मंगलवार, जेठ ९ २०८०
दमन राई
खोटाङ, ९ जेठ । चार वर्षअघि बनिसक्नुपर्ने खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट पुलको डिजाईन परिवर्तन प्रकृया अघि बढाइएको छ ।
२०७६ साल असारमा बनिसक्नुपर्ने खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीको धाप्लाङघाटस्थित पुलको काम रोकेर डिजाईन परिवर्तन प्रकृया अघि बढाइएको हो ।
२०० मिटर लम्बाई भएको पुलको ठेक्का लागेको सात वर्षपछि रसुवा एसएनएस पप्पु जेभीको आग्रहमा डिजाइन ‘रिभ्यु’ गर्न लागिएको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए । २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते धाप्लाङघाट पुलको सम्झौता गरिएको थियो ।

वेल फाउण्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा पाइल फाउण्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’को प्रकृया अघि बढाइएको हो । पुलको चार वटा वेल फाउण्डेसनको ठाउँमा चार वटा पाइल फाउण्डेसन बनाउने तयारी गरिएको छ ।
पुल अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही प्रकृया अघि बढाउनुपर्नेमा मिलेमतोमा छुट दिइएको खोटाङका प्रदेशसभा सांसद भूपेन्द्र राईले बताए ।
खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र तथा भोजपुरका केही स्थानीयलाई पुर्वी शहरसँग जोड्ने पुल २०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।
धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोडअनलोड गर्दा किसानले थप व्यायभार खेपिरहेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए ।