Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शुभम फाउण्डेसनका प्रवन्ध निर्देशक राईमाथि यौन दुर्व्यवहारको आरोप लगाइएको विषयमा छानबिन गर्न समिति

    शुभम फाउण्डेसनका प्रवन्ध निर्देशक राईमाथि यौन दुर्व्यवहारको आरोप लगाइएको विषयमा छानबिन गर्न समिति


    • आइतवार, जेठ ७ २०८०

    • नेपाल वाइड


    शुभम फाउण्डेसनका प्रवन्ध निर्देशक राईमाथि यौन दुर्व्यवहारको आरोप लगाइएको विषयमा छानबिन गर्न समिति
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई नगर प्रमुख तीर्थराज भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाउँदै ।

    खोटाङ, & जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुभद्रा मदन (शुभम) फाउण्डेसनका छात्रामाथि यौन दुर्व्यवहार भएको भन्दै प्रकाशित समाचारका विषयमा छानविन गर्न समिति गठन गरेको छ ।

    छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका संस्थापक मदन राई र प्रवन्ध निर्देशक सुर्यबहादुर राई विरुद्ध श्रृंखलावद्ध समाचार प्रकाशन हुन थालेपछि नगरपालिकाले सत्यतथ्य छानबिन गर्न छानविन समिति गठन गरेको हो ।

    केही समय यता नियमित रुपमा सम्प्रेषण भएका समाचारको सत्यतथ्य पत्ता लगाई नगरपालिकामा प्रतिबेदन पेश गर्नेगरी सामाजिक विकास समितिका संयोजक दानबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको नगर प्रवक्ता दिनेश घिमिरेले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    घटनाको विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पुर्वाग्रही रुपमा नभै जिम्मेवारीका साथ प्रस्तुत हुन नगरपालिकाले आव्हान गरेको छ । “उक्त विद्यालयको वैकल्पिक र व्यवहारिक शिक्षाको अभियान उल्लेखनीय र अनुकरणीय रहेको सर्वविदितै छ । देशभरी नमुना विद्यालयको रुपमा सञ्चालित यस्तो प्रकारको विद्यालय नगरपालिकाको गौरवको विषय समेत रहेको छ,” विज्ञाप्तीमा भनिएको छ,

    “विद्यालयसँग जोडिएका घटनाक्रमको श्रृंखलावद्ध प्रकाशन र प्रशारणसँग विद्यालय एवं विद्यार्थीको भविष्य समेत जोडिने भएकाले प्रकाशन, प्रशारण र सामाजिक सञ्जालमा पोष्ट गर्दा पुर्वाग्रही रुपमा प्रस्तुत नभइ जिम्मेवारीपुर्वक आफ्नो धारणा सार्वजनिक गर्न विज्ञाप्तीमार्फत अनुरोध छ ।”

    सुर्यबहादुर राईमाथि लागेको आरोपप्रति वडा कार्यालयको ध्यानाकर्षण

    फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्यबहादुर राईमाथि यौन दुर्व्यवहारको आरोप लगाइएकोप्रति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा वडा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    जेठ ५ गते प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईलाई ज्ञापन–पत्र बुझाउँदै वडा कार्यालयले प्रवन्ध निर्देशक राईको चरित्र हत्या गर्ने र सिंगो संस्थालाई बदनाम गराउने उद्धेश्यले कपोलकल्पित रुपमा समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका छन् ।

    जीवन उपयोगी शिक्षा दिने उद्धेश्यले समर्पित गर्ने व्यक्तिलाई नियोजित रुपमा हतोत्साहित गराउने तथा समाज रुपान्तरणका लागि अतुलनीय योगदान पुर्‍याइरहेका पवित्र संस्थालाई खारेज गराउने गलत नियतका साथ श्रृंखलावद्ध समाचार प्रकाशित भएको वडाध्यक्ष ध्रुवबिक्रम राईले बताए । फाउण्डेसन विरुद्ध परिचालित रुपमा लागेका पक्षलाई छानविनको दायरामा ल्याउन माग गरिएको छ ।

    यौन दुर्व्यवहार गरेको समाचार प्रकाशनपछि फाउण्डेसनका संस्थापक राई प्रहरी हिरासतमा छन् । संस्थापक राई प्रहरी हिरासतमा रहेकैबेला पुःन प्रवन्ध निर्देशक राई विरुद्ध चरित्र हत्या गर्ने र सिंगो फाउण्डेसनलाई बदनाम गराउने उद्धेश्यले जेठ ३ गते समाचार प्रकाशन भएको भन्दै वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।

    IMG_0793.JPG

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाध्यक्ष धु्रवविक्रम राईलगायत प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईलाई ज्ञापन–पत्र बुझाउँदै ।

    यौनका विषयमा सामाजिक सञ्जालमा खुलेर आफ्नो विचार व्यक्त गर्दै आएका मदन प्रहरी हिरासतमा पुगेपछि फाउण्डेसनमा उत्तराधिकारीमा रुपमा रहेका सुर्यबहादुरलाई पनि सोही मुद्धामा फसाएर फाउण्डेसन नै डुबाउने षडयन्त्र रचिएको ज्ञापन–पत्रमा दावी गरिएको छ ।

    बैसाख २९ गते फाउण्डेसनबाटै पक्राउ परेका मदन बिरुद्ध बैसाख ३१ गते जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरिएको छ । ‘गरि खान सिकाउने’ नारा सहित प्रयोगात्मक शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनमा विभिन्न जिल्लाका डेढ सय विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् ।

    सम्बन्धित समाचार