस्था गरिदिएका हौँ,’
मेयर राईले भनिन्, ‘कपासको रुवा र दाना छुट्याउन सरल, सहज र छिटो हुने तथा कपासबाट विभिन्न आइटम उत्पादन गर्दै उद्योगको रुपमा स्थापित गर्ने लक्ष्यका साथ मेसिन दिएका हौँ ।’ नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा लोप भइसकेको कपास खेतीलाई आर्थिक वर्ष २०७६/०७७ देखि पुःर्नजागृत गराइएको हो ।
साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समुहमा आवद्ध ३४ महिला र साविकको महादेवस्थान–९ कात्तिकेस्थित गोदावरी आमा समुहमा आवद्ध ३१ महिलाले करिब ८० रोपानी जग्गामा कपास खेती लगाउँदैआएका छन् ।
यस वर्ष कात्तिकेमा करिब एक हजार पाँच सय केजी कपास उत्पादन भएको जुनतारा आमा समुहकी अध्यक्ष अम्बीका राईले बताईन् । उत्पादित कपास प्रतिकेजी सात सयका दरले बिक्री गर्ने गरिएको छ । कतिपय कपासलाई सिरक, सिरानी र डसना बनाउने गरिएको छ ।
नेपाली पहिचान झल्काउने दौरासुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिकरुपमा सवल बनाउने लक्ष्यका साथ कपास खेतीलाई पुःर्नजागृत गराइएको मेयर राई बताउँछिन् ।
दौरा सुरुवालका लागि कपासको कपडाको माग उच्च छ, त्यसमा पनि ग्राहकको रोजाईमा कोगटीको कपडा पर्ने गरेको छ । कपासको काँचो धागो उत्पादन गरेर हलेसीमा बिक्रीवितरण गरेर पनि आम्दानी लिने योजना बनाइएको छ ।
