Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बच्चासँगै स्कुल जान्छन् आमाहरु

    बच्चासँगै स्कुल जान्छन् आमाहरु


    • मंगलवार, भाद्र ५ २०८०

    • नेपाल वाइड


    बच्चासँगै स्कुल जान्छन् आमाहरु
    शिक्षिका मनिकला राईका साथमा तारा राई, मनिषा राई र जत्ना राई ।

    खोटाङ, ५ भदौ । विवाहसँगै धेरैको विद्यालयस्तरको पढाई टुंगिन्छ । तर, खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका तीन आमा आफ्नो बालबच्चासँगै विद्यालय गइरहेका छन् । स्थानीय २६ वर्षीय जत्ना राई, २५ वर्षीय मनिषा राई र १९ वर्षीय तारा राई निलो सर्ट, पाईन्ट र ट्र्याकसुर्ट लगाएर झोला भिरेर बालबच्चा डोराउँदै विद्यालय गइरहेकी देखिन्छन् ।

    साविक ईन्द्रेणीपोखरी–२ का तीन आमा स्थानीय इन्द्रेणीपोखरी माबिमा कक्षा ९ मा भर्ना भएका हुन् । उनीहरु छिमेकी एबं सोही विद्यालयमा कार्यरत शिक्षिका मनिकला राईको प्रोत्साहनमा सँगै विद्यालय भर्ना भएका हुन् ।

    dfa.jpg

    विवाहपछि पढाई छाडेका उनीहरु बालबच्चा हुर्काएपछि चालु शैक्षिक–सत्रदेखि पुःन विद्यालय जान थालेका हुन् । जत्नाको छोरी जेविना राई नर्सरीमा पढ्छिन् । मनिषाको छोरा बेनिस कक्षा १ मा र छोरी खुस्बु राई नर्सरीमा पढ्छन् । ताराको छोरा साइमन नर्सरीमा पढ्छन् ।

    हाल तीन आमा बालबच्चासँगै विद्यालय गएर पढ्ने धोको पुरा गरिरहेकी छन्, सँगै गाउँमा ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बनेका छन् । अन्य आमालाई शिक्षाप्रति आकर्षित गर्ने र गाउँको शिक्षाको सुचांक वृद्धि गर्ने सोचका साथ तीन जना आमालाई विद्यालय जान प्रोत्साहित गरेको शिक्षिका राई बताउँछिन् ।

    dfadf.jpg

    “केही गर्न नकसे पनि गाउँको साक्षरता दर अगाडि लैजान योगदान पुग्छ । ड्रेस सिलाउन लाएँ, स्कुल आउ भनेँ । अहिले नियमित स्कुल आउँछन्,” शिक्षिका राईले भनिन्, “स्कुल जान जहिल्यै पुस गर्छु । कम्तीमा अरु महिलालाई पनि प्रोत्साहन मिलोस् भन्ने लक्ष्य छ ।” इन्द्रेणीपोखरी माबिमै कक्षा १० मा पढ्दापढ्दै जत्नाको २०७२ सालमा विवाह भएको थियो ।

    संखुवासभा माइती भएकी मनिषा र खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका माइती भएकी ताराको कक्षा ८ उत्तिर्ण गरेपछि २०७५ सालमा विवाह भएको थियो । विवाहपछि घरायसी काम र चुल्होचौकोमा भुलेका आमाहरुले बच्चा हुर्काएपछि सल्लाह गरेर बच्चासँगै स्कुले जीवनलाई निरन्तरता दिएको इन्द्रेणीपोखरीका पुर्ववडाध्यक्ष देबिन्द्र राई बताउँछन् ।

    aasa.jpg

    स्कुले आमाहरुलाई श्रीमान र परिवारको साथ छ । मनिषा र ताराको श्रीमान बैदेसिक रोजगारीबाट फर्किएर घर सम्हाल्न आइपुगेका छन् । वर्षौँपछि पढाईलाई निरन्तरता दिएका उनीहरु गाउँकै सुम्नीमा आमा समुह र हुर्लुङ्छा टोल बिकास संस्थामा क्रियासिल छन् ।

    जत्ना स्वयं आमा समुहको अध्यक्ष, मनिषा कोषाध्यक्ष र तारा सदस्य छिन् । प्रत्येक महिनाको ५ गते बैठक बसेर जनही २० रुपैयाँ बचत गर्छन् । शिक्षिका राईले उपलव्ध गराएको जग्गामा बनाइएको भवनमा समुहको नियमित बैठक हुनेगरेको छ । सोही बचतबाट बिहेकार्जेमा चलाउने थाल, भाँडाकुँडा जुटाइएको छ ।

    sdfa.jpg

    सम्बन्धित समाचार