सोमवार, श्रावण १५ २०८०
नेपाल वाइड
खोटाङ, १५ साउन । खोटाङका शिक्षक हेमबिक्रम राईलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शिक्षक राईलाई १० हजार राशीको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।
शहीद मनोज जोशीको ३२ औं स्मृति दिवसको अवशरमा सोमबार दिक्तेलको अस्पतालचोकस्थित जोशीको समाधिस्थलमा आयोजित माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)ले शिक्षक राईलाई दोसल्ला ओढाएर नगद सहित सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
शहीद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक राईलाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए ।
शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालिन जिल्ला विकास समितिको अस्थायी मुखिया पदमा कार्यरत राई २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागीरबाट बर्खास्त भएका थिए । उनी शहीद जोशीसँगै इन्द्रेणी साँस्कृतिक समाजमा पनि आवद्ध थिए ।
यस्तै, भोजपुर घर भइ हाल दिक्तेलको भवनगैरामा बसिरहेका पक्षघात पिडित शान्ताराज शाक्यलाई राहत स्वरुप छ हजार बराबरको चामल, दाल, नुन, तेल प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष आचार्यले बताए ।
शहीद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन १३ गते शहीद मनोजमार्ग सरसफाई एवं साउन १४ गते रक्तदान र जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको थियो ।
२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।
तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा ऐक्यवद्धता जनाउँदै सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।
बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् ।
लामो समयदेखिको मागका वावजुद जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो । कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।
सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाउँदै आएको छ ।
दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराकारुपमा जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो । वास्तबिक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी अखिल नेपाल जनवादी युवा लिग, इन्द्रेणी साँस्कृतिक समाज तथा अनेरास्वबियुमा आवद्ध थिए । यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीकारुपमा परिचित थिए ।