शुक्रवार, श्रावण १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ साउन । जिल्ला अस्पताल खोटाङको एक्स–रे मेसिनको प्रिन्टर बिग्रिएको छ । एक्स–रे मेसिनको प्रिन्टर बिग्रँदा एक्स–रे सम्वन्धी सेवा प्रवाह प्रभावित भएको छ ।
साउन २ गतेदेखि एक्स–रे मेसिनको प्रिन्टर बिग्रिएको जिल्ला अस्पतालका एक्स–रे फाँटका छैठौं अधिकृत सरोज पोखरेलले बताए । प्रिन्टर बिग्रँदा एक्स–रेको काम नरोकिए पनि प्रिन्टेड रिपोर्ट लिन दिन समस्या सिर्जना भएको छ ।
एक्स–रे मेसिनको प्रिन्टर बिग्रँदा बिरामीले एक्स–रेको प्रिन्टेड रिपोर्ट पाउन सकेका छैनन् । कम्प्यूटरमा देखिएको एक्स–रे रिपोर्टको तस्बीर खिचेर डाक्टरलाई देखाउनु परेको कतिपय बिरामीको गुनासो छ ।
सामान्य खालका मोबाईल बोकेका बिरामी र उसका आफन्तले भने कम्प्यूटरको स्क्रीनमा देखिएको रिपोर्टको तस्बीर खिच्न नसकेको बताएका छन् । छैठौं अधिकृत पोखरेलले भने प्रिन्टर अभावमा बिरामीको एक्स–रे सेवा नअड्किएको बताए । डाक्टरले एक्स–रे रुममै पुगेर बिरामीको एक्स–रे रिपोर्ट हेरेर आवश्यक उपचारको निर्णय लिने गरेको पोखरेलले बताए ।
‘सेवाग्राहीले एक्स–रेको प्रिन्ट रिपोर्ट नपाएर गुनासो गरेको हुनसक्छ,’ पोखरेलले भने, ‘तर डाक्टर आफै आएर एक्स–रे रिपोर्ट हेरिदिँदै हुनुहुन्छ ।’ जिल्ला अस्पतालमा आइतबारसम्ममा एक्स–रेको नयाँ प्रिन्टर ल्याएर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
एक्स–रेको नयाँ प्रिन्टर काठ्माडौंबाट मगाइसकिएको पोखरेलले बताए । ‘एक्स–रेको प्रिन्टर भन्ने वित्तिकै पाइन्न । बाहिरबाट मगाउनुपर्छ । जडान गर्ने जनशक्ती काठ्माडौंबाटै ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘मगाइसकिएको छ । आइतबारसम्ममा एक्स–रेको नयाँ प्रिन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।’