Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नियात्रा

    थेम्समा देखिएको छायाँ

    थेम्समा देखिएको छायाँ


    • बुधवार, भाद्र ६ २०८०

    • भीम राई


    थेम्समा देखिएको छायाँ
    भीम राई

    खोटाङ, ६ साउन ।

                  “हुनु वा नहुनु, त्यो एउटा प्रश्न हो ।”

    सेक्सपियरको नाटक ह्यामलेटमा राजकुमार ह्यामलेटले बिलौना गरिरहेको उक्त कुरो सम्झदा मलाई जीवन नहुनुभन्दा पनिजीवन हुनुपर्छ भन्ने लागिरहन्छ । किनभने जीवन छ र त संसार देख्न सकिन्छ, नत्रभने जमिन मुनि पुरिएपछि त के देख्न सकिएला र भन्ने यदाकदा लागिरहने गर्दछ ।

    हामी यतिबेला लण्डनमा छौ । अझै यो सहर एकजमानामा कहिले सूर्य नअस्ताउने राज्यको राजधानीमात्र नभएर दुनियाको अलौकिक सहरपनि हो ।बेलायती ग्रिष्मकालिन मौसममा सनिबारको दिन छ, अथवा २०२३ को जुलाई महिना । ठीक मध्यान्हको सूर्यको किरणहरु बिगबेनको सिरमा टलक्कै टल्किरहदा तिनै बिगबेनमा लण्डनको समय ठेक्कै १२ बजिरहेको मज्जाले देख्न सकिन्छ । जुलाई महिनाको जति राम्रो मौसम यहाँ अन्य कुनै पनि महिनामा हुँदै हँदैन है भनेर ठोकुवा गर्न मिल्छ । अझ यसलाई थोरै मिलाएर यसो भनौ न, यस्तो मौसममा हामी अहिले “सर्कुलर क्रुज” को छातीमा टेकेर वा थेम्स नदीको पानीमाथि तैरिएर त्यति राम्रो मौसमसँग रुमलिरहेका छौ ।

    तारासँग हामी त्यसरी पानीमा तैरिरहेको त्यति धेरै लामो समय भइँहालेको छैन । तर एकछिनपछि लण्डन नै थर्कने गरि सर्कुलर क्रुजले छाडेको हर्नले हरेक यात्रीको मुटु नै थरङ्गै बनाउछ । त्यसपछि तिनै हर्नको साथसाथमा थेम्स क्रुजले सुस्तरी आफ्नो टाउको घुमाउन थाल्छ । त्यसरी क्रुजलाई आफ्नो वसमा राखेर फनक्क घुमाउने क्रुज चालकका नाम चाहिँ चार्ल्स डेभिस हुन् । उनले क्रुजलाई त्यसरी एकफन्को घुमाउदै गर्दा जोन फ्रान्सिसले चाहिँ ध्वनी प्रसारक यन्त्रदेखि हाम्रा यात्राको बिषयमा खुरखुरु भट्याउन सुरु गर्न थालिहाल्छ ।

    ऊँसुरुमा यसो भन्छ,–

    “ल यहाँहरु सबै जनालाई थेम्स नदीमा स्वागत छ । अब तपाईहरु जहाँजहाँ बस्नु भएको छ त्यहाँदेखि सिधै आफ्नो अगाडि हेर्नुहोला ?हेर्नुहोस त - हाम्रो सामुन्ने खडा भएर रहेको भीमकाया भवन बेलायती संसद भवनवेस्ट मिन्सटर पार्लियमेन्ट हो ।यस्को निर्माण तपाईहरुले कल्पना गरेको समय ५ सय बर्ष होइन ७ सय बर्ष होइन अझै त्योभन्दा धेरै अगाडिभएको होअथवा आजभन्दा ९ सय बर्ष अगाडि भएको हो । त्यहाँ ‘हाउस अफ लर्डस’ र ‘हाउस अफ कमन्स’ गरेर दुई थरिका सदश्यहरु बस्ने गरेका छन् । अझै एउटा कुरो के मान्नोस भने यो नै विश्वको सबैभन्दा पुरानोतर आधुनिक प्रजातन्त्रको जन्म भएकोदेश हो । त्यसैले वेस्ट मिन्स्टर पार्लियमेन्टलाई ‘प्रजातन्त्रको जननी’ भनेर पनि चिन्ने गरिन्छ । तर मैले यसो भनिरहँदा एउटा अर्को कुरो चाहिँ ख्याल गर्नु होला ? प्राचिन प्रजातन्त्रको उपाधि भने अहिलेसम्म एथेन्स, ग्रिसलाई नै गइरहेको छ ।”

    “मित्रहरु –ल ! हेर्नुहोस त । यति राम्रो मौसममा यो कति मज्जाले चमक्कै चम्किरेहको छ । तर जति मज्जाले यो भवन चम्किरहेको देखिएता पनि इतिहासका बिभिन्न कालखण्डहरुमा यहाँ अनेकौ दुखद घटनाहरु घटेका छन् । मज्जाले दिल खोलेर सुन्नुहोस है, यहाँ एउटा घटना चाहिँ यस्तो घटेको थियो । ४ नोभेम्वर १६०५ को रात्रिकालिन समय थियो । आतङ्ककारी गतिविधिमा लागेको गाइ फोक्सले बारुद (गन पाउडर) राखेर तत्कालिन इङ्गल्याण्डका राजा जेम्स प्रथम र भवनलाई सँगसँगै उडाइ दिने योजना बनाएका थिए । तर राजाका सिपाहीहरुले उनको योजनालाई चाल पाए र त्यस कार्यलाई सफल गर्न दिएनन् । तैपनि त्यस्तो विचारको सम्झनामा अहिले पनि हरेक नोभेम्वर ५ तारिकलाई ‘गाइ फोक्स नाइट’ भनेर मनाउने बेलायती परम्परा छ ।“

    “ल अब पार्लियमेन्टलाई बिदा गरौ । तर त्यहाँदेखि थोरै बायाँ दिशातिर हेर्नुहोला ? अनि सिधै अगाडि देखिएको त्यो बिशाल साँघुको नाम वेस्ट मिन्स्टर साँघुहो । ल यसो गर्नोस् । साँघुबाट यतातिर हामीलाई रमिता हेरिरहेका मानिसहरुलाई एकचोटी सबैले हात हल्लाई दिनुहोस ।”

    उनको कुरो सुनेर हामी सबैजना आ-आफ्ना हात उठाउछौं । क्रुजमा अन्दाजि ३ सय जना यात्रीहरु रहेका होला ? तर हामी सबैले एक्कैचोटी हात उठाएर हाइहाइभन्दा सारा लण्डन नै थर्केको मलाई महसुस हुन्छ ।

    माथि आकासतिर उठेको हातहरु मुनि झरेपछि क्रुज केहिबेर शान्त रहन्छ । अब अन्य सबैकुरो छाडेर एकछिन नदीमा भएका साघुँहरुका कुरा गरौं । अहिलेको मितिसम्म आइपुग्दा थेम्स नदीमा जम्मा २ सयजति साघुँहरु बनिसकेका छन् । अझै लण्डनको मात्र कुरो गर्ने हो भने पनि यहाँ २१ वटा साँघुहरु निर्माण भइसकेका छन् । तर थेम्स नदी नै बेलायतको सबैभन्दा लामो नदी चाहिँ हुँदै होइन । यहाँको सबैभन्दा लामो नदी त ‘सेभर्न नदी’हो । जुन नदी कम्ब्रिया पर्वत वेल्सबाट सुरु भएर ब्रिस्टल जलसंयोजनमा पुगेरमिसिन्छ । त्यसको आधिकारिक लम्बाई २ सय २० माईल छ ।

    मध्यान्हको समयछ । त्यसैले लण्डनमा टन्टलापुर घाम लागिरहेको छ । हुनत घाम जतिसुकै चर्को लागेको भएतापनि थेम्स नदीको सुदुर पुर्व क्षितिजदेखि बहेर आएको हावाको मन्दमन्द गतिले वातावरणलाई वातानुकुलित बनाइ रहेको आभाष हुन्छ । म जस्तो आर्थिक अवस्थाले बिलकुलै निम्छुरो मान्छे । त्यसैले जिन्दगीमा यस्तो अवसर आक्कल झुक्कलमात्र पाउने गर्छु । आज चन्द्रमा मेरो दाहिने भएको हुनाले यस्तो अवसर पाएको छु । त्यसैले मौकाको पूर्ण फाइदा लिइरहेको छु ।

    एकछिनपछि, “यो घर लण्डनको काउन्टि हल हो । घरको बिच भाग धनुष्टङ्कर आकारको छ । त्यसैले म यसलाई धुनष्टङ्कर घर भन्न रुचाउछु । तर अरुले जे सुकै भनोस् । मलाई के मतलव ?” हाम्रो दाहिनेतिरको घर देखाउदै जोन थोरै उग्रवादी कुरो गर्छ । उनको त्यस्तो कुरो सुन्दा मलाई नेपालमा भेटिने कुनैकुनै बस सहचालकहरुले प्रयोग गर्ने भाषाको बेस्सरि याद आउछ ।

    ऊँफेरि थप्दै जान्छ,-

    “यो घरसन् १९२२ निर्माण भएको हो । त्यस घरको निर्माण भइसकेपछि राजा जर्ज आठौले यसको उद्घाटन गरेका थिए,”त्यसपछि उनी रोकिन्छ र एकछिनपछि पुनः उनको कुरोले गति लिन सुरु गर्छ ।

    “यस घरमा निक्कै लामो समयसम्म लण्डन महानगर पालिकाको कार्यलय रहेको थियो तर अहिले छैन् । अहिले चाहिँ यहाँ के होला भनेर तपाईहरुले मनमनै प्रश्न गर्नु भयो होला ? यहाँ सामुन्द्रिक जीवन (सि लाईफ) अक्वेरियम रहेको छ । अब त्यहाँदेखि अलिक पछाडि हेर्नु होला ? त्यसको ठीक पछाडि देखिएको ठूलो घर सेन्ट थोमस अस्पताल हो । जसमा ८ सय ४० अस्पतालका बिस्ताराहरु रहेका छन् । तै पनि यो लण्डनको सबैभन्दा ठूलो अस्पताल भने हुँदै होइन । यस सहरको सबैभन्दा ठूलो अस्पताल त सेन्ट जर्जेज अस्पताल हो । जहाँ १३ सय बिरामी सुत्ने बिस्ताराहरु छन् ।”

