मंगलवार, आषाढ ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ असार । नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले दिक्तेल–आहाले सडक कालोपत्रेको ठेक्का लिएका ठेकेदारले जिल्लाका नेतालाई पैसा बाँडेको भन्दै दिएको अभिव्यक्तीका विषयमा छानविन गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियन खोटाङको सातौं जिल्ला अधिबेसन तथा १० औं साधारणसभा उद्घाटनका क्रममा मनतव्य राख्दै अध्यक्ष दंगालले कुनैबेला दिक्तेल–आहाले सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कल्यण खत्रीले ‘जिल्लाका केही नेतालाई पैसा दिएको तर भन्न मिल्दैन’ भन्दै दिएको अभिव्यक्तीका विषयमा छानविन हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष दंगालले सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको विषयमा प्रश्न उठाउँदा ठेकेदारले ‘नेतालाई पैसा बाँडेको’ बताउने गरेको तर ‘क–कसलाई, कति–कति बाँडेको’ भन्ने नखुलाएको चर्चा गरेका छन् ।
“अहिले वर्षामा त्यो बाटोमा हिँडिसाध्य छैन । जिल्लाका नेतालाई पैसा दिएको छु तर भन्न मिल्दैन भन्छ रे,’ अध्यक्ष दंगालले भने, ‘कसले कति पैसा खाएको छ, छानविन गरौं ।
कसलाई कारबाही गर्नुपर्ने हो गरौं ।’ दंगालले राजनैतिक पुर्वाग्रहका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा मध्यपहाडी लोकमार्गबाट वडा कार्यालय जोड्ने सडक ढलानका क्रममा श्रम गरेका कामदारले हालसम्म भुक्तानी नपाएको बताएका छन् । बजेटभन्दा बढी काम भएको तर उपमेयर बिसन राईको पुर्वाग्रहका कारण सडक ढलानको भुक्तानी हुन नसकेको अध्यक्ष दंगालको भनाई थियो ।