खोटाङ, १३ जेठ । हावाहुरीले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक विद्यालय तथा पाँच घरको छाना उँडाएको छ । बिहिबार साँझ वर्षासँगै आएको हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको दुई वटा भवनको छाना उँडाएको छ ।
एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदैआएको भवनको छाना उडाएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
छाना उँडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । हावाहुरीले विद्यालयको छाना उँडाएर पाखामा पुर्याएको छ । हावाहुरीले बतासे बोल्पाका रामबहादुर राईको घरको टिनको छाना र बरण्डा उँडाएर करिब ५० मिटर टाढा पुर्याइदिएको छ ।
यस्तै, हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका नारायणकुमारी राईको घरको खरको छाना पूर्णरुपमा उडाएको छ । मानबहादुर सार्कीको बरण्डा उडाँएर करिब ५० मिटर माथि पुर्याएको छोरम्बुका वडाध्यक्ष भुपेन्द्र बस्नेतले बताए ।
यस्तै, भरत पुर्कुटीको बरण्डा उडाँएर २०–२५ मिटर टाढा पुर्याएको छ । धिरु खड्काको बरण्डा र टायलको छाना उडाइदिएको छ । हावाहुरीले केरा, आँप, लिची लगायतका फलफुलको बोट भाँच्नुका साथै फल झारेको छ ।