    “ल ल अब यता हेर्नुहोस । यो अजङ्गको रोटे पिङ जस्तो देखिने ‘लण्डन आइ’ हो र यो लण्डन आकर्षणको मूख्य केन्द्रबिन्दु पनि हो । यस्को निर्माण स्रहस्राब्दी(मिलिनियम) मनाउने क्रममा सन् २००० मा भएको थियो । यस्को प्रमुख आर्किटेक मार्क्स बारफिल्ड हुन् । यो १ सय ३५ मिटर अग्लो छ र यस्मा औषधिको गोलि राखिने क्याप्सुलहरु जस्तै मानिसहरु बस्ने क्याप्सुलहरु छन् । ती क्याप्सुलहरु जम्मा ३२ वटा छन् र हरेक क्याप्सुलले लण्डन महानगर पालिकाको ३२ नगरहरु(बरो) को प्रतिनिधित्व गर्दछ । वास्तवमा यस्को निर्माण हुँदा नगरले ५ बर्षको लागि बनाउने अनुमति दिएको थियो । त्यसपछि भत्काएर अन्त कतै सार्ने योजना भएतापनि अत्याधिक मानिसहरुले रुचाएको हुनाले अहिलेसम्म केहि गर्न सकिएको छैन् ।”

    उनको त्यति कुरो सुनिसकेपछि मेरो नजर नदीको बायाँ दिशातर्फ पर्छ । जहाँ चौबिसै घण्टा तीन तीनवटा झण्डा फररफहराइ रहेको एउटाठूलो घर देख्न सकिन्छ । त्यो झण्डाहरुले बेलायती स्थल सेना, जल सेना र वायु सेनाको प्रतिनिधित्व गर्छ । अथवा यो सैनिक मुख्यालय वा बेलायती रक्षा मन्त्रालयको कार्यलय हो । यो ह्वाइटहल सडक, सिटी अफ वेस्टमिन्स्टरमा पर्दछ । यस घरको डिजाइन सन् १९१५ मा भिन्सेन्ट ह्यारिसले गरेका हुन् । तर यसको निर्माण भने सन् १९३९ देखि १९५९सम्ममा भएको थियो ।जमिनभन्दा माथि १० तला र जमिन मुनि ३ तला रहेको उक्त भवनलाई सन् २००० देखि २००४ सम्म मर्मत गर्दा ७ सय ४६ मिलियन स्टरलिङ पाउण्ड खर्च भएको थियो ।

    बिसौ बर्ष पूर्व बेलायती गोर्खा सेना भएर काम गरेको हुनाले मलाई त्यतिसम्म थाहा थियो । त्यहिँमाथि जोनले,-

    “यिनै घरमा बसेर सैनिक वा गैरसैनिक अधिकारीहरुले अष्ट्रेलियादेखि अमेरिकासम्म कस्तो सुरक्षा निती अवलम्वन गर्ने हो भनेर सरसल्लाहा गर्ने गर्छन्,” भनेको सुन्दा तारा एकछिन छक्क परिन् ।

    “त्यहाँदेखि अब तपाईहरुको टाउकोलाई सिधै दायाँतर्फ लानु होला, अथवा बेलायती रक्षा मन्त्रालयदेखि बिपरित दिशामा खोला पारि हेर्नु भयो भने कुङलिङ्ग परेको एउटा पहेलो घर देख्न सक्नु हुनेछ । त्यो घरको निर्माण सन् १९५१ मा भएको हो । जुन घरभित्र ठूल्ठूला हलहरु रहेका छन् । जहाँ नाटक, सङ्गित र सिनेमाहरु देखाइने गरिन्छ । जस्ले गर्दा त्यस घरलाई राजकिय महोत्सव केन्द्र (रोयल फेस्टिभल सेन्टर) भनेर चिनिन्छ । हरेक बर्ष साढे ४ मिलियन मानिसहरुले भ्रमण गर्ने त्यस ठाउँमा निःशुल्क महोत्सवहरु पनि हेर्न मिल्छ,” जोनको धारावाहिक आवाजहरु आइरहन्छ ।

    “तर अब फेरि यता बायाँ हेर्नु होस् । रक्षा मन्त्रलयदेखि उँभोउँभो हेर्दै जानु भयो भने एउटा ठाडो स्मारक जस्तो देख्न सक्नु हुनेछ । जस्लाई लण्डनको क्लियोपत्र सुइ (ओवेलिक्स)भनेर चिनिन्छ र यो नदीको ठीक बायाँ किनारमा अवस्थित रहेको छ । यसो हेर्दा चारपाटे जस्तो देखिने तर खिइदै गएर टुप्पोमा चुच्चो भएको त्यो स्तम्भ वा स्मारकको निर्माण इसा पूर्व १५०० मा इजिप्टकातत्कालिन फेरो थोटमस तेश्राले निर्माण गरेका हुन्,” उनी भन्छन् ।

    “क्लियोपत्र सुइको निर्माण भएपछि लगभग २ हजार बर्ष जतियस्ले अलेक्जान्ड्रिय हाल इजिप्टमा हावा खायो । सन् १७९८ मा इजिप्टमा फ्रान्स र बेलायतको घमसान युध्द भयो । तिनै युध्दलाई ‘नाइलको युध्द’ भनेर इतिहासकारहरुले भन्ने गरेका छन् । नाइल नदीमा भएको जलयुध्दमा बेलायती रियर एडमिरल होरासियो नेल्सनका सिपाहीहरुले फ्रेन्च जनरल नेपोलियन बोनापर्टको फ्लिटलाई अदभूत विजय प्राप्त गरेका थिए । तिनैयुध्दमा बिजय प्राप्त गरेको उपहार स्वरुप सन् १८७८मा इजिप्टले बेलायती जनताप्रति उच्चँ सम्मानको साथ उक्त क्लियोपत्र सुइ प्रदान गरेको थियो ।”

    जोनले त्यति भनिसकेपछि ऊँ एकछिन चुपचाप बस्छ । सायद बोल्दाबोल्दा ऊँ थाकेका हुनसक्छ भन्ने मलाई त्यसबेला आभाष हुन्छ । म त्यसबेला लण्डनको गगनचुम्वि महलहरुको तस्विर लिने निहुँमा उनको नजिकै पुग्छु । त्यहाँ पुगेपछि घोग्रो फुलाएर बोलिरहने जोनको सिरदेखि पाउसम्म एक झलक नजर मार्छु । बेलायती भट्टिपशलमा पाइने बियर टन्न पिएर मज्जाले भुँडी पल्टाएका जस्ता देखिने उनको शरिर भएपनि बोलिलेभने मलाई बेस्सरि मोहित पारिरहेको छ । हरेक बिहान लण्डनमा झुल्कने झुल्के घामको गति सँगसँगै क्रुजमा पथ प्रदर्शकको भूमिका निर्वाह गर्न उनी यहाँ आइपुग्ने गर्दा रहेछ ।

    म उसको नजिकै पुगेपछि नदीमा सलल बहिरहेको पानीलाई परवाह नगरि पर्खाल पारिपट्टी रहेको क्लियोपत्र सुइलाई पुनः एकचोटी मज्जाले नजर मार्छु । त्यसपछि दुनियाको अलौकिक सहर लण्डनमा बसेर इजिप्सियन इतिहासको बिषयमा एकझलक स्मरण गर्न थाल्छु ।

    क्लियोपत्र सातौं प्टोल्मिक राजबँशका अदभुत शक्ति भएका महारानी हुन् । उनको जन्म इसापूर्व ६९ मा भएको थियो । इतिहासकारहरुले के पनि भनेका छन् भने उनी अरुजस्तै सजिलै रानी नभएर बिलकुलै फरक तरिकाबाट भएकी हुन् । उनी २० बर्षकी हुँदा उनको बुबाको अचानक देहान्त भएको थियो । इजिप्सियन राजकिय परम्परा अनुसार राजाको जेठा छोरा राजा हुने भएकोले उनको भाई प्टोलमी आठौं राजा भयो ।

    आफुभन्दा १० बर्ष कान्छा भाई राजा भएपछि उनले तिनै भाईसँग बिहे गरेर उनी पनि रानी बनिन् । भाईको उमेर अलिक कलिलै थियो । त्यसैले शासनको बागडोर आफैले सम्हाल्न थालिन । भनिन्छ - इसा पूर्व ५१ देखि ३० सम्म लगभग २१ बर्ष शासन गर्दा उनले आफ्नो श्रीमानको अलिकति पनि कुरो नसुनि एकक्षत्र शासन गरेकी थिइन । तर उनको जीवनी अध्यान गरे पश्चात्मानिसहरु आफूले शक्ति प्राप्त गर्नको लागि कति नीच कामसम्म गर्न सक्ने रहेछभन्ने अहिलेसम्म लागिरहन्छ ?

    क्रुजले हङ्गरफोर्ड साँघु पार गरेपछि गति घटाउदै जान्छ । त्यसपछि निक्कै लामो समयसम्म रोकिएको जोनको मुख पुनः खोलिन सुरु गर्छ ।

    “हामी पानीको वेग रोकिने स्थल (इमबेङ्मेन्ट पियर) मा रोकिन गइरहेका छौ । यदि यहाँ कोहि उत्रनु चाहनु हुन्छ भने उत्रनु सक्नु हुन्छ । आजको मौसम पनि ज्यादै राम्रो भएको हुनाले नयाँ यात्रीहरु निक्कै धेरै क्रुजमा आउने छन् । तर त्योभन्दा अगाडि एकपटक मेरो कुरो ध्यान दिएर सुनिदिनु होला ?”

    म यहाँबाट निक्कै टाढा हेनडन भन्ने ठाउँमा बस्छु । मेरो घर पुग्न भुमिगतरेलदेखि लगभग ४५ मिनेट जति समय लाग्छ । दिनभरि काम गरेर घरमा पुग्दा प्राय सबैको आफ्नो श्रीमान वा श्रीमती हुन्छन् । तर दुर्भाग्यबस मेरो अवस्था त्यस्तो छैन् । साच्चै साच्चै भन्नु पर्दा मेरो अवस्था अति दयनिय छ । अत्याधिक मादक पदार्थ सेवन गर्ने भएकी हुनाले मैले मेरी श्रीमतीसँग पारपाचुके गरिसकेको छु ।खयर जे सुकै होस । मेरो घरमा दुईजना स-साना भाल्टाङभुल्टुङहरु छन् र उनीहरुलाई पाल्ने मेरो उत्तरदायित्व भएको छ ।

    जस्तो कि यहाँहरुलाई अवगत भएकै कुरो हो । लण्डनमा हरेक कुरोहरु महङ्गो छ ।तैपनि तपाईहरुसँग पैसा छ र त संसारको बिभिन्न देशहरुबाट यहाँ छुट्टी मनाउन आउनु भएको छ । तपाईहरुको छुट्टी मनोरन्जनात्मक होस भनेर कामना गर्दै अब म मुनि तलामाजान्छु । मुनि तलामा क्रुजबाट बाहिर जमिनमा निस्कने सानो भर्याङ (ग्याङ वे) छ । हो, म त्यहिँनेर एउटा कालो टोपी थापेर एकछेउमा उभिरहेको हुन्छु । तपाईहरु जो जो क्रुजदेखि बाहिर निस्कनु हुन्छ । र, जे जति चानचुने पैसाहरु दिन सक्नु हुन्छ, कृपया मलाई दिनु होला ।

