बिहिवार, जेठ २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ जेठ । खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजना अन्तरगत दुधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडामा निकालिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दुधकोशीको पानी बिहिबार सफलतापुर्वक भुम्जुडाँडा निकालिएको हो । दुधकोसीबाट १५० एमएमको पाईपमार्फत चार हजार पाँच सय मिटरमाथि रहेको डाँडामा पानी निकालिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए ।
दुधकोसीबाट ६ वटा लिफ्ट ट्यांकी हुँदै भुम्जुडाँडामा बनाइएको सातौं ट्यांकीमा पानी निकालिएको हो । नदी किनारमा ३ लाख क्षमताको एउटा र भुम्जुडाँडामा ४ लाख लिटर क्षमताको तीन वटा ट्यांकी बनाइएका छन् । त्यसको बीचमा एक–एक लाख लिटर क्षमताका पाँच वटा लिफ्ट ट्यांकी निर्माण गरिएको छ ।
दुधकोशीको पानी भुम्जुडाँडामा निकाल्ने प्रयासको सफल परिक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ । दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्ने लक्ष्यका साथ २०७४ सालदेखि लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो ।
दुधकोसीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा पानी निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव खिम्तीले गरिरहेको छ । उता महादेवबेँसीबाट काभ्रेडाँडामा पानी निकाल्नका लागि पम्प जडानको काम मात्र बाँकी रहेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना प्रमुख महर्जनले बताए ।
भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाईनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले लिएको छ ।
दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए ।