बुधवार, श्रावण १७ २०८०
दमन राई
खोटाङ, १७ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बौद्ध आधारभुत विद्यालयमा प्राशि राहत कोटामा विस्थापित शिक्षक कुमार तामाङलाई पुःर्नथापित गरियो । विधि र प्रकृया मिचेर शिक्षक नियुक्ती गरिएको भन्दै केही असन्तुष्ट अभिभावकले गाउँपालिकाको न्यायीक समितिसम्मै उजुरी पुर्याएको छ ।
स्थायी बनेका शिक्षक मिनप्रसाद दाहालले जेठ ७ गते राजीनामा दिएर अन्यत्र गएपछि रिक्त स्थानमा व्यवस्थापन समितिले दाहालको राजीनामा स्वीकृत गर्दै तामाङलाई जेठ ९ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाउने निर्णय गरेको थियो । सोही विद्यालयमा प्राशि तृतीय पदमा कार्यरत रहेको अवस्थामा तामाङ २०७९ चैत २६ गते विस्थापित भएका थिए ।
विस्थापित शिक्षक तामाङलाई सोही विद्यालयमा सोही पदमा पुःर्नस्थापित गर्ने भन्दै गाउँपालिकाको निर्णय अनुसार विव्यासले कामकाजमा खटाएको प्रअ बलबहादुर दाहाल बताउँछन् । तर पुःर्नस्थापित गर्ने क्रममा न विज्ञापन आव्हान गरियो, न परिक्षा नै । शिक्षक नियुक्तीका विषयमा शिक्षा विकास तथा समन्वय इकाईलाई पनि जानकारी दिइएन ।
शिक्षकलाई ठाडो नियुक्ती दिने विव्यासको जेठ ९ गतेको निर्णयलाई गाउँ कार्यपालिकाको जेठ २९ गतेको बैठकले अनुमोदन गर्यो । सँगै ‘गाउँपालिकाभित्र स्थायी शिक्षक पदस्थापन तथा नियुक्ती भइ करार सेवामा कार्यरत शिक्षकहरु विस्थापित भएकाको हकमा जुन विद्यालयबाट विस्थापित भएको हो सो विद्यालयमा सोही तह र विषय मिल्ने गरी दरबन्दी वा राहत दरबन्दीमा रिक्त भएमा उक्त दरबन्दीमा तह र विषय मिल्ने भएमा विस्थापित शिक्षकहरुलाई रिक्त भएको मितिदेखि लागू हुनेगरी स्थापित गर्ने’ निर्णय गर्यो ।
सोही निर्णय अनुसार गर्न/गराउन भन्दै प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जेठ ३१ गते सबै विद्यालयलाई पत्राचार गरे । लगत्तै व्यवस्थापन समितिका अध्यक्ष एबं वडाध्यक्ष नन्दकुमार तामाङले जेठ ९ गतेदेखि लागू हुनेगरी ‘शिक्षा नियमावली २०५९ को नियम ९७’ वमोजिम तामाङलाई नियुक्ती दिएका थिए ।
शिक्षक पदपुर्तीको विज्ञापन आव्हान नगरी कानुन विपरित शिक्षक नियुक्ती गरिएको भन्दै पुर्ववडाध्यक्ष सन्तकुमार तामाङले छानविनका लागि असार २० गते गाउँपालिकाको न्यायीक समितिमा उजुरी दिएका छन् । शिक्षक नियुक्तीका क्रममा अपनाइएको प्रकृया र सो सम्वन्धी कागजातको प्रतिलिपी माग्ने विषयमा प्रअ दाहाललाई असार १२ गते अभद्र व्यवहार गरेको भन्दै सन्तकुमार सात दिन प्रहरी हिरासतमा परेका थिए ।
जेठ १४ गते तामाङको उमेर ४० वर्ष कट्ने भएकाले शिक्षा नियमावली मिचेर जेठ ९ गते नै नियुक्ती दिइएको असन्तुष्ट पक्षको दावी छ । राजीनामा दिने शिक्षक दाहाल जेठ २६ गतेसम्म विद्यालयमा हाजिर भएको, परिक्षा दिनका लागि भन्दै जेठ १४ गते बिदाका लागि निवेदन दिएको, जेठ ९ गतेको मितिबाट नियुक्ती पाएका तामाङ असार ४ गतेदेखि मात्र विद्यालयमा उपस्थित भएको तर पछि हाजिरी मिलाइएको सन्तकुमारको दावी छ ।
