मंगलवार, श्रावण १६ २०८०
नेपाल वाइड
खोटाङ, १६ साउन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले करारका ५७ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार बसेको २५ औं कार्यपालिका बैठकले पुःनर्ताजगीका लागि भन्दै करारका जम्मा ६५ कर्मचारीमध्ये ५७ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको हो ।
करारमा काम गरिरहेका तीन जना छैठौं अधिकृत, चार जना पाँचौं तह, कृषितर्फका ११, जनस्वास्थ्यका १८, भेटेनरीका पाँच र अन्य करारका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
कतिपय जनप्रतिनिधिले निर्वाचित भए लगत्तै करारका कर्मचारी हटाएर आफु अनूकुलका कर्मचारी नियुक्त गरेको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने ५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रोत्साहन स्वरुप जनही पाँच लाख उपदान र अन्य करारका कर्मचारीलाई एक महिना १५ दिनको तलव बराबरको सुविधा दिएर स–सम्मान बिदा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले पाँच जना गाउँ प्रहरी, एक जना एम्बूलेन्स चालक, एक जना गाउँपालिका अध्यक्षको सवारी चालक र व्याकहोलोडरको अपरेटरको मात्र करार अवधी नविकरण गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले रिक्त स्थानमा करारका नयाँ कर्मचारी भर्ना गर्नका लागि विज्ञापन खुलाउने निर्णय गरेको छ ।
परिक्षाका माध्यमबाट पुरानै कर्मचारी पनि पुःन सेवामा फर्कन सक्ने गाउँपालिका अध्यक्ष राईले बताए । ‘कर्मचारीको पुःनर्ताजगीका लागि करारका कर्मचारीको विदाई गरिएको हो । यसमा हाम्रो आग्रह–पुर्वाग्रह छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘विज्ञापन खुलेपछि उहाँहरु नै फेरी सेवामा जोडिन सक्नुहुन्छ ।’