बिहिवार, श्रावण ३२ २०८०
नेपाल वाइड
खोटाङ, ३२ साउन । विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएपछि खोटाङको दुई निजी विद्यालय बन्द गरिएको छ । विद्यार्थीलाई आँखा पाक्ने (भाइरल कन्जंक्टिभाइटिस) रोगले सताउन थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित माउण्ट एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अल्छेढुंगास्थित हिलसाईड स्याम्पल एकेडेमी बन्द भएको हो ।
दिनानुदिन आँखा पाक्ने विद्यार्थीको संख्या बढेपछि माउण्ट एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलको नर्सरीदेखि कक्षा १० सम्मको पठन–पाठन आइतबारसम्मका लागि बन्द गरिएको सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
कक्षा ११ र १२ को पठन–पाठन भने नियमित हुने माउण्ट एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले जनाएको छ । माउण्ट एभरेष्टमा आईतबार १६ जनालाई आँखा पाक्ने समस्या देखिएकामा सोमबार बढेर ४५/४६ जना पुगेपछि मंगलबार दिउँसो १ बजेदेखि पठन–पाठन बन्द गरिएको थियो ।
आईतबार हिलसाईड स्याम्पल एकेडेमीका १२ विद्यार्थीमा आँखा पाक्ने रोग देखिएपछि सोमबारदेखि र बुधबारसम्म पठन–पाठन बन्द गरिएको थियो ।
हिलसाईड स्याम्पल एकेडेमीमा बिहिबारदेखि पठन–पाठन सुचारु गराइएको सञ्चालक समिति अध्यक्ष जलशेर राईले बताए । आँखा पाक्ने संक्रमण नियन्त्रणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार आँखा पाक्ने केश धेरै बढेमा विद्यालय बन्द गर्ने, संक्रमित विद्यार्थीलाई घरमै बस्न लगाउने, विद्यालय र स्वास्थ्य संस्थामार्फत सचेतनामुलक कक्षाहरु सञ्चालन गर्ने, आँखा पाक्ने रोगबाट सुरक्षित हुन र संक्रमण फैलिन नदिन सबै विद्यालय र वडामा पत्रचार गर्ने लगायतका निर्णय गरेको छ ।
खोटाङका अन्य सामुदायीक तथा निजी विद्यालयमा पनि विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । समस्या भएका विद्यार्थीलाई ‘निको नभएसम्म विद्यालय नआउन’ भन्ने गरिएको छ । आँखा उपचार केन्द्र दिक्तेलमा दैनिक २० जनाको हाराहारीमा आँखा पाक्ने रोगका बिरामी उपचारमा आउने गरेको छ ।