    “तर छाती ठूलो छ वा विशाल हृदय छ भने जेन अस्टिनको तस्विर भएको एउटा नोट दिनु होला ? होइन भने विन्स्टन चर्चिलको तस्विरभएको भएपनि एउटा नोट खुत्रुक्कै टोपिमा हालि दिनु भयो भने मेरो छोराछोरीले भरै बेलुकि टन्न खाना खान पाउथे,”– उनी भन्छन् ।

    त्यतिभनि सकेपछि उनको शरिर हामीदेखि बिलय भइहाल्छ । उनी मुनि तलामा झरेपछि हामी चुपचाप क्रुजको माथिलो तलामा घाम तापेर बसिरहेका हुन्छौं । एकछिनपछि क्रुज रोकिन्छ । त्यसपछि नयाँ यात्रुहरु धमाधम तलामाथि उक्लन थाल्छन् । सबैजना यात्रृहरु कुर्सिमा आरामले बसिसकेपछि क्रुजले पुनः गति लिन सुरु गर्छ । यतिकैमा हस्याङ फस्याङ गर्दै जोन हाम्रो नजिकै आइपुग्छ तर हाम्रो नजिक आउने बितिक्कै ख्याक्क एकचोटी खोक्छ । त्यसपछि लामो सास तान्छ र सुस्तरि अगाडि बढेर क्रुज चालकको नजिक पुग्छ ।

    क्रुज बहन थालेको केहिबेरमा हामी वाटरलु साँघु पुग्नै लागेको हुन्छौं ।

    “ल ! मेरो बायाँ हेर्नु होला,”ऊँ अर्को चोटी खोक्छ र “मलाई माफ गर्नु होला,” भनेर पुनः बोल्न सुरु गर्छ । उनले छाडेका शब्दहरु हावामा बिलिन हुन पाउदा नपाउदै हामी सबैको टाउको बायाँ दिशातर्फ घुम्छ ।

    “आम्मामा ! हेर्नुहोस त बायाँ भित्तामा पहरो जस्तो देखिने भिमकाया बिल्डिङ ।”उनको कुरो सुन्ने बितिक्कै हामी सबै त्यतातिर हेरेर एकछिन मन्त्रमुग्ध हुन्छौं । उनी एकछिनसम्म रोकिन्छ, केही बोल्दैन । त्यतिबेला हामी सबै उनले छाड्ने अर्को शब्दको प्रतिक्षा गरिरहेको हुन्छौं ।

    “यो होटल सेभोइ - लण्डन हो,” निक्कैबेरपछि उनको मुख खोलिन्छ ।

    “सन् १८८९ यस्को निर्माण हुँदा यो विश्वको सबैभन्दा पहिलो बिजुली भर्याङवाला होटल बनेको थियो । अझै होटलको हरेक कोठाकोठामा शौचालय राखेपछि अति सुबिधा सम्पन्न होटल भनेर यस होटलले सुप्रसिध्दि कमाएको थियो । अब त्यस्तो होटललाई तपाईहरुले शानदार, विलासी, रवाफी, सोखी वा लग्जरियस भनेर जुनसुकै शब्दले सुशोभित गरेपनि यहाँहरुको हातैमा छ । तर मलाई सोध्नु हुन्छ भने यो बेलायतको सबैभन्दा पहिले बनेको सुखभोगी होटल भन्न म रुचाउछु । यो जहाँ निर्माण भएको छ । त्यो जग्घा दशौ शताब्दीदेखि ड्युक अफ सेभोइको थियो । जस्ले गर्दा यस होटलको नाम सेभोइ लण्डन रहन गएको हो । स्ट्राण्ड लण्डनको यति विलासियुक्त्त होटलमा मलाई पनि एकचोटी होटलभित्र छिर्न रहर लागिरहेको छ । तर मेरो उमेरले ५० हिउदहरु काटिसकेका छन्, सेभोइ छिर्ने सौभाग्य अहिलेसम्म जुरि हालेको छैन्,” भनेर उनी एकछिन अवाक हुन्छन् ।

    दिउसोको समयमा थेम्सको पानी अविरल गतिमा पूर्व दिशातर्फ बहिरहेको छ । यहाँनेर नदीको गहिराई लगभग ६६ फिट र चौडाइ २ सय ५० मिटर जति फराकिलो रहेको छ । पानीको प्रवाह र ज्वारभाटा जतासुकै बहेको भएतापनि जोनको कुरोले मलाई होटल सेभोइ जाँदाको याद बेस्सरि दिलाई दिन्छ । यस मानेमा म उनीभन्दा थोरै भाग्यमानि मान्छे परेछु भन्ने मलाई त्यसबेला बोध हुन्छ । सेभोइ जाँदाको कुरो स्मरण गर्दैगर्दा मलाई अचानक ताराको मुहार हेर्न मन लाग्छ । मेरो त खै के भन्ने र ? ताराका ती पाइतालाहरु पनि कमि भाग्यमानी छैनन् । संसारलाई घरिघरि चक्कर लगाइ रहने उनको पाइतालाहरु भनेर मनमनै भन्छु ।

    कुरो तीनबर्ष अगाडिको हो ।

    “अङ्ग्रेजी ल सोसाइटी” लण्डनमा अङ्ग्रेजी कानूनको बिधार्थी मेरी छोरीले बेलायती सोलिसिटरको कसम खाइसकेपछि सेभोइ ग्रिल पुगेर एक छाक खाना खाने है भनेर मैले नै सबैजनालाई कर गरेको थिएँ । हुनत म बुईपा, खोटाङदेखि बेलायत बसाइ सरेको मान्छे ।

    अझ यसो भनौ – बुईपादेखि बेलटार नुन बोक्ने या फत्तेपुरसम्म पुगेर चामल बोक्ने एकजना ढाक्रे । तीनताका बोकेको ढाकरले पारेको डाम ढाडदेखि मेरुदण्डसम्म छोएको अनुभूति अहिलेसम्म भैरहन्छ । त्यस्तो पृष्ठभूमी भएको मान्छेले खास्सै त्यति विलासियुक्त्त स्थानमा जान उपयुक्त्त त हुदैनथ्यो । तर बेलायतको त्यति प्रसिध्द स्थल ल सोसाइटीदेखि आफ्नो छोरी सोलिसिटर हुँदा गर्वले मेरो छाती कति फुलिएको थियो । त्यसैले हामी त्यसदिन त्यता जाने है भनेर निधो गरेका थियौं ।

    बेलुकीको समय त्यस्तै ९ बजेको हुनुपर्छ । हामी सपरिवार होटलको प्रवेशद्वार नजिकै रहेको फोयरमा पुग्छौं । होटलको फोयर ज्यादै आकर्षक भएको हुनाको हामी सबैजना एकछिन मन्त्रमुग्ध हुन्छौं । त्यहाँदेखि नजिकै एउटा भट्टिपसल पनि देखापर्छ ।मेरो छोरोको बानि पनि एक प्रकारले अचम्मको नैमान्नु पर्छ । त्यति नजिकै भट्टिपशल देख्ने बितिक्कै उनलाई हरहर बियरको तिर्खा लागिहाल्छ । एकजना बाबु भएको नाताले छोराको इच्छा बिरुध्द के जान सक्थे र ?त्यसैले उनले भने अनुसार हामी भट्टी पसलमा जान्छौं र एक-एकवटा पेय पदार्थ पिउछौं ।

    एकछिनपछि होटलको भित्तामा सजिएको घडिले टिङलिङ्ग गर्दै बेलुकिको समय १० बजेको सूचना दिन्छ । त्यसपछि सुस्तरी हिडेर हामी होटलभित्र रहेको रेष्टुराँ “सेभेइ ग्रिल” भित्र छिर्छौ । रेष्टुराँ आरक्षण गर्दा जतिसुकै बेली बिस्तारा लगाएपनि त्योभन्दा अगाडिको समय हामीले पाउन सकेका थिएनौ । आ... धिलो भएपनि ठीक्कै छ है भनेर उक्त्त समयलाई हामीले स्वीकार गरेका थियौं ।

    सेभोइ ग्रिल विश्व प्रसिध्दस्कटिस भान्से गोर्डन राम्जिको रेष्टुराँ हो । करिव करिव मिलियन स्टरलिङ पाउण्ड खर्च गरेर बनाइएको उक्त रेष्टुराँमा उनले बिफ वेलिङ्टनको अविस्कार नै गरेका हुन् भन्दा पनि खास्सै फरक पर्दैन । अति बिकसित देशका राजा महाराजा, राष्ट्रपति र प्रधानमन्त्रिहरुले ठूल्ठूलो शिखर सम्मेलनहरुमा जिब्रो पटकाइ पटकाइ खाने त्यो गाइको मासुको नाम आर्थर वेलेस्लि (प्रथम ड्युक अफ वेलिङ्टन) को नाममा उनले राखेका हुन् । वेलिङटनले बहुत चर्चित “वाटरलु युध्द” मा नेपोलियन बोनापार्टलाई पराजय मात्र गरेनन् कि आठ आठ पटक युध्दमा घायल भएको नेपोलियनको सबैभन्दा प्यारो वा प्रख्यात घोडा ‘मरेङ्गो’ पनि खोसेर बेलायत ल्याएको थियो । ३८ बर्ष बाँचेको त्यो घोडाको मृत्यु भएपछि अहिले त्यसको अस्थिपञ्जर राष्ट्रिय सैनिक सङ्ग्राहलय लण्डनमा राखिएको छ ।

    यिनै कुरोहरुलाई स्मरण गर्दा म कुनैबेला अलिक अचाहिँदो नै भावुक बन्ने रहेछु । म त्यसबेला पनि थेम्समा बहदै आएको मन्द मन्द हावाको गतिसँगसँगै गोर्डन राम्जिको “बिफ वेलिङ्टन” को स्वाद चाखेको अनुभव सम्झदै बिर्सदै गरिरहेको हुन्छु । र, निरन्तर वाटरलु युध्दको सम्झना गर्दै हामीले पार गर्नै लागेको थेम्स नदीको “वाटरलु साँघु” लाई एकोहोरो हेरिरहेको छु । तर म त्यसरि भावुक बनिरहँदा अचानक ताराले मेरो पछाडिदेखि,-

    “घाम ज्यादै चर्केको छ, केही पिउने कुरो लिएर आउनु न हौ–राजा ?” हुकुम बर्षन्छ ।

    उनले त्यति भनेपछि प्रति उत्तरमा “हुन्छ,” भन्छु र बसिरहेको ठाउँदेखि जुरुक्कै उठेर लुरुलुरु हिडिहाल्छु ।

    त्यहाँदेखि हिड्दैमुनि तलामा झर्छु । र, बारको नजिकै पुग्छु । बारको सिधै अगाडि ४-५ जना मान्छेहरु उभिरहेका देखिन्छन् । म पनि उनीहरुको पछाडि पुगेर लामबध्द हुन्छु । क्रुजभित्रको बारआकारमा अलिक सानो नै छ । सायद सानो ठाउँ भएकोले होला,बारम्यानलाई यता र उता समानहरु खोज्न निक्कै मुस्किल परेको स्पष्ट देख्न सकिन्छ ।

