बुधवार, श्रावण ३१ २०८०
नेपाल वाइड
खोटाङ, ३१ साउन । खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका द्धन्द्ध पिडित पुर्णबहादुर राईको दाहिने खुट्टाको गोलीगाँठो (जोर्नी) चल्दैन । घुँडामुनिको भाग उत्तिकै छियाछिया छन् । गोलीगाँठो नै नभएपछि हिँडडुल गर्न सकस छ । तर शारीरिक रुपमा अशक्त राई कृषि कर्ममा भने सशक्त तरिकाले लागिपरेका छन् ।
द्धन्द्धको समयमा २०६० सालमा सेनाको यातनाको निहुले उनको खुट्टामा समस्या देखा परेको थियो । बिएण्डबी अस्पतालमा दुई वर्ष उपचार गरेपछि उनको घाउ निको भए पनि खुट्टा सँधैका लागि अपांग बन्न पुगेको हो ।
२०६९ मा सोमा कृषि फर्म तथा पशुफर्म दर्ता गरेका राईले २०७० सालदेखि व्यवसायीक रुपमा फलफुल तथा पशु पालन सुरु गरेका हुन् । उनले घर आसपासका जग्गामा केरा, अम्बा, सुन्तला, कफी लगायतका फलफुल लगाएका छन् ।
बंगुर, बाख्रा, कुखुरा, मौरी पालेका छन् । फलफुल बगानका कारण घर वरपर रमणीय र हराभरा बनाएका छन् । फलफुल तथा पशुपालनबाट वार्षिक रुपमा आउने करिब पाँच लाखले पाँच जनाको जिवीका चलिरहेको छ ।

हाल बगानमा पाँच सय झाङ केरा, सय बोट अम्बा, २० बोट सुन्तला र पाँच सय बोट कफी हुर्काएको राईले बताए । उनले आफ्नो १५ रोपनी जग्गामा फलफुल लगाएका छन् । फलफुलको हेरचाह, गोडमेल र मलजलमै समय बिताउँछन् ।
बगानमा उत्पादन भएका अम्बा, केरालाई उनले क्रेटमा राखेर बाईकमार्फत बाक्सिला लगायतका हाटबजार पुर्याउने गरेका छन् । बजारमा फलफुल फिँजाएर बिक्री गर्न बस्छन् । कहिलेकहीँ फलफुल बोकेर घरभन्दा केही मिनेटमाथि रहेको जालपा–बाक्सिला सडकको डिलमा पुग्छन् ।
जीपबाट यात्रा गर्ने यात्रुलाई फलफुल थमाउँछन् । दशैंतिहारको बेला सडकमै दैनिक चार हजारको फलफुल बेचेको राई बताउँछन् । “केरा, अम्बा क्रेटमा हालेर बाईकमा बजार लैजाने गरेको छु । आफै बसेर बेच्छु । चिनेजानेका साथीहरुलाई किन्न लगाउँछु,” राईले भने, “सडकमा निस्केर बसेर बिक्री गर्छु । अम्बाको पोका–पोका बनाएर बेच्छु ।
दशैंतिहारको सिजनमा एक दिनमा चार हजारसम्मको अम्बा बिक्री गरेको छु ।” पारिश्रमिक दिएर भरियालाई बोकाएर सप्तेश्वरदेखि जालपासम्म पुगेर घर–घरमा पुर्याएर अम्बा, केरा बिक्री गरेको उनको अनुभव छ ।
आगामी दिनमा थप प्राथमिकता दिएर कफी विस्तार गर्ने योजनामा छन् राई । थप हजार बोट कफी लगाउने र अर्को वर्षदेखि कम्तीमा एक मन कफी दाना फलाउने लक्ष्य छ । गाउँलेलाई कफी पिउने बानी पारेर ड्यु–कोक जस्ता आयतीत पेय पदार्थलाई विस्थापित गर्ने उनको महत्वकांक्षी सपना छ ।
आफैले गरेर आफ्नो सफलता देखाएर अरुलाई उत्प्रेरणा दिने उनी बताउँछन् । “कफीलाई लोकल बजारमा पुर्याउने हो । मुख–मुखमा, घर–घरमा, पसल–पसलमा पुर्याएर बानी पार्ने हो । लोकल बजारमा खपत नभए बाहिरको बजार लैजान सकिन्छ,” उनले भने, “भाषण गरेर, सरकारको बजेटको आशा गरेर विकास हुँदैन । आफ्नोतर्फबाट के गर्न सकिन्छ त्यही गर्ने ।
दुई चार रोपनी जग्गा छ भने बंगुर पाल्न सकिन्छ, कुखुरा पाल्छ सकिन्छ । अलि धेरै छ भने बगैंचा लगाउन सकिन्छ ।” गाउँमा अगुवा कृषकको परिचय बनाएका पुर्णबहादुर आफ्नो बगानमा ‘हेर्ने’ बोटबिरुवाभन्दा ‘खाना दिने’ बोटबिरुवा लगाउन रुचाउँछन् । सबैले खानेकुरा रोपे विकास हुने उनी बताउँछन् ।
राई प्रायः बिहान मात्र खाना खान्छन्, बेलुका खाँदैनन् । त्यसको सट्टा फलफुल, केरा, चिउरा खाएर रात काट्छन् । सिरानीमा झुण्ड्याइराखेको केरा खाजाका रुपमा खान्छन् । “म सकेसम्म खानका लागि रोप्छु, हेर्ने बिरुवा रोप्दिन,” उनले भने, “कफी फुल्छ, त्यो हेर्न हुन्छ, खान पनि हुन्छ ।
अम्बा फुल्छ, हेर्न पनि हुन्छ, खान पनि हुन्छ । खानेकुरा रोपियो भने विकास हुन्छ ।” पुर्णबहादुरको उपचारका क्रममा नली हाडको एक टुक्रा काटेर फालेपछि त्यस ठाउँमा नयाँ हाड पलाइएको हो । हाड टुक्राएर फालेको भागमा नयाँ हाड पलाएपछि उनी सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका हुन् । हाडको पाँच पटक अप्रेसन गर्नुपरेको थियो ।
उनी तापखोला लघुजलविद्युत आयोजनाका लागि लोनको प्रकृया मिलाउन दिक्तेल जानेक्रममा २०६० कात्तिक २४ गते सेनाको कब्जामा परेका थिए । गिरफ्तारपछि उनलाई नेपाली सेनाको व्यारेकभित्र चरम यातना दिइएको थियो । उनका आमा सर्वमायाँ राई, श्रीमती सोमा राई र तीन छोरा छन् ।