Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसीमा बन्यो नगर योजना आयोग, उपाध्यक्षमा मुन्धुम अध्येता चाम्लिङ नियुक्त

    हलेसीमा बन्यो नगर योजना आयोग, उपाध्यक्षमा मुन्धुम अध्येता चाम्लिङ नियुक्त


    • आइतवार, श्रावण १४ २०८०

    • नेपाल वाइड


    हलेसीमा बन्यो नगर योजना आयोग, उपाध्यक्षमा मुन्धुम अध्येता चाम्लिङ नियुक्त
    नगर योजना आयोगको उपाध्यक्षमा नियुत्त हुनुभएका मुन्धुम अध्येता भोगीराज चाम्लिङ ।

    खोटाङ, १४ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगर योजना आयोगको उपाध्यक्षमा मुन्धुम अध्येता भोगीराज चाम्लिङलाई नियुक्त गरेको छ । नगरको योजना बैंक तयार गर्नेगरी बनाइएको योजना आयोगको उपाध्यक्षमा विषयविज्ञका रुपमा मुन्धुम अध्येता चाम्लिङ नियुक्त भएका हुन् ।

    नगर योजना आयोग (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३ को उपदफा (ख) बमोजिम हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका चाम्लिङलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको मेयर बिमला राईले बताईन् ।

    मेयर अध्यक्ष रहने ११ सदस्यीय योजना आयोगमा एक महिला सहित तीन जना विषयविज्ञलाई मनोनित गर्ने व्यवस्था भए अनुशार चाम्लिङ उपाध्यक्ष नियुक्त भएका हुन् । आयोगका लागि थप दुई सदस्य नियुक्तीको तयारी भइरहेको छ ।

    आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार, जलश्रोत तथा उर्जा, अन्य प्राकृतिक श्रोत र मानव श्रोत व्यवस्थापन, सुशासन तथा व्यवस्थापन, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा मानव अधिकार, लैंगीक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी विषयविज्ञलाई आयोगको सदस्य मनोनित गर्ने नगर योजना आयोग गठन तथा सञ्चालन ऐनमा उल्लेख छ ।

    कम्तिमा स्नातक उत्तिर्ण गरी सम्वन्धित विषयममा पाँच वर्ष विशिष्ट अनुभव हासिल गरेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको र विदेशको आवासीय भिसा, डिभि, पिआर स्वीकार नगरेको योग्यताका आधारमा आयोगको विषयविज्ञ मनोनित हुने मेयर राईले बताईन् ।

    आयोगमा प्रमुख प्रशासकीय अधिकृत, नगरको पाँच विषयगत समितिका संयोजक सदस्य र प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । उपमेयर र नगर प्रवक्ता स्थायी आमन्त्रित सदस्य रहने व्यवस्था छ ।

    नगरपालिकाको समग्र विकासका लागि नगर विकास सम्वन्धी नीति, योजना र कार्यक्रम तर्जुमा, सुशासन प्रवद्र्धन, अनुगमन, मूल्यांकन गर्दै दिगो विकास तथा सहश्राव्दी विकास लक्ष्यहरु प्राप्त हुनेगरी ठोस योजना तर्जुमा गर्न आवश्यक राय, सल्लाह तथा परामर्श लिनका लागि नगर योजना आयोग गठन गरिएको हो ।

    योजना आयोगले नगरपालिकाको समग्र विकास प्रकृया र त्यसको प्रतिफलमा पहुँच अभिबृद्धि र स्थानीय शासन प्रवद्र्धन गराउनेगरी नगर योजना तथा नीति तर्जुमा गर्नका लागि आर्थिक योजना र विकास लगायतका क्षेत्रमा राय सल्लाह एबं परामर्श दिने, नगरपालिकाका विभिन्न क्षेत्रमा विकासका सम्भावना र अवसरलाई वृहत्तर अध्ययन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालिन नगर योजना तर्जुमा गर्ने, सम्पूर्ण वडाको सन्तुलित विकासका लागि आवश्यक नगर विकास सम्वन्धी नीति, रणनीति र योजना तर्जुमा गर्नेछन् ।

    योजना आयोगलाई नगरपालिकाले स्वीकृत गरी लागू गरेका नीति, योजना तथा कार्यक्रमहरुको अनुगमन गरी समिक्षात्मक प्रगती प्रतिबेदन तयार पार्ने, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगसँग तथा संघीय र प्रादेशिक अर्थमन्त्रालय तथा योजना आयोगसँग सम्पर्क र समन्वय गर्ने लगायतका जिम्मेवारी दिइएको छ ।

    आयोगले आफुबाट सम्पादित कार्यहरुको विवरण र आगामी कार्ययोजना सहितको प्रतिबेदन चौमासिक रुपमा अध्यक्षमार्फत कार्यपालिका बैठकमा र कार्यसम्पादनको वार्षिक प्रतिबेदन नगरसभा समक्ष पेश गर्नुपर्ने छ ।

    सम्बन्धित समाचार