    एकछिनसम्म पेय पदार्थ खरिदकर्ता र बारम्यानको खेल हेरिरहन्छु । मलाई उनीहरु एकआपसमा बोलेको सुन्न रमाइलो लाग्छ । तर अचानक के भयो हो कुन्नि ? मभन्दा अगाडिको एकजना मान्छेलेअगाडि र पछाडिगर्दा एक्कासि मेरो खुट्टा कुल्चिदिन्छ ।

    उनले खुट्टा किल्चिने बितिक्कै, “ऐय्या ! मारिहालिस नि मोरा,” भन्छु ।

    म त्यसरी कराएको सुनेर, “मलाई माफ गर्नुहोस है, मैले त तपाईको खुट्टा देख्दै पो देखिन छु,” उनले भन्छ ।

    उनले त्यति भनिसकेपछि म पहिले उनको अनुहार हेर्छु । त्यसपछि क्रमशः सिरदेखि पाउसम्म नियाल्छु । मभन्दा दुई ज्यान जस्तो ठूलो मान्छे मेरो सामुन्ने देखेपछि, “कुनै सुर्ता गर्न पर्दैन,” भनेर उल्टै शान्त्वना दिन्छु ।

    तर उनको बोल्ने शैली सुनेपछि, “होइन ! तपाई कहाँदेखि पाल्नु भएको हो नि, महाशय ?” भनेर उल्टै सोध्छु ।

    “ब्युनस आइरिस,” छोटकारिमा जबाफ फर्किन्छ ।

    उनले त्यसो भनेपछि म एकपटक खन्द्रङ्ग झस्किन्छु । किनभने कुरो यस्तो थियो । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाको फकल्याण्ड (मालभिना) मा घमसान युध्द भइरहेको थियो । म त्यसबेला गाउँमा आफ्नो छाती, तौल र उचाई नापेर बेलायती गोर्खा सेनामा भर्ति हुन खोजिरहेको थिए । तर गल्लावालले, “अहिले तिमी अलिक कलिलो छौ । यस बर्ष घर फर्केर जाउँ । एक दुई बर्षमा फेरि कोशिस गर है,”भन्यो । त्यतिबेला उनको कुरो सुनेर म सरासर घर फर्के । तर त्यसको दुई बर्षपछि म गोर्खा भर्ति भएको हुँ । त्यतिबेला नै भर्ति भएको हो भने त्यति ठूल्ठूलो मान्छेहरुसँग युध्दमा भिडनु पर्ने रहेछ भनेर एकछिन थरङ्गै भएँ ।

    उनले आफ्नो पालो आएपछिकेही पेय पदार्थहरु खरिद गरे र आफ्नो बाटो तताइ हाले । त्यसपछि भट्टिपशलमा मेरो पालो आउँछ ।

    “हजुर ! बियरको दाम कति होला ?” सानो स्वरमा बारम्यानलाई सोध्छु ।

    “पाँच पाउण्ड,” छोटो जबाफ फर्कन्छ । उनको भनाई सुनेपछि जाबो त्यति सानो बोतललाई पनि त्यति महङ्गो मनमनै भन्छु र एकचोटी टाउको छाम्छु ।

    “पानीलाई चाहिँ कति नि ?” नरम भएर सोध्छु ।

    “पाँचै पाउण्ड तर दुई बोतल आउछ,” भन्छ ।

    “अनि किन दुई बोतल चाहिँ ?” फेरी सोध्छु ।

    “खुद्रा छैन् र हो,” खितिति हास्दै जबाफ फर्काउछ ।

    “गर्मी पनि अचाक्ली नै छ । थेम्सनदीमा जाबो पानी त सितैमा दिए पनि हुने हौ ?’ भन्छु ।

    “म पनित्यहिँ चाहन्छु,” बारम्यानले भन्छ ।

    “ल ल भैगो ! दुई बोतल पानी नै दिनुहोस्,” भन्छु ।

    त्यसपछि दुईहातमा एक एकवटा पानीको बोतल बोक्छु र सुइसुइ तलामाथि चढ्छु । जब ताराको नजिकै पुग्छु । जोनले समरसेट हाउसको बिषयमा बयान गरिरहेको कथा सुन्न थाल्छु ।

    वास्तवमा आजभन्दा २ सय ४७ बर्ष अगाडि निर्माण भएको समरसेट हाउसएकदम भव्य दरवार हो । जहाँ बेलायतको हिरा, मोती, मणि र जुहारतहरु राखिएका छन् । अझै यसलाई पश्चिमी कलाको त केन्द्र बिन्दु नै मान्नु पर्छ । किनभने यहाँ भ्यानगग, मोने रडेगासका कलाहरु मज्जाले सजाएर राखिएका छन् । लण्डनको मुटु मानिने स्थान स्ट्रान्डमा रहेको यो “नियो क्लासिक घर” को डिजाइन चाहिँ सर विलियम च्याम्बरले गरेका हुन् । अनि ड्युक अफ समरसेटको नाममा रहन गएको “समरसेट हाउस – लण्डन”म पहिले नै पुगिसकेको थिएँ ।

    करिव ९० लाख जनसख्यां रहेको लण्डनमा भएका अनगन्ती गगनचुम्वी महलहरु पार गर्दै क्रुज ब्लाकफ्रिएज साघुँ पुग्नै लागेको छ । ठीक त्यहिँबेला, -

    “ल ! हाम्रो ठीक बायाँ पट्टि रहेको घरलाई एकझलक नजर लगाउनोस है,” भनेर जोनले एकपटक जोड दिएर भन्छ ।उनको कुरो सुन्ने बितिक्कै हामी सबैजना आ-आफ्ना मुन्टो त्यता फर्काइ हाल्छौं ।

    “म तपाईहरुलाई यसपटक एउटा यस्तो घर देखाउन गइरहेको छ । जस्लाई पवित्र मन्दिर (टेम्पल वा इनर टेम्पल) भनेर चिन्ने गरिन्छ । जहाँ अङ्ग्रेजी कानूनका बिज्ञ ब्यारिस्टरहरुले आफ्नो तालिम गर्ने गर्छन् ।”

    जोनले टेम्पलको बारेमा त्यति मात्र भनेर बिसाए । खै किन हो कुन्नि ? उनी त्यसको बारेका त्यति धेरै बोल्न चाहेनन् । मेरो मनभित्र लाग्छ । सायद ऊँ बेलायती कानूनप्रति बेखुसि हुनसक्छ ?हुन पनि कुरो ठीक्कै हो । यहाँ जता फर्के पनि कानून र नियमसँग मात्र जम्काभेट हुन्छ । जस्लेगर्दा उनी नबोलेको पनि हुनसक्छ । तर कस्लाई के पत्तो ? वा त्यस सम्बन्धि गहन अध्यान नभएर पनि हो कि ?

    जोनले टेम्पलको बिषयमा केहि कुरो नभनेपनि खाट्टी कुरो चाहिँ यस्तो छ । बेलायतमा साधरणतय कानून सम्बन्धि पेशा गर्ने मानिसहरु वा कानूनविज्ञहरु जम्मा दुई प्रकारका हुन्छन् - सोलिसिटर र ब्यारिस्टर । सोलिसिटरले कागजपत्र मिलाउने काम गर्छन भने ब्यारिस्टरले अदालतमा बहस गर्ने काम गर्दछन । इङ्गल्याण्ड र वेल्समा गरेर ब्यारिस्टरहरुको सख्यां लगभग १७ हजार र सोलिसिटरहरु झण्डै १ लाख ५५ हजारको हाराहारीमा रहेका छन् । तर स्कटल्याण्डमा भने यहाँकोभन्दा बिलकुल फरक कानूनछ ।

    वास्तवमा अङ्ग्रेजी इतिहासले के बताउछ भने लगभग एघारौ शताब्दीतिर जेरुसेलममा रहेको मन्दिर पहाड (टेम्पल माउन्ट) जस्तै एउटा मन्दिरहोस भनेर यहाँ पनि एउटा मन्दिर खडा गरिएको थियो । जुन मन्दिरलाई होलबर्न, लण्डनदेखि ल्याएर थेम्स नदीको किनारमा यहिँ राखिएको हो । समय क्रममा लण्डनमा ठूलो कृषि क्रान्ति भयो । जुन क्रन्तिले लण्डनको धेरै घरहरु जलेर खरानीमा परिणत भयो । त्यसले टेम्पलको केहि घरहरु पनि नष्ट भएका थिए । कालान्तरमा त्यहाँ क्रमशः नयाँनयाँ घरहरु थपिदै गए र अहिले टेम्पलमा ४४ वटा घरहरु रहेका छन् ।

    मैले यहाँ टेम्पलको कुरो गरिरहँदा कुलिन परिवारमा जन्मेका तर जसरि पनि छुटाउनै नमिल्नेएकजना मानिसको नामविलियम मार्शल (प्रथम अर्ल अफ पेमब्रोक) हुन् ।बेलायती इतिहासमा उनको नाम सुनौला अक्षरले लेखिएको छ । सम्भवत उनी तत्कालिन राजपरिवारको सबैभन्दा बढि पृय तथा इमान्दार सल्लाहकारअथवा महान शुरबिर (नाइट) पनि हुन्। यस धर्तिमा ७२ बर्षसम्म जिबित रहेका मार्शलले ५ जना अङ्ग्रेजी राजाहरु हेनरी दोश्रो, युवा हेनरी, रिचार्ड प्रथम, जोन र हेनरी तेश्रोको सेवा मात्र गरेनन् । उनीहरुको अति नजिकका विश्वासको पात्र पनि भएका थिए ।

    विलियमलेआफ्नो जिन्दगीमा राष्ट्रको लागियुध्दमा होस् वा शान्तीको समयमा धेरैधेरै राम्रा कामहरु गरेका उदाहरणहरु प्रशस्त छन् । त्यसमध्ये सबैभन्दा राम्रो काम तके गरे भने राजा जोन र ब्यारोनहरु बिच भइरहेको नागरिक युध्द समाप्त गरेर मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै म्याग्नाकार्टा (द ग्रेट चाटर्ड) लेखेका छन् । हुनत म्याग्नाकार्टा ल्याटिन भाषामा लेखिएको भएतापनि अहिलेसम्म पश्चिमी इतिहासको सबैभन्दा महत्वपूर्ण दस्तावेज वा अभिलेख मानिन्छ ।

    म्याग्नाकार्टामा मुख्यतःतीनवटा कुरोहरुलाई बिशेष प्राथमिक्त्ता दिइएको छ । पहिलो कुरो राजा कुनै पनि हालतमा कानूनभन्दा माथि हुनुहुदैन । दोश्रो सबै स्वतन्त्र पुरुषहरुलाई निष्पक्ष न्यायको अधिकार हुनेछ र तेश्रो सबै नागरिकहरुले सम्पतिको स्वमित्व ग्रहण गर्न पाउनेछन् ।

