Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ठेकेदारका कारण स्वास्थ्यचौकी बाहुनीडाँडाको भवन अलपत्र

    ठेकेदारका कारण स्वास्थ्यचौकी बाहुनीडाँडाको भवन अलपत्र


    • बिहिवार, जेठ ४ २०८०

    • नेपाल वाइड


    ठेकेदारका कारण स्वास्थ्यचौकी बाहुनीडाँडाको भवन अलपत्र
    ठेकेदारका कारण अलपत्र परेको खोटाङको बाहुनीडाँडा स्वास्थ्यचौकीको भवन । तस्बीरः दमन राई

    खोटाङ, ४ जेठ । ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न वाध्य छन् ।

    हाल स्थानीय झोक्रे राईको घरको दुई वटा कोठा भाडामा लिएर स्वास्थ्यचौकी सञ्चालन हुँदैआएको छ । यसअघि तत्कालिन गाबिसको जिर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदैआएको थियो ।

    हाल गाबिसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्यचौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको हो ।

    स्वास्थ्यचौकीको भाडाको कोठा पनि साँघुरो छ । कोठामा दुई वटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने वाध्यता रहेको स्वास्थ्यचौकीका ईन्चार्ज लिलामायाँ लामीछाने बताउँछिन् ।

    ‘सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटी तीन चार जना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन । कोठामा दुईटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गार्‍हो भइरहेको छ,’ लामीछानेले भनिन्, ‘महिला पुरुषका लागि अलग–अलग कोठामा राखेर सेवा दिने ठाउँ छैन । व्यक्तिगत गोपनीयता कायम गर्न असहज छ ।’ स्वास्थ्यचौकीको भाडामा मासिक पाँच हजार खर्च हुने गरेको छ ।

    गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो । दुई पटक थप भएको म्याद गुज्रिदा पनि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र छ । अर्कातर्फ स्वास्थ्यचौकीको पर्खाल कमसल बनेको स्थानीय एलबी राई बताउँछन् । कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको छ ।

    df.jpg

    खोटाङको बाहुनीडाँडामा निर्माणाधिन स्वास्थ्यचौकीको चर्किएको पर्खाल देखाउँदै स्थानीय एलबी राई ।

    पहिलो पटक थप भएको म्याद २०७९ असार ३२ गते र दोश्रो पटक थप भएको म्याद २०७९ माघ २ गते सकिएपछि ठेकेदारले पुःन आगामी असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका इन्जिनियर शुशिल चौधरीले बताए । ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम अघि बढ्ने बताउने गरेका छन् ।

    स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्यचौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही दुरीमा राखिएको छ ।

    २०७५ सालदेखि मासिक चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ । बर्थिङ सेन्टरको व्यवस्थापन पक्ष कमजोर हुँदा वडामा डेलिभरी संख्या बढाउन सकिएको छैन ।

    स्वास्थ्यचौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्र राई बताउँछन् । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पुरा पारिश्रमिक पाएका छैनन् ।

    साउदी सरकारको फण्डमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबांदेल र दोर्पाचिउरीडाँडा स्वास्थ्यचौकीको भवन निर्माणको काम सुरु गरिएको थियो ।

    गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो । समग्रमा पाँच वटै स्वास्थ्यचौकीको भौतिक प्रगती करिब ६० प्रतिशत र वित्तीय प्रगती करिब ४७/४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताए ।

    सम्बन्धित समाचार