सन्तकुमार कांग्रेस नेता हुन् । विव्यास अध्यक्ष एवं वडाध्यक्ष नन्दकुमार एमालेका हुन् । शिक्षक नियुक्तीका क्रममा उनीहरुबीच पार्टीगत रंगले पनि विवाद देखिएको हो । गाउँपालिकाका शिक्षा अधिकृत निरकुमार बस्नेत विस्थापित शिक्षकलाई पुःनस्र्थापित गर्ने गाउँपालिकाको पछिल्लो निर्णय र अघिल्लो कार्यकालमा ‘चार जना विस्थापित शिक्षकलाई पुःनस्थापित गरेको’ नजिरलाई टेक्दै शिक्षक पुःनस्थापित गरिएको बताउँछन् ।
“अघिल्लो कार्यकालमा विस्थापित शिक्षकलाई जसरी पुःनस्थापित गरियो, त्यसरी नै पुःनस्थापित गरिएको हो । त्यसमा पालिकाले निर्णय गरेको छ,” विव्यास अध्यक्ष एबं वडाध्यक्ष नन्दकुमारले भने, “लामो समयसम्म सेवा गरेर विस्थापित भएको एउटा शिक्षक पुःनस्थापित हुँदा के भयो ? यो बखेडा झिक्ने काम मात्र हो ।”
विस्थापित शिक्षकलाई पुःनस्थापित गर्दा स्वतः नियुक्ती दिने व्यवस्था नभएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका निमित्त प्रमुख नरबहादुर खड्काले बताए । “प्रकृया पुर्याउनु पर्छ । ऐन नियमलाई पालना गर्नुपर्छ” खड्काले भने, “स्वतः शिक्षक नियुक्ती गर्न कानुनसम्मत हुँदैन ।”
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन माबिको प्राशि राहत शिक्षक नियुक्ती पनि विवाद रहित हुन सकेन । शिक्षक नियुक्तीका लागि विद्यालयले जेठ ८ गते विज्ञापन खुलाएपछि खोटाङको करार सुचीमा क्रम संख्या ३८ भएका भरतबहादुर राय क्षत्रीले नियुक्तीका दावी पेश गरे ।
क्षत्रीले आफुले नियुक्ती पाउनुपर्ने दावी सहित जेठ २३ गते शिक्षा विकास तथा समन्वय इकाई र भोलीपल्ट जिल्ला प्रशासनमा पनि पुगेका थिए । निवेदन परेकै दिन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र राईले ‘आवश्यक कारबाही’का लागि शिक्षा विकास तथा समन्वय इकाईमा पत्राचार गरेका थिए ।
तर क्षत्रीको दावीले काम गरेन । जेठ २८ गते शिक्षक छनौट परिक्षा गराइए । १२ प्रष्पिर्धीमध्ये तारा राईले नाम निकालिन् । शिक्षा मन्त्रालयको २०७१ भदौ १४ गतेको पत्र र शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ को उपनियम (३) अनुसार राहत कोटामा करार सुचीका उम्मेदवारले दावी गर्नसक्ने भएकाले स्वतः आफुले नियुक्ती पाउनुपर्ने क्षत्री दावी गर्छन् ।
तर, २०७६ सालमा शिक्षा मन्त्रालयले राहत र करार एउटै नभएको उल्लेख गरेर अर्को पत्र पठाएकाले करार सुचीका उम्मेदवारलाई राहत कोटामा स्वतः नियुक्ती दिन नसकिने प्रअ इश्वर लम्सालले बताए ।
क्षत्रीले ‘स्टे अर्डर’का लागि असार ७ गते उच्च अदालत ओखलढुंगामा रिट हालेका थिए । यद्यपी अदालतले ‘स्टे अर्डर’ दिन नपर्ने आदेश दिएको प्रअ लम्साल बताउँछन् । करार दरबन्दीमा करार सूचीका उम्मेदवारले क्रम संख्याको आधारमा स्वतः नियुक्ती पाउँछन् तर राहत दरबन्दीमा करार सुचीका उम्मेदवारले स्वतः नियुक्ती पाउने/नपाउने स्पष्ट नभएकाले जिल्लामा राहत शिक्षक नियुक्तीका क्रममा झमेला निम्तिरहेको छ ।
खोटाङमा करार सुचीमा रहेका ५६ उम्मेदवारमध्ये हालसम्म सात जना स्थायीमा नाम निस्केर सेवामा प्रवेश गरिसकेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।