बिहिवार, श्रावण २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ साउन । ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम पाँच महिनादेखि ठप्प बनेको छ ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले गत पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो ।
गाडी, क्रसर लगायतका मेसिन उठाएर हिँडेको ठेकेदार हालसम्म निर्माणस्थलमा नफर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामान उठाएर लगेको थियो ।
निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्वन्धित मालिक आएर लगेका हुन् । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका विरुद्ध साउन २५ गते प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय सहितको टोली भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा डेलीगेसन गएको मेयर भट्टराईले बताए ।
निर्धारित समयमा निर्धारित काम गर्न नसकेकामा भारत कन्ट्रक्सन÷सिद्धी शाहीलाई गत माघमा १४ दिनको १३ लाख ९९ हजार ७१९ रुपैयाँ जरिवाना गरिसकिएको छ ।
गत मंसिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको ६.५ किलोमिटर पिच गर्न नसकेपछि पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक एक लाखको हाराहारीमा जरिवाना लगाउन सुरु गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे(राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।
४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको कार्यालयले जनाएको छ ।
उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार खण्डको कालोपत्रेको काममा पनि चरम ढिलासुस्ती भइरहेको छ ।