    वास्तवमा निरङ्कुश राजा जोनले आफ्नो अधिकार नष्ट गरेर अन्य साधरण जनताले जस्तै कानून मान्नु पर्ने म्याग्नाकार्टाहरु कति वटामा सहिछाप गरे त्यो तम यहाँ ठेक्कै भन्न सक्त्तिन । किनभने पहिलो म्याग्नाकार्टा १५ जुन १२१५ मा जारि गरिएको थियो । त्यसपछि क्रमशः १२१६, १७ र २५ मा पटक पटकत्यसको हेरफेर गरिएका छन् ।

    आखिर जे सुकै भएतापनि तत्कालिन समयमा लेखिएका ४ वटा सक्कलि म्याग्नाकार्टाका पानाहरु अध्यावधि बाँकी नै रहेका छ्न । जसमध्ये दुईवटाबेलायती सङ्ग्राहलय लण्डनमा रहेका छन् तर दुर्भाग्यबस सन् १७३१ को भिषण आगलागिले एउटा म्याग्नाकार्टाको आँधाभाग जलेर नस्ट भइसकेको छ । अन्य दुईवटा मध्ये एउटा सल्सबरी क्याथेड्रल र अर्को लिङ्कन क्याश्चलमा अवस्थित छन् ।

    हुनत बेलायतीहरु पैसालाई छैटौं इन्द्रिय झैं मान्ने गर्दछन । हुन पनि हो, आखिर पैसा बिना यहाँ केहि चल्ने वाला देखिदैन् । यदि एउटा म्याग्नाकार्टालाई अहिलेको भाउमा बेच्ने हो भने त्यसको दाम लगभग २० मिलियन पाउण्ड हुन आउछ । तैपनि निरङ्कुश राजाबाट सार्बभौम अधिकार खोसेर जनताले लिएको यो नै सँसारको सबैभन्दा पहिलो अधिकारमान्ने गरिन्छ । जस्ले गर्दा यसको दामभन्दा पनि इङ्गल्याण्डलाई प्रजातन्त्रको जननी भनेर अहिलेसम्म चिनिन्छ ।

    अङ्ग्रेजी नागरिक युध्द सकेर म्याग्नाकार्टाको लागि मध्यस्तकर्ताकोभूमिका निर्वाह गर्ने वहुचर्चित व्यक्त्ति विलियम मार्शलको १४ मे १२१९ मा मृत्यु भए पश्चात् उनको समाधिस्थल यिनै टेम्पलकोगिर्जाघरमा सुरक्षित तवरले राखिएको छ ।

    पहिलेपहिले तिर्थयात्रीहरुको सुरक्षाको लागि सुरु भएको (नाइट्स टेम्पलर)हजारौ बर्षको इतिहासमा कानुन व्यावशायीहरुको पेशामूलक व्यावशायिक सङ्गठनमा परिणत हुँदै आएको छ । यो यिनै थलो हो, जहाँ संसदले बनाएको लिखित कानूनको सट्टामा अदालतको निर्णयमा आधारित कानूनहरुको प्रणाली (कमन ल) जन्मेको थियो । समय खारिदै जाँदा टेम्पललाई अहिले इन्स कोर्टपनि भन्ने गरिन्छ । जस्लाई ४ भागमा बिभाजन गरिएका छन् - ग्रेज इन, लिङ्कन इन, इनर टेम्पल र मिडल टेम्पल ।

    आजभोलि टेम्पलमा लगभग २ हजार जति ब्यारिस्टरहरुले काम गर्ने गर्दछन । तैपनि १२ हजार जति ब्यारिस्टर र न्यायधिसहरु यसका सदश्य रहेका छन् । इङ्गल्याण्ड र वेल्समा ब्यारिस्टर काम गर्न चाहने हरेक इच्छुक व्यक्तिले यहिँ ब्यारिस्टर तालिम लिनु पर्दछ । अ...यो लेख लैख्दै गर्दा यहाँहरुलाई के कुरोको पनिजानकारी गराउ भनेदक्षिण एशियाका चर्चित नेताहरुमध्ये गान्धी, नेहरु, अलि खान, अबदुलरहमान र भन्डारानाइकेहरुले पनि यहिँ ब्यारिस्टरका तालिम लिएका थिए ।

    वास्तवमा यात्रा यात्रा नै हो । र, यो कुनै कुनैबेला ज्यादै मनोरन्जनात्मक पनि हुने गर्छ । खै किन हो किन ? अझै जलयात्रा भनेपछि म हुरुक्कै हुने गर्छु । हुनत जुनसुकै क्रुजको यात्रामा निस्केपनि तारासँग हामी क्रुजको सबैभन्दा माथिलो तलामा पुग्छौं । अनि एउटा कुनामा थपक्कै बसेर त्यहिँदेखि रमाइला ठाउँहरुकोदृश्यवलोकन गर्न थाल्छौं । यदि मैले यहाँ सरम नमानि बताउने हो भने आज हुँदै गरेको यो हाम्रो यात्रालाई पनि मिनी थेम्स क्रुज यात्रा नै भन्दा पनि खास्सै फरक पर्दैन् ।

    थेम्स नदीमा अविरल बहिरहेको पानीमा देखिएका आफ्नो छायाँलाई पटकपटक नजर लगाउँदै हाम्रो समय आफ्नै गतिमा बहिरहेको छ । हामीले यात्रा गरिरहेको क्रुजभन्दा अलिक स-साना तर झन वेगमा चल्ने इन्जिन डुङ्गाहरु हाम्रा दायाँ र बायाँ स्याउँस्याउँती देखा परिरहन्छन् । तिनैले निकालेको पानीको छालहरु छिचोल्दै अगाडि बढ्दा हामीलाई खुबै रमाइलो लागिरहेको छ ।

    हामी त्यसरि पानीमा बहेर निक्कै अगाडिपुगेपछि, “ल बायाँ दिशातर्फ हेर्नुहोस्,” फेरि जोनको मुख खोलिन्छ ।

    इन्जिन डुङ्गाहरुले देखाएका चमत्कारपूर्ण खेलहरुको जतिसुकै रमिता हेर्दा पनि नथाक्ने नयनहरु जोनले भन्ने बितिक्कै मिलिकको भरमा बायाँ फर्किहाल्छ । त्यसबेला हाम्रो ठीक बायाँ दिशामा मध्यान्हको सूर्यले टलक्कै टल्किरहेको सेन्ट पौलक्याथेड्रलको गुम्बज देखा पर्छ ।

    “यो गिर्जाघर बेलायतमा रहेको गिर्जाघरहरुको आमा गिर्जाघर (मदर चर्च) हो,” त्यति भनि सकेर उनी एकछिन रोकिन्छ । अनी उनी एकछिन रोकिएपछि म उनको जिउडाललाई राम्ररि अवलोकन गर्छु । उनको जिउहेर्दा मलाई त्यतिबेला काउलुनदेखि उता पारी हङकङ टापुमा घुम्न जाँदा देखिएका दशहजार बुध्दको प्रतिमामध्ये ड्याम्मै भुँडी पल्टाएर मज्जाले बसिरहने ‘सिटिङ बुध्द’झैं लाग्छ ।

    त्यसपछी, “यसको निर्माण सन् १६७५ देखि सुरु गरेर लगभग ३५ बर्षपछि सन् १७१० मा सकिएको थियो । यो गिर्जाघर अङ्ग्रेजी आर्किटेकहरुको गुरु आर्किटेक सर क्रिष्टोफर रेनको उत्कृष्ट नमुना (मास्टर पिस) हो । उनले यो डिजाइन गर्दा पुरानो सेन्ट पौल भएको स्थानमा नैगरेका थिए ।पुरानो सेन्ट पौल क्याथेड्रल सन् १६६६ को भिषण आगलागिले नष्ट भएको थियो,”त्यति भन्छन् ।

    वास्तवमा इतिहास पनि इतिहास नै हुने रहेछ । लण्डनमा हरेक कुरोको सुनौलो इतिहास छ भनेर मनमनै सोच्छु । उनले त्यति भनि सकेर आफ्नो साथैमा बोकिरहेको पानीको बोतल खोलेर एक घुटकि पानी पिउँछ । त्यसपछि म मेरो ध्यान केन्द्रित गर्छु र म सेन्ट पौलको गुम्बजलाई निक्कैबेर हेरिरहन्छु । मैले मेरोजिन्दगी जिउने क्रममा यस्तो गुम्वजहरु लिभरपुलदेखि ताजमहलसम्म पुग्दा बाटोमापर्ने रोम, इस्तानबुल र आबुधावीमा निक्कै पटकदेखेको स्मरण गर्छु ।

    यो लण्डनको एउटा मूख्य ऐतिहासिक स्थान हो भनेर म एकचोटी त्यहाँ पुगेको थिएँ । नभन्दै यसको नजिकदेखि एकदम गहिरिएर अध्यान गर्ने हो भने रोमको सेन्ट पिटर्सभन्दा सेन्ट पौल अलिकति मात्र सानो रहेको छ । यसको उचाई ३ सय ६५ फिट अग्लो छ । तैपनि लण्डनमा यसको निर्माण भएपछि योभन्दा अग्लो घर बनाउन प्रतिबन्ध लागेको थियो जसले गर्दा यसले २ सय ५० बर्षसम्म यसले सबैभन्दा अग्लो घर बनेर एकक्षत्र शासन गरेको थियो । 

    २९ जुलाई १९८१ को दिन विश्वका अधिकतम राष्ट्राध्यक्षहरुको अगाडि अहिलेको राजा चार्ल्स तेश्रो अथवा तत्कालिन राजकुमार र राजकुमारी डायनाको बिच धुमधामसँग यिनै गिर्जाघरमा विवाहसु-सम्पन्न भएको थियो । त्यो बाहेक अनेकन ठूल्ठूला उत्सवहरु ब्यवस्थित गरेको यस गिर्जाघरले राष्ट्रिय नायक वा नायिकाहरु जस्तैः- होरासियो नेल्सन, आर्थर वेलेस्ली (वेलिङ्टन), विन्स्टन चर्चिल र मार्गरेट थेचरको मृत्यु हुँदाराजकिय अन्तेष्टी पनि यहिँ गरिएको थियो ।

    तिनै लण्डनको ऐतिहासिक गिर्जाघरदेखि बिदावारी लिएर हिडेका मेरा नयनहरु पुनः थेम्सको पानीसँग मितेरि लगाउदै लगाउदै बटुवाहरुमात्र हिड्न मिल्ने साघुँको मुनि पुग्छ । अथवा सेन्ट पौलदेखि निस्केर चालिएका कदमहरु गन्दै त्यहाँ जाने हो भने लगभग हजार पाईलाभन्दा अगाडि नै त्यो साघुँमा पुगिन्छ ।

