बिहिवार, श्रावण ११ २०८०
नेपाल वाइड
खोटाङ, ११ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी निर्वदा गिरीको घाँटीको अघिल्तिर सानो गिर्खा निस्कियो । सुरु सुरुमा कुनै असर नदेखिएकाले गिर्खालाई सामान्य ठानियो ।
तर गिर्खाले क्रमशः ठूलो आकार लिएर बढ्न थालेपछि निर्वदाको स्वास्थ्य अवस्था दर्दनाक बनेको छ । गिर्खा बढेर हाल घाँटीभरीको बनेको छ । झट्ट हेर्दा गलगाँडझैं देखिन थालेको छ । गिर्खा बढेर ठूलो भएपछि हाल खानेकुरा निल्न समस्या भइरहेको श्रीमान धनप्रसाद गिरी बताउँछन् ।
निर्वदाको घाँटीको सानो गिर्खा दुई वर्ष अघिदेखि बढ्न थालेको हो । त्यहीबेला ऋण पान गरेर बिरामीलाई उपचारका लागि बीर अस्पताल लगिए । चेकजाँचका क्रममा डाक्टरले थाइराईडको समस्या भएको औंल्यायो ।
थाइराईडको शल्यक्रीय र उपचारका लागि अस्पतालले १० लाख तयार पार्न लगायो । कमजोर आर्थिक अवस्थाका गिरी परिवारसँग १० लाख जुटाउने सामथ्र्य थिएन ।
खर्च जुटाउने हैसियत नभएकै कारण धनप्रसाद ‘अमिलो मन पारेर’ श्रीमतीलाई अस्पतालको बेडबाट उठाएर उपचार नगरी घर फर्किए । खर्चकै कारण उनले हालसम्म श्रीमतीको घाँटीमा बढेको गिर्खाको उपचार गर्न सकेका छैनन् ।
त्योबेला अस्पताल जानेक्रममा ऋणपान गरी २० हजार खर्च भएको धनप्रसाद बताउँछन् । “अप्रेसन गर्न १० लाख चाहिन्छ भन्यो । वर्षभरी हाजमुख जोर्न धौ–धौ छ । कताबाट १० लाख खर्च गर्न सक्नु !,” धनप्रसादले भने, “उपचार गर्न त मन छ नी तर के गर्ने, आफ्नो हैसियत छैन । रोग पाल्दै बस्नुको विकल्प के छर हामीसँग ।”
धनप्रसाद र निर्वदाको २०६६ मा विवाह भएको हो । विवाहकै बेला निर्वदाको घाँटीमा सानो गिर्खा देखिएको थियो । केही वर्ष यता निरन्तर बढिरहेको गिर्खाले निर्वदाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गरेको छ । खर्चकै कारण घाँटीको उपचारमा जान नसकेका गिरी दम्पत्तीले आर्थिक सहयोग जुटे वा राज्यबाट निःशुल्क उपचारको प्रवन्ध भए अस्पताल जाने सपना पालेका छन् ।
गिरी परिवार खेतीपातीको काम गरेर जिवीका चलाउँछन् । उनीहरुका दुई छोरी छन् । दश नंग्रा खियाएर गरेको खेतीपातीले वर्ष दिन धान्न मुस्किल पर्छ । यही कारण उनीहरु वर्ष कटाउने ज्याला मजदुरी गर्न पनि वाध्य छन् । “खर्चकै अभावका कारण दोहो¥याएर उपचारमा जान सकिएको छैन,” उनले भने, “खर्च जुट्यो भने अस्पताल गएर उपचार गर्ने धोको पुरा गर्नेछौँ ।”