Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    आँखा शल्यचिकित्सा शिबिरः डोराउँदै उपचारमा लगिएका बालक आफै हिँडेर फर्किए

    आँखा शल्यचिकित्सा शिबिरः डोराउँदै उपचारमा लगिएका बालक आफै हिँडेर फर्किए


    • शनिवार, जेठ ६ २०८०

    • नेपाल वाइड


    आँखा शल्यचिकित्सा शिबिरः डोराउँदै उपचारमा लगिएका बालक आफै हिँडेर फर्किए
    १० वर्षको उमेरमा आँखामा ज्योती आएपछि आमा शुशिलासँग लालकुमार खुलाल । तस्बीरः दमन राई

    खोटाङ, ६ जेठ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल जन्मजात मोतियाविन्दुको समस्याबाट पिडित थिए । जन्मदै दुबै आँखाको दृष्टि धमिलो भएका खुलाल अरुको साहरामा हिँडडुल गर्थे । स्वर सुनेर आफन्तलाई चिन्थे । अरुले हातमा समाएर डोराइरहँदा आँखा हातले छोपेर हिँड्थे । नदेखेर लरबरिँदै हिँड्ने लालकुमारको आँखामा शल्यक्रियापछि ज्योती छरिएको छ ।

    लालकुमारको ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा जेठ ४ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा आँखाको शल्यक्रिया गरिएको हो । जेठ ५ गते शल्यक्रिया गरेर जेठ ६ गते बिहान पट्टी खोल्दा लालकुमारको आँखा संसार देख्न सक्ने बनेको आमा शुशिला खुलाल बताउँछिन् ।

    लालकुमारको हाललाई देब्रे आँखाको शल्यक्रिया गरिएको हो । शल्यक्रिया सफल भएसँगै लालकुमारले जन्मेको १० वर्षपछि संसारलाई उज्यालो देख्न सक्ने भएका छन् । उनले आफ्नै आमालाई पहिलोपल्ट राम्ररी नियालेका छन् ।

    आमा शुशिलाले डोर्‍याउँदै शिबिर स्थलमा लगिएका लालकुमार आफै हिँड्दै घर फर्किएका छन् । “धमिलो देख्थे । घामको टक पर्ने वित्तिकै आँखा छोपेर बाङ्गो भएर हिँड्थ्यो,” शुशिलाले भनिन्, “दिसापिसाव जान पनि डोराउनुपर्थाे । घरमाचैं अनुमान लगाएर हिँड्डुल गर्थे । अप्रेसन गरेपछि हात समाउन परेन । आफै हिँड्न थाल्यो ।” नेपाल नेत्र ज्योती संघ खोटाङको समन्वय एबं सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिकाले निःशुल्क आँखा शल्यचिकित्सा शिबिर आयोजना गरेको हो ।

    लालकुमारको दाहिने आँखाको शल्यक्रियाका लागि महिना दिनपछि आउनेजाने र खाने व्यवस्था सहित लाहान बोलाइएको सगरमाथा चौधरी आँखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सञ्जयकुमार सिंले बताए ।

    “अप्रेसन गर्ने भनेपछि बच्चाको आमा डराइरहनु भएको थियो । बच्चाले कसैलाई चिन्दैनथे । आफ्नै आमालाई चिन्दैनथे,” सिंहले भने, “हिजो अप्रेसन गरियो । आज पट्टी खोलेर हेर्दा चेञ्जेज देखिएको छ ।”

    खुलाल दम्पत्तीका चार छोरा छन् । लालकुमार साईलो हुन् । उनी गाउँकै प्रजातन्त्र प्राविमा कक्षा ४ मा पढ्छन् । स्कुलमा ब्रेल लिपीको व्यवस्था थिएन । आँखाले नदेख्ने भएपछि साथीहरुले सुनेको घरमा कनिकुथी लेखपढ गर्न सिक्ने गरेका थिए ।

    लालकुमारलाई आमा शुशिला र बुवा होमनाथले दुई वर्षकै उमेरमा आँखा उपचार शिबिरमा लगेका थिए तर १६ वर्ष नपुगेसम्म अप्रेसन गर्न मिल्दैन भनिएपछि त्यसै घर फर्काइएको थियो । मेडिकल सुपरिटेण्डेण्ट सिंहले भने जुनसुकै उमेरका बालबच्चाको आँखाको शल्यक्रिया गर्न मिल्ने त्यसमा पनि जतिसक्दो चाँडो गर्‍यो उति राम्रो हुने बताउँछन् ।

    खुलाल दम्पत्तीको आर्थिक अवस्था दयनीय छ । अझ होमनाथलाई पायल्सको समस्याले च्यापेपछि छ वर्षदेखि ओछ्यानमा थलिएका छन् । होमनाथ हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । शुशिलाले होमनाथलाई कानको सुनचाँदी फुकालेर, खसी बाख्रा बेचेर उपचारका लागि विभिन्न अस्पतालमा लगिन् । ऋण खोजेर उपचार गर्ने प्रयास गरिन् तर आर्थिक अवस्थाले धान्न नसकेपछि होमनाथलाई घरैमा फर्काइएको हो । हाल छ जनाको परिवार शुशिलाको अर्मपर्मबाट चलिरहेको छ ।

    निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा ७८० जनाको आँखाको जाँच गर्दा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । शिबिरमा १९० जना ज्येष्ठ नागरिकलाई आँखाको चेकजाँचपछि निःशुल्क चश्मा वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई गाउँपालिकाको आर्थिक सहयोगमा निःशुल्क चश्मा वितरणको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

    1.jpg

    2.jpg

    खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको आँखा शल्यचिकित्सा शिबिरमा आएका स्थानीय । तस्बीरहरु: दमन राई

    सम्बन्धित समाचार