    हामी त्यहाँ पुग्ने बितिक्कै, -

    “हाम्रो टाउकोमा रहेको साघुँ स्रहशाब्दी (मिलेनियम) साघुँ हो,” अहिलेसम्म चिरपरिचित भइसकेको जोनको आवाज पुनः सुन्न सकिन्छ ।

    मिलेनियम भन्ने बितिक्कै यस्को निर्माण सोहि समय सन् २००० मा भएकोहो है भनेर जो कोहिले सहजै अनुमान लगाउन सक्छन् । यो साघुँले नदीपारि रहेको टेट्स ग्यालरी र नदीवारीको सेन्ट पौल जाने आउने बटुवाहरुलाई जोड्ने काम गर्छ । यस्को निर्माण सन् १९९८ देखि सुरु गरेर त्यसको ठीक दुई बर्षपछि १० जुन २००० मा उद्घाटन गरिएको थियो । त्यसदिन साघुँको उद्घाटन चाहिँ भयो तर अफसोच साँघुमा मानिसहरु पस्ने बितिक्कै लकपके पिङ जस्तो दायाँ बायाँ हल्लिएर खप्पि सक्नु भएन । नयाँ बनेको साघुँ त्यसरी हल्लिएपछि सुरक्षाको दृष्टीकोणले त्यसदिन मानिसहरु हिड्नको लागि निषेध गरिएको थियो ।

    त्यसको भोलिपल्टदेखि थोरै थोरै मानिसहरुलाई साघुँ तर्न दिइएको त थियो । तर लण्डनमा बनेको नयाँ साघुँले झनसहरको ठूलो बेइज्जत गर्यो । त्यसैले दुई दिनपछि साघुँलाई पूर्णकालिन बन्द गरियो र फेरि पुरै मर्मत गरेर त्यसको दुई बर्षपछि सन् २००२ मा पुनः सन्चालनमा ल्याइएको हो । ३ सय २५ मिटर लामो र ४ मिटर चौडा भएको अनि आल्मिनियमद्वारा निर्माण भएको उक्त्त साघुँमा एक पटकमा ५ हजार मानिसहरु हिड्न सक्ने क्षमता छ । तैपनि साघुँउदघाटनको बेला धेरै हल्लिएको हुनाले उक्त्त साँघुलाई लण्डनरहरुले लकपके साघुँ (वोब्ली ब्रिज) भनेर अहिलेसम्म भन्ने गरेका छन् ।

    तिनै लकपके साघुँ छिरेर जादै गर्दा जोनले साघुँमाथि देखा परेका तरुनी तन्नेरीहरुलाई एकचोटी हात उठाई दिनु है भन्छ । हामी सबैले हात उठाएर उनिहरुसँग बिदाइ हुन्छौ ।

    विश्वको अन्य प्रतिष्ठित सहरहरुको तुलनामा थेम्स नदीको पानी निक्कै स्वच्छ रहेको छ । तर सयकडौ बर्ष अगाडि यो नदी लण्डनको ठूलो फोहोर पानी बग्ने ढल जस्तै थियो । अहिले यहाँको पानी सफा भएको हुनाले नदीमा १ सय २५ प्रकारका माछाहरु पाउन सकिन्छ । मलाई यतिबेला झलझली याद आइरहेको छ । केहिबर्ष अगाडि मात्रको कुरो हो । यहाँ एउटा बेलुगा ह्वेलपनि देखा परेको थियो । उत्तरी सागरदेखि बाटो बिराएर अङ्ग्रेजी जलसंयोजन हुँदै अरु कैयन ह्वेलहरु पनि समय समयमा यहाँ आउने गरेका छन् ।

    नदीको नै कुरो गर्दा सन् १३०९ देखि रेकर्ड गर्न सुरु गरेपछि अहिलेसम्म थेम्स जम्माजम्मि २४ पटक जमेर बरफमा परिणत भैसकेको छ । तर अन्य समयको तुलनामा सन् १६८३ मा चाहिँ नदीमा विराट् ठन्डा (ग्रेट फ्रोस्ट) भएको थियो । त्यसबेला नदी पुरापुरि २ महिना जमेर बरफ बनेको थियो । त्यो समय नै थेम्सको इतिहासमा सबैभन्दा लामो समयसम्म नदी जमेको थियो है भनेर नयाँ कीर्तिमान कायम भएको थियो । त्यति लामो समयसम्म नदी जमेपछि नदीमाथि ठूलो मेला पनि लागेको लण्डनको इतिहास छ ।

    हामी यसबेला अति आनन्दित हुँदै क्रमशः क्रुजदेखि अगाडि बढिरहेको छौं । नदीले साउथवाक साघुँ पार गरेपछि हाम्रो अनुहारमा लण्डनको सबैभन्दा अग्लो घर ‘सार्ड - लण्डन’ झलक्क झुल्किदिन्छ ।

    “यो ७२ तले गगनचुम्वी महलको डिजाइन इटालियन आर्किटेक रेन्जो पियानोले गरेका हुन् र यो साउथवाक लण्डनमा अवस्थित छ । यसको निर्माण भइसकेपछि यो बेलायतको सबैभन्दा अग्लो घरमात्र नभएर यूरोपको सातौं अग्लो घर हुन पुगेको छ । यसको निर्माण सन् २००९ देखि आरम्भ भएर सन् २०१२ मा मात्र सकिएको थियो । लगभग आँधा बिलियन पाउण्ड खर्च गरेर बनाइएको यो बिल्डिङमा ९५ प्रतिशत लगानी कतारी सरकारको छ,” त्यति भनेपछि जोन एकछिन रोकिन्छ ।

    त्यसपछि उनले, “कतार भन्ने देशले हामीलाई गर्नै गरेको छ । हुनत यस घरकोमात्र के कुरो गर्ने र ? हाम्रो हातमा आइसकेको विश्व कप पनि उनीहरुले नै खोसे । म्यानचेस्टर फुटबल क्लब पनि खोस्यो र लण्डनको अधिकांश घरहरु पनि अहिले उनीहरुको अधिनमा रहेका छन्,” भन्दा यात्रृहरु गलल हास्छन् ।

    अ... मेरो गोजि दर्हो भएको समयमा म तिनै सार्डको तलामाथि आक्कल झुक्कल उक्लने गर्छु । किनभने त्यस घरको ३३औं तलामा ‘हुटुङ’ भन्ने चिनिया रेष्टुराँ छ । हुटुङ भन्नाले बेइजिङको घना बस्तिहरुमा भेटिने स-साना गल्लीहरु बुझिन्छ । तिनै रेष्टुराँमाबसेर भिन्टेज डोम पेरिगननको साथमा बेइजिङ डकको स्वाद लिदै सहरको सुन्दर दृश्य अवलोकन गर्न मिल्छ । 

    तिनै सार्ड महलको रमणिय दृश्यसँगसँगै हामी अति चर्चित लण्डन साघुँ (लण्डन ब्रिज) मा आइपुग्छौं । तर त्यहाँ पुग्दा हाम्रो ठीक दाहिनेतिर रहेको अति पुरानो मात्र नभएर एउटा ऐतिहासिक लण्डनको भट्टिपशल ‘ओल्ड थेमसाइड इन’ लाई एकझलक हेर्न भनेर जोनले अनुरोध गर्छन् । उनको अनुरोधलाई सहर्ष स्वीकार गर्दै हामी त्यतातिर नजर डुलाउछौं । अहिले लण्डनमा जुलाई महिनाको पारिलो घाम छ । अनि त्यति राम्रो मौसमको सुनौलो फाइदा उठाउँदै सयकडौं मानिसहरु भट्टिपसलको ठीक बाहिरपट्टिमज्जाले बसेर सप्ताहन्तको दिन बियर पिइरहेको रमाइलो दृश्यवलोकन गर्न मिल्छ ।

    हो, उनीहरुलाई देख्दा मलाई यदाकदायस्तो लाग्ने गर्छ । यी लण्डनरहरु कति खुसियालीसाथ आफ्नो जिन्दगी जिइरहेका छन् । वास्तवमा यस धर्तीमा रहेका हरेक मानवहरुको जिन्दगी यस्तै प्रकारले बित्नु पर्ने हो तर यथार्थतामा त्यस्तो छैन् । बिलकुल फरक फरक छन् । यस्ले मलाई प्रतिविम्वको प्रभाव पार्छ । त्यहाँदेखि मेरो मन भुरुरु उडेर ४ हजार ६ सय माईल टाढा बुईपा-खोटाङ्मा पुग्छ । बुईपामा अहिले महाबर्खाको समय छ । उनीहरु मानो रोपेर मुरी फलाउने समय हो भनेर अहिले खेतका हिलोमा गोरुहरुसँगसँगै आफै जोतिएका छन् । जमिनमा बिहानी पखको झिसमिसे उज्यालो खसेदेखि बेलुकीपख झिसमिसे अँध्यारो भइन्जेलसम्मउनीहरु काममा खट्छन् । कति मेहनत र कठिन परिश्रम गर्छन् । तैपनि त्यहाँ जीवन जिउन कति गार्हो छ ।

    बुईपा र लण्डनका मानिसहरुले बिताइरहेको जीवनको तुलना गर्दा गर्दै क्रुज लण्डन साघुँ मुनि सुस्तरि बहिरहेको हुन्छ । 

    त्यहाँ पुग्ने बितिक्कै, “थेम्स नदीको दुवैतर्फका मानिसहरुको सम्बन्ध गास्ने सबैभन्दा पहिलो साघुँ यो नै हो । अथवा यसलाई लण्डन ब्रिज भनिन्छ,” जोनले घोग्रो फुलाइ फुलाइ बोल्छ । त्यति बोलिसकेपछि ऊँ गोजिदेखि आफ्नो मोबाइल निकाल्छ र खै के के गर्न थाल्छ कुन्नि ? त्यसपछी म उनलाई हेर्न छाडिदिन्छु ।

    यतिकैमा मुनि तला बारदेखि हातमा एक गिलास सेतो वाइन लिएर एकजना महिलाटकटक हिल पटकाउदै मेरो नजिक आउछिन् र उनी मेरो नजिक आइपुग्ने बितिक्कै,-

    “मलाई माफ गर्नुहोला ? के म तपाई नजिकै खाली रहेको कुर्सिमा बस्नु सक्छु ?” आदरपूर्वक सोध्छिन् ।

    “कुनै आपति छैन । बरु धन्दा नमानि आरामले बस्नु भए हुन्छ,” इच्छा बिपरित त्यसो भन्छु ।

