मंगलवार, भाद्र ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ भदौ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित बिश्वज्योती माबिको शिक्षक नियुक्ती बिरुद्ध उजुरी परेको छ । माबि तृतीय करार (सामाजिक विषय)को परिक्षामा सेटिङ गरेर आफुले चाहेको मान्छेलाई उत्तिर्ण गराइएको भन्दै परिक्षार्थी दानबहादुर राईले छानविनका लागि गाउँपालिकामा उजुरी दिएका हुन् ।
तेश्रोपल्ट खुलाइएको विज्ञापन अन्तरगत गत साउन २९ गते सञ्चालन गरिएको परीक्षाबाट शिक्षकमा अनुशा बिष्ट सिफारिस भएकी छन् । अघिल्लो दुई पटकको परिक्षाको पहिलोपत्र (वस्तुगत)मा अनुत्तिर्ण बिष्टलाई जालझेल गरेर तेश्रोपल्टको परिक्षामा उत्तिर्ण गराइएको निवेदक राईले दावी गरेका छन् ।
साउन २९ गतेको परिक्षामा राई र बिष्ट सहित तीन जना मात्र सामेल भएका थिए । एक जना परिक्षार्थी पहिलो–पत्रकै परिक्षाबाट ‘आउट’ भएपछि राई र बिष्ट मात्रै दोश्रो पत्र (विषयगत) हुँदै अन्तरवार्तामा पुगेका थिए ।
तीन वटै परिक्षाको परिणामलाई हेर्दा प्रअ र रोष्टर शिक्षकको ‘खोट’ देखिएको राईले निबेदनमा उल्लेख गरेका छन् । ‘यसको निष्पक्ष छानबिन गरी चित्तबुझ्दो जवाफ दिइयोस्,’ निवेदनमा भनिएको छ, ‘चित्तबुझ्दो जवाफ र सिफारिस बदर नगरिए न्यायलयमा जान बाध्य हुनेछु ।’
राईले आफ्नो परिक्षाको नतिजा सच्याउन र सिफारिस गर्न गाउँपालिका समक्ष माग गरेका छन् । अर्कातर्फ शिक्षक नियुक्ती सम्वन्धी विज्ञापनको सुचना नै लुकाएर सार्वजनिक गरिएको भन्दै बिद्यालयको आलोचना भएको थियो ।
‘अरुले थाहा नपाउन्’ भन्ने मनसायले साउन ११ गतेको सुचनालाई साउन १६ गते प्रकाशित गरिएको भन्दै बिरोध भएको थियो । यद्यपी, साउन ११ गते नै विज्ञापन प्रकाशित गरेको तर सामाजिक सञ्जालमा साउन १६ गते प्रकाशित गरिएकाले विरोध आएको विद्यालयले जनाएको छ ।
बिरोध आएपछि बिद्यालयले आवेदन दिने म्याद थप दुई दिन बढाइएको थियो । तेश्रो विज्ञापनमा आठ जनाको आबेदन परेको थियो । पहिलो विज्ञापनमा पाँच जना र दोश्रो विज्ञापनमा ६ जना परिक्षार्थी सामेल भएका थिए ।
पहिलो र दोश्रो परिक्षामा कोही पास नभएकाले तेश्रोपल्ट परिक्षा गर्नुपरेको विद्यालयले जनाएको छ । असन्तुष्ट बनेका राईले भने आफ्नो मान्छे पास नभएकाले पटक–पटक परिक्षा गराइएको दाबी गरेका छन् । दोश्रोपल्टको परिक्षामा राई र दिपक श्रेष्ठ विषयगतमा पुगेर अनुत्तिर्ण भएका थिए ।
परिक्षामा कमजोरी नदेखिएको तर ‘पर्दापछि के भए’ भन्ने थाहा नभएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष तिमल्सिनाले बताए । पछिल्लो समय स्थानीय तहमा कतिपय शिक्षक नियुक्ती बिवादित हुनेगरेको छ । आफ्नो मान्छे वा आफुले भनेको मान्छेलाई नियुक्ती गर्न खोज्दा शिक्षक नियुक्ती बिवादरहित बन्न नसकेको हो ।