मंगलवार, भाद्र ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ भदौ । शुभशेर राई स्मृति प्रतिष्ठान खोटाङले शिक्षक डिकबीर राईलाई उत्कष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभशेर राईको स्मृतिमा बनाइएको प्रतिष्ठानले शिक्षक राईलाई ५५ हजार ५५५ रुपैयाँ राशीको शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८० प्रदान गरेको हो ।
बार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई छनौट गरेर प्रदान गरिने पुरस्कार यस वर्ष हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माबिका शिक्षक राईलाई प्रदान गरिएको स्वर्गीय शिक्षक राईको जेठो छोरा एबं प्रतिष्ठानका अध्यक्ष देवबिक्रम राईले बताए ।
स्वर्गीय शिक्षक राईको दोश्रो वार्षिक पुण्यतिथिको अवसरमा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशसभा सांसद पाँचकर्ण राई ‘पिके’ले शिक्षक राईलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
यस्तै, प्रतिष्ठानले यस वर्षको शुभशेर राई दीर्घ शिक्षक सेवा सम्मान २०८० शान्ति निकेतन मिनाकर्ण माबि छोरम्बुका शिक्षक नानीबाबु बस्नेतलाई प्रदान गरेको छ ।
शिक्षक बस्नेत २०३९ साल फागुन ११ गतेदेखि हालसम्म कार्यरत छन् । चिसापानी नमुना माबिका प्रअ रामबहादुर राउतलाई शुभशेर राई उत्कृष्ट प्रअ सम्मान र सिद्धेश्वरी माबि खिदिमाका व्यवस्थापन समितिका अध्यक्ष मिनराज राईलाई शुभशेर राई जिल्ला उत्कृष्ट विव्यास सम्मान प्रदान गरिएको छ ।
यस्तै, हाल राजनीतिमा क्रियासिल पुर्वशिक्षक केशवराज कार्की, जयप्रसाद आचार्य र देबीप्रसाद रिजाललाई शुभशेर राई नेतृत्व सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
स्वर्गीय शिक्षक राईको सम्मान तथा सम्झनामा परिवारका १९ सदस्यले स्थापना गरेको ११ लाख ११ हजार १११ राशीको अक्षयकोषबाट उत्कृष्ट शिक्षक, प्रअ, व्यवस्थापन समिति लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा स्वर्गीय शिक्षक राईको परिवारका सदस्यले आफ्नो वार्षिक कमाइको ०.५ प्रतिशत रकम वापत जम्मा भएको ७८ हजार प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन् ।
यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनले कोषका लागि ५० हजार हस्तान्तरण गरेको छ । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न शिक्षक सङ्घ/सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
विक्रम संवत २००६ साल साउन २६ गते जन्मिएका शुभशेरको २०७८ साल भदौ ५ गते निधन भएको थियो । राईको स्मृतिमा बनाइएको प्रतिष्ठान २०७९ साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।
स्वर्गीय शिक्षक राईले सहयोगी प्रावि बुईपा छिप्ती, बिणा माबि लिकुवापोखरी र चम्पावती मावि बुईपामा ४१ वर्ष ७ महिना शिक्षण पेशामा विताएका थिए । उनलाई जिल्लामै सबैभन्दा लामो अवधिसम्म शिक्षण गर्ने शिक्षकका रुपमा चिन्ने गरिन्छ ।
शुभसेरले नेपाल राष्ट्रिय शिक्षक संगठनको तीन कार्यकाल जिल्ला अध्यक्ष र एक कार्यकाल कार्यबाहक अध्यक्षको भूमीका निर्वाह गरेका थिए । २०३७ सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला अधिबेसनबाट उपाध्यक्ष चुनिएका राई लगत्तै कार्यबाहक अध्यक्ष बनाइएका थिए ।
उनी २०४० सालदेखि २०४३ साल, २०४७ सालदेखि २०५० साल र २०५६ सालदेखि २०६२ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेका थिए ।