    मेरो कुरो सुनेर उनी पहिले एकचरण फिस्स हास्छिन् । त्यसपछि “धन्यबाद” भन्छिन ।

    तर एकमनले उनी मेरो नजिक आएपछि मलाई राम्रै भयो जस्तो लाग्छ । अब मान्छे र प्राणीको जात एउटै त हो, भन्छु । किनभने बिपरित लिङ्गप्रति एकअर्कामा त्यसै आकर्षित भै हालिन्छ भनें । तरत्यहाँ त्यस्तो भएन, ठीक उल्टो भयो । उनी कुर्सीमा बस्ने बितिक्कै मेरो नाकको डाँडी भाँचिने गरेर आएको अत्तरको बासनाले मलाई थोरै असहज उत्पन्न बनाइ दियो ।जे होस ठीक्कै छ सहनु पर्यो मनमनै भन्छु । एकछिनपछि अत्तरको बासनालाई म तिलान्जलि दिन्छु र उनीसँग छोटो परिचय गर्न सुरु गर्छु । त्यसपछि ती मैया ग्लास्को, स्कटल्याण्डदेखि यहाँ झरेकी रहेछिन्भनेर मैले चाल पाउछु ।

    हाम्रो संक्षिप्त परिचय भैसकेपछि म उनलाई मज्जाले नियाल्न थाल्छु । त्यसैत अहिले लण्डनमा गृष्मकालिन मौसम छ । जस्ले गर्दा उनले पयरमा पातलो फ्यासफ्यास्से एकजोर चप्पल उनेकी छिन् ।यसो हेर्दा चप्पल त्यति महङ्गो होइन होला भन्ने मलाई लाग्छ । उनले घुँडादेखि निक्कै माथिसम्म सेता तिघ्राहरुदेखिने टार्टनको स्कर्ट पहिरेकी छिन् । ती सेता सेता तिघ्राहरुले मलाई कस्तो कस्तो अनुभूति हुन्छ । टार्टनको रङ्गबिलकुल निलो छ तर मसिना मसिना राता धर्साहरुले कोठाकोठा छुट्याइएको त्यहाँ स्पष्ट देख्न सकिन्छ । उनले शरिरको माथिलो भागमा एउटा पातलो सेतो सर्ट पनि पहिरन गरेकी छे ।तैपनि सर्ट यति पातलो छ कि त्योभन्दा भित्रको भित्रिया बस्त्र पनि म छ्याङ्छुङ देख्न सक्छु ।

    उनको पहिरणलाई एकचरण नियाली सकेपछि यो कलियुग हो कलियुग मनमनै भन्छु । हुनत यसबेला म अन्त कतै नभएर आफ्नै श्रीमतीसँगसँगै एकातिर गज्जबले टाँसिएर बसिरहेको छु । तर भर्खरै परिचित भएकी एकजना गोरी युवती मेरो ठीक बायाँतिर आएरबसिरहेकी हुनाले र उनको नाङ्गैभुङ्गै फिलाहरुले मलाई यदाकदा अफ्ठ्यारो महसुस भैरहेको हुन्छ । अब त्यस्तो अफ्ठ्यारो परिस्थितिमा एकछिन आँखा दायाँबायाँ नहेरि सिधा हेरेर बस्नु पर्यो भन्छु । र, त्यसो गर्न थाल्छु । तर मनमनै सोच्छु । कुनैकुनै बेला अचानक यस्तो स्थितिपनि आइपर्छ । अनि के के कुराको सामना गर्नु पर्ने होला भनेर थैया मेरो जिन्दगी भन्छु ।तर सिटिङ् बुध्दको मुर्ति जस्तै त्यति धेरै लामो चाहिँ बस्न सक्त्तिन । बरु टाउको सुस्तरि घुमाउछु र भयभित मुद्रामा भएपनि गोरीलाई सुस्तरि चिहाउन थाल्छु ।

    यतिबेला उनी मेरो आँखाको ठीक सामुआनन्दले बसिरहेकी छिन् । मैले उनलाई हेर्दा, उनले पनि मलाई एकझलक नजर मार्छिन र सिरिप्पै एकचोटी वाइन पिउछिन् । आ....अब यहिँ हो मौका भन्छुर मौकाको फाइदा उठाउदै थोरै बोल्ने प्रयत्न गर्छु ।

    “अनि लण्डन कहिले झर्नु भएको हो नि ?” 

    “हिजो बेलुकि झरेकी हुँ ।”

    “यहाँ कति बस्नु हुन्छ ?”

    “सप्ताहन्त मनाउनको लागिमात्र झरेकी हुँ, दुई दिन बस्छु र फिरिहाल्छु ।”

    “ए ! हजुर, हजुर,” भन्छु ।

    “मलाई लण्डन असाध्यै मन पर्छ । त्यसैले हरेक बर्ष यहाँ झर्ने गर्छु । अझै मलाईलण्डनको इतिहासज्यादै मनपर्छ । किनभने त्यस बिषयमा मैले गहन अध्यान गरेकी छु,” उनी भन्छिन् । उनले लण्डनको बिषयमा गहन अध्यान गरेकी छु भनेपछि मलाई चिलाएको ठाउँमा कन्याएको जस्तो हुन्छ । त्यति राम्रो अवसरको फाइदा उठाउदै,-

    “ए हो र ? उसो भए हामी अहिले लण्डन ब्रिजको मुनी क्रुजिङ गरिरहेको छौं । यसको बिषयमा अलिकति बताइ दिनुहोस न त ?” बिनम्रतापूर्वक सोध्छु ।

    एकदम पातली तर आकर्षक जिउकी धनी स्कटिस मैयालेमेरो कुरो सुनेर खुसि हुँदै फुर्तिको साथ एक हातमा वाइन र अर्को हातले साघुँतिर देखाउदै,-

    “वास्तवमा हामी जहाँ बहिरहेका छौं ।यहाँ ४७ एडिमा रोमनहरुले एउटा काठे साघुँको निर्माण गरेका थिए । अहिलेको लण्डनलाई तिनताका लण्डनियम भनिन्थ्यो । यी हेर्नुहोस त - नदी किनारका कतिपय पर्खालहरु उनीहरुले नै बनाएका हुन् । तर दुर्भाग्यबस ४०० एडितिर उनीहरुले लण्डनलाई सधैँका लागि छाडेर गए । त्यसपछि यहाँ सेक्सनहरुको उदय भयो । उनीहरु यहाँ त्यति लामो समयसम्म टिक्न सकेनन् । सेक्सनहरुपछि भाइकिङहरुले निक्कै लामो समयसम्म लण्डनमा एकक्षत्र राज गरेका थिए । उनीहरुले नै थेम्स नदीमा सबैभन्दा पहिले काठे साघुँलाई परिवर्तन गरेर सन् १२०९ मा ढुङ्गे साघुँको निर्माण गरेका हुन्,”भनेर उनले बताइन ।

    त्यसपछि उनी केहीबेर रोकिन्छिन् ।

    “एकछिन है । मलाई लाग्छ - सन् १९७३ तिरको कुरो हो क्यारे । यहाँको पुरानो पुल भत्काएर नयाँ लण्डन ब्रिजहरु बनाइएका छन् । त्यसैले यहाँ एउटा मटर गुड्ने र र अर्को रेल गुड्ने दुईवटा लण्डन साघुँहरु छन् । यी साघुँहरु एकअर्कामा लगभग ५० मिटर जति फरकरहेका छन् । मटर दगुर्ने साघुँको लम्बाई २ सय ६९ मिटर र चौडाइ ३२ मिटरको छ । अझै लण्डन ब्रिजको सबैभन्दा रमाइलो पक्षचाहिँ ‍के छ भने यी दुई साघुँको बिचभागमा तिनै मध्यकालिन समयमा बनेको साघुँको खम्बाहरु अझैसम्म सुरक्षित गरेर राखिएका छन् । लण्डनमा आगोलाग्दा त्यो साघुँको धेरैजसो भाग जलेर खरानी भएको थियो । यसको बिषयमा बेलायती प्राथमिक पाठशालामा हरेक नानीहरुले गाउने बाल गित लण्डन ब्रिज इज फलिङ् डाउन अहिलेसम्म ज्यादै प्रख्यात रहेको छ ।”

    लगभग दुईहजार बर्षको इतिहासलाई उनले एक्कै सासमा सिध्याएपछि हृदयदेखि नै धन्यबाद भन्छु । हाते घडिको काँटा आफ्नै गतिमा घुमिरहेकै हुन्छ । क्रुजले क्रमशः आफ्नो गति लिइरहेकै छ । उनी बोल्न छाडेपछि हामी बसिरहेको सिरान तला एकछिनकोलाहलमय बन्छ । तर त्यस्तो वातावरणलाई चिर्दै ध्वनि प्रशारण यन्त्रदेखि जोनको मधुरो आवाज पुनः आउन थाल्छ ।

    “ल हाम्रो देब्रेतिर हेर्नुहोस त ? सिधै अगाडि देखिएको त्यो अडभङ्गे घरलाई पहिले युनिक स्काइस्क्रेपर भनिन्थ्यो । अहिले यसको नाम परिवर्तन भएरवाकिटकि घर भएको छ । किनभने यसको आकार प्रहरीहरुले प्रयोग गर्ने रेडियो वाकिटकि जस्तै देखिन्छ। लण्डनको हरेक स्थानदेखि देख्न सकिने उक्त्त ३८ तले गगनचुम्वि घर२० फेनचर्च सडकमा अवस्थित रहेको छ । यस्को निर्माण हुन अगाडि घरको उँचाइ र आकारको बिषयलाई लिएर लण्डनरहरुले निक्कै घनिभूत छलफल गरेका थिए । अन्तत सन् २०१४ मा यसको निर्माण भइसकेपछि सिरान तलामा एउटा ठूलो बगैचा बनाइएको छ । त्यो बगैचा नै बेलायतको सबैभन्दा अग्लो स्थानमा रहेको बगैचा हो,” त्यति भनि सकेर जोन पुनः आराम गर्न थाल्छ ।

    तर त्यसबेला जोनले त्यति धेरै आराम गर्नचाहिँ पाएन । किनभने हाम्रो क्रुज पानी माथि तैरिरहेको जलसेनाको अर्को एउटा पानीजहाज नजिक पुगिसकेको छ । तिनै पानीजहाजलाई देखाउदै,-

    “यो बेलायती जलसेनाको पानीजहाज एचएमएस बेलफास्ट हो । यसको निर्माण उत्तर आयरल्याण्डमा भएको थियो । जसले गर्दा यस्को नाम उत्तरआयरल्याण्डको राजधानी बेलफास्टको नाममा रहन गएको हो । यसको उदघाटन तत्कालिन बेलायती प्रधानमन्त्रि चेम्बरल्यानको श्रीमती आनाले सन् १९३८ को सेन्ट प्याट्रिक दिनमा गरेकी थिइन । लगभग ९ सय ५० जना जलसेना बोकेर हिड्ने अदभूत क्षमता भएको उक्त्त पानीजहाजले दोश्रो विश्वयुध्द र कोरियन युध्दमा अत्याधिक ख्याति कमाएको थियो । सन् १९७१ देखि पानीजहाज सेवा निबृत भएर सङ्ग्राहलयमा परिणत गरिएपछि थेम्स नदीको यिनै स्थानमा रहदै आएको छ,” उनी भन्छन् ।

