शुक्रवार, श्रावण १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ साउन । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको शनिबारे हाटमा खुलमखुल्ला जुवातास खेल्ने गरेको पाइएको छ । ताप खोला किनारमा हरेक शनिबार लाग्ने हाटका दिन केही स्थानीय भेला भएर सार्वजनिक स्थानमै जुवातास खेल्ने गरेको पाइएको हो ।
शनिबारे बजार भनेर चिनिने सो स्थानमा हाट भर्नका लागि केपिलासगढी गाउँपालिका–१ फेदी, खार्ताम्छा, केपिलासगढी गाउँपालिका–३ बासपानी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका लगायतका स्थानका स्थानीय पुग्ने गरेका छन् ।
खार्ताम्छा र पाथेकाको सिमानामा पर्ने हाट बजारमा खुलमखुल्ला जुवातास खेल्दा समाजमा बिकृति फैलाएको भन्दै कतिपय स्थानीयले बिरोध गर्दैआएका छन् ।
हाटका दिन सार्वजनिक स्थलमा नियमित जुवातास खेल्ने गरेको गुनासो आएपछि वडा कार्यालय खार्ताम्छाले जुवातास खेल्न/खेलाउन निषेध गरेको छ ।
वडा कार्यालयको साउन ७ गतेको निर्णय अनुसार शनिबारे बजार तथा सो आसपासमा जुवा तास खेल्न बन्देज लगाइएको वडाध्यक्ष मिलनकुमार राईले बताए । वडाको निर्देशनलाई बेवास्ता गर्नेलाई प्रहरी परिचालन गरेर पक्राउ गरेर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ ।
“हाट बजारजस्तो सार्वजनिक स्थलमा खुलमखुल्ला जुवातास खेल्ने गरेको गुनासो आयो,” राईले भने, “हेर्न जाँदा हाटमा तास नारिरहेकै देखियो । नखेल्न सुझाव दिएर फर्किएर निषेध गर्ने निर्णय गरेका हौँ ।”