सोमवार, श्रावण २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ साउन । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थानमा बाढीले पुरिएको पञ्चकन्य पोखरीलाई पुर्ववत अवस्थामा फर्काइएको छ । २०४१ सालमा बुवाँ खोलामा आएको भिषण बाढीले पुरिएर खैल मैदानमा परिणत भएको पञ्चकन्य पोखरीलाई पुरानै स्वरुपमा फर्काइएको हो ।
मैनटारस्थित बिशाल पोखरी बालुवाले पुरिएपछि स्थानीय युवाले फुटबल र भलिबल खेल्ने गरेका थिए । चरिचरणको रुपमा पनि प्रयोग हुँदैआएको मैदानको बालुवा पन्छाएर पुःन पोखरीको स्वरुप निकालिएको देबिस्थानका वडाध्यक्ष केदारमान राईले बताए ।
स्थानीय तह कार्यान्वयनमा आएपछि २०७५ सालबाट वडा कार्यालयमार्फत बजेट बिनियोजन गरेर दक्षिणतर्फ बाँध हालेर बालुवा निकालेर पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास थालिएको थियो । बगरमा परिणत भएको चार दशकपछि पोखरीको बालुवा स्काभेटरले उठाएर ट्याक्टरमा हालेर अन्यत्र लगेर फालिएको वडाध्यक्ष राईले बताए ।

पोखरीलाई पुर्ववत अवस्थामा फर्काउने प्रयासका क्रममा हालसम्म साँढे नौ लाखको हाराहारीमा खर्च भइसकेको छ । पोखरीमा रहेका बालुवा अझै पनि पूर्ण रुपमा हटाउन बाँकी छ । बाढीले बगाएका कारण पहिलाको तुलनामा पोखरीको आकार घटेको वडाध्यक्ष राई बताउँछन् ।
पोखरीको बाँकी बालुवा झिक्नेदेखि सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष बजेट बिनियोजन गरेको छ । “ठूलो पोखरी थियो । बाढीले पुरेर बगर बनेको थियो । त्यहाँ फुटलब खेलिन्थ्यो,” वडाध्यक्ष राईले भने, “ड्याम हालेर बालुवा निकालेपछि आफै पानी जम्यो । त्यहाँ पानी हाल्नै पर्दैन । यस वर्ष डिपिआर बनाउने योजना बनाएका छौँ ।”
पुःनर्जीवन पाएको पञ्चकन्य पोखरी हाल हाल स्थानीयको धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदैगएको छ । तराईको सिमसार क्षेत्रको झल्को दिने पोखरी नजिकै पञ्चकन्य मन्दिर रहेको छ । भाकल पुरा गर्न, दर्शन गर्न र घुमफिरका लागि पञ्चकन्य पोखरी र पञ्चकन्य मन्दीर पुग्नेको संख्या बढ्दो रहेको स्थानीय रिपुधन तामाङ बताउँछन् ।

प्राकृतिक रुपमा बनेको पञ्चकन्य पोखरीले बाढीले पुरिनुअघि ठूलो क्षेत्रफल ओगटेको थियो । वरपर ठूला–ठूला रुख थियो । पोखरीमा रातो र सेतो माछा खेलिरहेका देखिन्थे । रुखको पात झर्न नपाउँदै चराले टिपेर फाल्थे ।
निलो र सफा पोखरी हेर्दै डरलाग्दो थियो । तर खोला पसेपछि पोखरी बगरमा परिणत भएको थियो । हाल पोखरीमा आफसेआफ सेतो र रातो माछा निस्किएका छन् । वरपर बुकल्ला देखिन्छन् ।
आसपासका ठूला रुखहरु मासिइसकेका छन् । स्थानीय किंवदन्ती अनुसार पोखरीसँग मागेको वा इच्छाएको चिज पुरा हुन्थ्यो । घरायसी काममा आवश्यक परेको चिज पैंचो पाइन्थ्यो । हेर्न चाहेको जीव जनावर पनि देखाइदिने गरेको बुढापाका बताउँछन् । पुरापुर्व कालमा ब्राह्मणका पाँच कन्या छोरी थिईन् ।
खिर बोकेर खेल्न गएकी पाँच कन्या ढुंगाको ओढारमा बसेर खिर खानेक्रममा अलप भएपछि पञ्चकन्य देवी उत्पत्ती भएको स्थानीय काजीमान बिकले बताए । पञ्चकन्य मन्दिरमा पाठी र परेवा चढाउने प्रचलन छ ।
