Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलाससगढी: तोरी खेती गर्ने किसानलाई प्रोत्साहन भत्ता

    केपिलाससगढी: तोरी खेती गर्ने किसानलाई प्रोत्साहन भत्ता


    • शुक्रवार, श्रावण १२ २०८०

    • नेपाल वाइड


    केपिलाससगढी: तोरी खेती गर्ने किसानलाई प्रोत्साहन भत्ता
    तोरी खेती गर्ने किसानलाई तोरी उत्पादनको मात्राको आधारमा प्रोत्साहन अनुदान उपलव्ध गराउदै गाँउपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राई ।

    खोटाङ, १२ साउन । खोटाङको केपिलासगढी गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई प्रोत्साहन प्रदान गरेको छ । तोरी खेती गर्ने २२२ किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष समीर राईले बताए । उनका अनुसार एक पाथी तोरी बराबर २५० रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिएको हो । 

    गाउँपालिका अध्यक्ष संयोजक रहेको अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिशका आधारमा कृषक, कृषि फर्म र कृषक समूहलाई अनुदान उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख साइमन गुरुङले बताए । उनीहरूलाई वडा कार्यालय मार्फत आठ लाख ९९ हजार ५०० रुपैयाँ वितरण गरिएको गुरुङले बताए ।

    व्यावसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउन प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपलिकाले जनाएको छ । किसानलाई व्यावसायिक रूपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सात वटा वडा रहेको केपिलासगढी गाउँपालिकाका सबैजसो ठाउँमा तोरी खेती हुन्छ । कतिपय किसानले तेलकै लागि केही मात्रामा तोरी लगाउने गरेका छन् । हालको जनसंख्यालाई आधार मान्दा केपिलासगढीमा वार्षिक साढे ६ करोडदेखि सात करोड रुपैयाँको हाराहारीमा खाने तेल भित्रिने गरेको छ ।

    खाने तेल खरीद बापत पालिकाबाट बाहिरिने रकम रोक्ने र तेल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर कृषकलाई तोरी खेती प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको अध्यक्ष राईले बताए । “प्राङ्गारिक तोरीको तेललाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौं । विशेषगरी युवा किसानलाई स्वरोजगार बनाउने हाम्रो अभियान हो,” अध्यक्ष राईले भने, “कृषिलाई उत्पादनसँग जोडेर आयआर्जन वृद्धि गर्दै गरीबी घटाउने गाउँपालिकाको योजना हो ।” श्रोत: हिमालखबर

    सम्बन्धित समाचार