    त्यसपछि एकछिन रोकिन्छ र सुस्तरि एकझमट बायातिर हेर्छ,-

    “ल ! हेर्नुहोस त । एचएमएस बेलफास्टको ठीक बायाँतिर रहेको दरवारटाअर अफ लण्डन हो । राजा विलियमले सन् १०७८ देखि निर्माण गर्न सुरु गरेको यो दरवार बनाउन लगभग २० बर्ष समय लागेको थियो । अङ्ग्रेजी राजनैतिक इतिहासको मूख्य भूमिका खेल्ने यस दरवारलाई अहिले सङ्ग्राहलयमा परिवर्तन गरिएको छ,” जोनले भने ।

    त्यति भनेर उनले आफ्नो वाक्यशंलाई पूर्ण बिराम लगाएपछि, म तिनै पुरानो दरवारलाई नदीमा बहिरहेको पानीदेखि निक्कै लामो समयसम्म हेर्छु । हुनत दरवार लगभग हजार बर्ष पहिले बनेको हुनाले खुइलिएर खैरो रङ्गमा परिवर्तन भैसकेको जस्तो देखिन्छ । अझै यो ढुङ्गा र कङ्क्रिटको थुप्रो वा पुरातात्विक दृष्टिले अति महत्वपूर्ण मानिने प्राचिन अवशेष जस्तो छ । दरवारको भित्ताहरुमा कहिँ कतै चम्किलो रङ्गको प्रयोग भएको देखिदैन । बरु रङ्ग गएर फुङ्गै उडेको भग्नावशेषजस्तो देखिन्छ ।

    तिनै दरवारको ठीक सामुन्ने तर नदीको तटमा एउटा मामुलि सडक छ । जहाँ ढुङ्गाहरु काटेर पातलोगरेर बिछ्याइएका छन् । यदि त्यहाँ मज्जाले ध्यान दिएर हेर्ने हो भने शिवरात्री मेलामा पशुपति नाथको दर्शनमा हिडेका भक्त्तालुहरु झैं हुलका हुल पर्यटकहरु हिडिरहेको दृश्यवलोकन गर्न मिल्छ । दरवारको पछाडि दिशामा पानी जमाउने एउटा ठूलो खाडल छ । जहाँ सुरक्षाको दृष्टिले पहिले पानी राखेर तलाउ जस्तो बनाइन्थ्यो । अहिले त्यहाँ गहिरो घाँसे जमिनमात्र देख्न सकिन्छ । जो कोहि मानिस त्यो खाडलमा खसिहाल्यो भने बाहिर जमिनमा निस्कन निक्कै हम्मेहम्मे पर्दछ । अनि दरवारको पूर्व दिशामा चाहिँ टावर ब्रिजको केही भाग रहन गएको छ ।

    हो, म यस दरवारमा निक्कै धेरैचोटी पुगेको छु ।किनभने इतिहासको बिभिन्न कालखण्डहरुमा यस दरवारले अनेकौ रुप धारण गरेकोदेख्न र सुन्न पाइन्छ । यहाँ कहिलेकहिँ हात हतियार र खजनाहरु राख्ने गरिन्थ्यो त कहिले राष्ट्रको गरगहनाहरु र तिनको अभिलेखको कार्यलय बनेको थियो । तर समय शक्त्तिशाली र परिवर्तनशिल हुन्छ । त्यसैले समय परिवर्तन हुने क्रममा यो दरवार एकपटक झ्यालखानामा पनि परिवर्तन भएको थियो ।

    हो, यो झ्यालखाना यहिँ हो । जहाँ राजा हेनरी छैटौंलाई थुनेर एडवार्डका सिपाहीहरुले बिभत्स हत्या गरेका थिए । यहाँ राजाको हत्या गरिएको घटनामात्र होइन । त्यस्तै दुःखलाग्दो अरु घटना पनि घटेका छन् । राजा हेनरी आठौंको ६ जना श्रीमतीहरु मध्ये आन बोलियन र क्याथरिन होवार्डलाई राजकाज सम्बन्धि महाअभियोग लगाएर थुनिएपछि यहिँ मृत्युदण्ड दिने निर्णय गरिएको थियो । तर मैले आज यस दरवारलाई निक्कै लामो समयसम्म नियालि रहँदा रानी आन बोलियनले मृत्युदण्ड पाउनु अगाडि आफ्नो श्रीमान हेनरी आठौंलाई लेखेकी अन्तिम पत्रको एक हरप याद गर्छु ।

    “श्रीमान् ! म मेरो जीवनभन्दा हजुरलाई हजार गुणा बढि माया गर्छु, त्यसैले मलाई केहिसमय बाँच्ने रहर छ । कृपा गरेर मलाई बचाँइ दिनुहोस्, महाराज ।”

    म त्यसबेला उनको पत्रलाईघरिघरि सम्झन्छु । जस्ले मेरो मस्तिष्क अहिले पनि घात हुने गर्छ ।यस झ्यालखानामा तिनै महारानीहरुले मात्र मृत्युदण्ड पाएका चाहिँ अवश्य हुँदै होइनन् । राजद्रोह सम्बन्धि मुद्दा परेका अन्य प्रख्यात अभियुक्तहरु मध्येवेस्टमिन्स्टर पार्लियमेन्ट भवनलाई भत्काउन खोज्ने गाइ फोक्स, थोमस विन्टर, एमब्रोस रुकवार्ड र रवर्ट किइजयहिँ थुनिएका थिए । उनीहरुलाई पनि ३१ जनवरी १६०६ मा मृत्युदण्ड दिइएको थियो । अझै ३५ बर्षे फोक्सलाई मृत्युदण्ड दिए पश्चात् उनको शरिरलाई चार टुक्रा बनाएर राजधानीको चार कुनामा लगेर झुन्डाएर अब देखि उसो कसैले राजा र राज्यको बिरुध्दमा कदम चाले यहि हालत हुनेछ भन्ने समाचार दिइएको थियो ।

    हरेक बर्ष लगभग ३० लाख पर्यटकहरुले भ्रमण गर्ने यो दरवारलाई बिदाइ गरेपश्चात हामी नजिकै रहेको साघुँतर्फ सुस्तरि बहन सुरु गर्छौं । टावर अफ लण्डनको ठीक सामुन्ने खडा भएर रहेको उक्त्त साघुँलाई “टावर ब्रिज” भन्ने गरिन्छ ।

    यसको निर्माण सन् १८८६देखि सुरु गरेर १८९४ पूर्ण गरिएको थियो । साघुँको डिजाइन होरेस जोन्सले गरेको भएतापनि मूख्य इन्जिनियर भने जोन बेरी हुन् । दैनिक ४० हजार मटरहरुले पार गर्ने उक्त्त साघुँको लम्बाइ ८ सय फिट र उचाइ २ सय १३ फिट रहेको छ । ठूल्ठूलो पानीजहाजहरुले साघुँलाई पार गर्दा यो साघुँलाई उठाइने गरिन्छ । जस्ले गर्दा यो साघुँ नै लण्डनको ऐतिहासिक चिन्ह (ल्याण्डमार्क) रहन गएको छ । तर विश्वका धेरै मानिसहरु अलमलमा परेर टावर ब्रिजलाई लण्डन ब्रिज भन्ने गर्छन । जुन चाहिँ सत्य होइन ।  

    क्रुजले टावर ब्रिजलाई छाडेको केहिबेरपछि हामी क्यानरी वार्फ नजिकै पुग्छौं । यो लण्डनको मूख्य ब्यापारिक केन्द्र भएको हुनाले यहाँका घर, होटल र भवनहरु ज्यादै महङ्गा छन् ।

    “यहाँको एक कोठे (फ्लाट) घरलाई एक मिलियन स्टरलिङ पाउण्ड पर्छ जस्ले गर्दा यहाँ विश्व लुटने डाकाहरु मात्र बस्छन्,” लगभग अन्तिम अन्तिम पटक जोनको मुख खोलिन्छ ।

    उनले त्यसो भन्दै गर्दा मलाई कप्तान विलियम किडको याद आउँछ ।

    डण्डी, स्कटल्ण्डमा जन्मेका कप्तान विलियम किड कुख्यात अन्तराष्ट्रिय सामुन्द्रिक डाका हुन् । सामुन्द्रिक डाका पेशा लिएका उनले लण्डनदेखि न्युयोर्कसम्म समुन्द्रमा डकैति गर्ने गर्दथे । निक्कै मेहनत गरेर उनलाई पक्राउ गरिएपछि २३ मे १७०१ मा यहाँ नजिकै थेम्स नदीकिनारमा मानिसहरुलाई फाँसी दिने स्थान अनुष्ठान घाट (इक्चुकेसन डक) लगेर घाँटीमा पासो हालेर मार्ने प्रयत्न गरिएको थियो । तर ऊँ एकदमै बलियो भएको कारणपहिलो पटक डोरी चुँडिएर उनको मृत्यु हुन सकेन । त्यसपछि पुनः दोश्रो पटकको प्रयत्नमा उनलाई झुन्डाइएर मारिएको थियो ।

    हुनत आजभोली मानिसहरुले जस्तोसुकै अपराध गरेको भएता पनि बेलायतमा प्राणदण्डको सजाय हुँदै हुँदैन । पिटर अलान र गुइन एभान्सले सन् १९६४ पाएका प्राणदण्ड नै बेलायतको सबैभन्दा अन्तिम सजाय थियो । त्यसैले बेलायतमा ज्यानको बदलि ज्यान (क्यापिटल पुनिसमेन्ट) सकि सकिएको छ ।

    अबत्यो प्राणदण्डको सजाय राम्रो हो वा होइन म त्यतातिर जान चाहन्न । तर पानीजहाजदेखि आरामदायी यात्रा गरिरहेको समयमा सुनसान आन्ध्र महासागरमा अचानक हातहतियारसँग देखा पर्ने तिनै सामुन्द्रिका डाका विलियम किड रउनको सिपाहीहरु कस्ता देखिन्थे होला भनेर कल्पनाको विचार लिइरहँदा हाम्रो क्रुज ग्रिनविचको घाटमा रोकिसकेको हुन्छ ।

    मैले घाट निरन्तर हेरिरहेको भएतापनि मेरो ध्यान सामुन्द्रिक डाकाहरुसँग भएको हुनाले सिधै अगाडिको घाटलाई देखिरहेको हुदिनँ ।तर अचानक,-

    “अब झर्ने होइन र ?”

    ताराले मेरो पछाडि ढाप मार्दै त्यसो भनेको सुन्दा म अनायसै झस्कन्छु तर सिधै मुनि थेम्सको पानीमा परेको मेरो छायाँले मलाई जिस्काइरहेको देख्छु ।

    बानबरी, इङ्गल्याण्ड ।

     

     

     

     

     

     

     

     

     

     

    सम्बन्धित समाचार