सोमवार, श्रावण २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ साउन । तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङ संघ खोटाङले अधिवक्ता भगवती पाण्डेलाई हदैसम्म सजाय दिन माग गरेको छ ।
अधिवक्ता पाण्डेले ‘तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा बिबाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुने...भन्ने अभिव्यक्ती दिएको भन्दै घेदुङले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह–मन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै कारबाही माग गरेको हो ।
घेदुङका अध्यक्ष जसबहादुर तामाङले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई बुझाएको ज्ञापन–पत्रमा पाण्डेले सिंगो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गरेर आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएको उल्लेख छ ।
यस्तै, अधिवक्ता पाण्डेलाई कारबाहीका लागि आव्हान गरिएको शान्तिपूर्ण आन्दोलनमा सहभागी अभियान्तालाई नियन्त्रणमा लिएर बल प्रयोग गरेर चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरिक्षक दानबहादुर कार्कीसहित संलग्न सबै प्रहरीलाई कार्वाही गर्नुपर्ने घेदुङले माग गरेको छ ।
घेदुङले साउन १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौ अभियन्तालाई उपचार खर्चसहित उचित क्षतिपूर्ति दिन गृह–मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
गत साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्कीद्वारा सञ्चालित ‘चिया गफ’ कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा अधिवक्ता पाण्डे विवादमा आएकी हुन् ।
गलत अभिव्यक्ति सच्याउन पटक–पटक आग्रह गर्दा समेत अटेर गरेको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले पाण्डे विरुद्ध साउन ९ गते जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको थियो ।