Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ठेकेदारको धरौटी रकम खर्च हुनेगरी महुरे–राजापानी सडक मर्मत सुरु

    ठेकेदारको धरौटी रकम खर्च हुनेगरी महुरे–राजापानी सडक मर्मत सुरु


    • बुधवार, जेठ ३ २०८०

    • नेपाल वाइड


    ठेकेदारको धरौटी रकम खर्च हुनेगरी महुरे–राजापानी सडक मर्मत सुरु
    ठेकेदारले अलपत्र छाडेको महुरे–सिमपानी (राजापानी) सडक ।
    खोटाङ, ३ जेठ । सडक विभागले ठेकेदारकै धरौटी रकमबाट खर्च हुनेगरी खोटाङको महुरे–सिमपानी (राजापानी) सडक मर्मत तथा सुधार सुरु गरिएको छ ।
     
    गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले काम अलपत्र छाडेर हिँडेपछि गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले सोही ठेकेदार कम्पनीको धरौटी रकमबाट खर्च लेख्नेगरी मंगलबारदेखि सडक मर्मत सुरु गरेको हो ।
     
    खोटाङका प्रदेशसभा सदस्य भूपेन्द्र राईको ताकेतापछि कार्यालयले सोमबार दुई वटा टिफर र एक वटा जेसिभि निर्माणस्थल पठाएको छ । सहज आवत–जावतका लागि महुरे–सिमपानी खण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने, खाल्डाखुल्डी सम्याउने, ग्राभेल हाल्ने लगायतका काम सुरु गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए ।
     
    कालोपत्रेको अवरुद्ध काम सुचारु गर्न तथा सो सडक खण्डमा नियमित आवत–जावत गर्ने वातावरण बनाउनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि छ/सात महिनासम्म ठेकेदार सम्पर्कमा नआएपछि उसकै धरौटी रकम काटिनेगरी सडक मर्मत सम्भार सुरु गरिएको हो ।
     
    महुरे–सिमपानी (राजापानी) सडक मर्मत गर्न १०/१२ दिन समय लाग्ने कार्यालयले जनाएको छ । सडक कालोपत्रेको ठेक्का सम्झौता गर्नेक्रममा भारत कन्ट्रक्सन÷सिद्धी शाहीले करिब एक करोड धरौटी जम्मा गरेको छ ।
     
    सडक मर्मतका क्रममा त्यही धरौटीबाट खर्च गरिने खकुरेल बताउँछन् । गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट निर्माण सम्वन्धी उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनी माघ ४ गते क्रसरकै सामान उठाएर हिँडेको थियो ।
     
    “निर्माण कम्पनीलाई गर भनेर पटक–पटक चिठ्ठी लेखियो, ताकेता गरियो । सम्पर्क विहिन भएपछि राज्य त यथास्थितिमा रहन सक्दैन । हामीसँग एउटै उपाय थियो, त्यही उपाय अन्तरगत धरौटी रकमबाट खर्च लेख्नेगरी काम सुरु गराएका छौँ,” खकुरेलले भने, “बेला–बेलामा मर्मत गर्देको भए यस्तो स्थिति आउने थिएन । अत्तोपत्तो छैन, बेपत्ता छ । गर्नुपर्ने उसैले हो, उसले नगरेपछि वाध्य भएर हामीले यो बाटो अपनाएर मर्मत गर्नु परेको हो ।”
     
    गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । तर, दुबै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम लापरवाही देखिएको प्रदेशसभा सदस्य राईले बताए ।

    सम्बन्धित समाचार