बिहिवार, जेठ ११ २०८०
नेपाल वाइड
खोटाङ, ११ जेठ । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारको एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) तानिएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीको धाप्लाङघाटस्थित पुल अलपत्र पार्ने रसुवा एसएनएस पप्पु जेभी, नागार्जुन नगरपालिका–१२ काठ्माडौंको चार करोड ४२ लाख पेश्की तानिएको हो ।
रसुवा एसएनएस पप्पु जेभीकोतर्फबाट अग्रिम भुक्तानी जमानत जारी गर्ने सनराइज बैंक लिमिटेड, गौरीधारा, काठ्माडौंबाट सो पेश्की रकम तानिएको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए ।
ठेकेदारले सम्झौता अनुसार कार्यसम्पादन नगरेको भन्दै सडक विभाग पुल सेक्टर धरानले हप्ता दिनभित्र राष्ट्रिय बाणिज्य बैंक इनरुवा, सुनसरीमा रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालय इनरुवाको धरौटी खातामा अग्रिम भुक्तानी जमानत जम्मा गर्न २०७९ फागुन २५ गते र माघ २६ गते बैंकलाई पत्राचार गरेको थियो ।
पटक–पटकको पत्राचार पछि बैंकले मंगलबार पेश्कीको चेक उपलव्ध पठाएको हो । पेश्की रकम जम्मा गर्न आलटाल भइरहेको पाइएपछि सनराईज बैंक र नेपाल राष्ट्र बैंकमा पुगेर पटक–पटक दवाव दिनु परेको खोटाङका प्रदेसभा सदस्य भूपेन्द्र राईले बताए ।
“समयमै काम नगरी खोटाङलाई पछि पार्न खोज्दाको दण्ड हो यो धरौटी रकम जफत । तर हामी यतीले मान्दैनौं,” राईले भने, “अब खोटाङको नागरिकलाई धुलो र हिलोमा हिड्न र सुनकोसीले छेकेर राख्न प्रयत्न गर्नेहरुलाई धुलो चटाउने र पानी पिलाउँने हो ।”
भ्याट बाहेक २२ करोड ५० लाखमा २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी रसुवा एसएनएस पप्पु जेभीले २०७३ साल असार ३० गते धाप्लाङघाट पुलको सम्झौता गरेको थियो ।
खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र तथा भोजपुरका केही स्थानीयलाई पुर्वी शहरसँग जोड्ने पुल २०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।