सोमवार, श्रावण २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ साउन । खोटाङका तत्कालिन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा भ्रष्टाचार मुद्धामा निलम्बनमा परेपछि सन्तबहादुर सुनार प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएका छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेकोबेला विद्युतीकरण आयोजना सञ्चालनका क्रममा भ्रष्टाचार गर्नमा संलग्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन ७ गते बिशेष अदालतमा आरोप–पत्र दायर गरेपछि खतिवडा निलम्बनमा परेका थिए ।
अधिकारी निलम्बनमा परेको दुई हप्तापछि गृह–मन्त्रालयले सुनारलाई प्रजिअको जिम्मेवारी दिएर पठाएको हो । साउन २१ गते दिउँसोदेखि खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको सुनारले बताए ।
अधिकारी निलम्बनमा परेपछि सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले निमित्त प्रजिअको जिम्मेवारी सम्हाल्दैआएका थिए । सिद्धिचरण नगरपालिका–१० मा विस्तार गरिने विद्युतको पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले खतिवडा सहित १० जना बिरुद्ध आरोप–पत्र दायर गरेको थियो ।