Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कठै ! मेरो जिल्लाका जनप्रतिनिधि !

    कठै ! मेरो जिल्लाका जनप्रतिनिधि !


    • शुक्रवार, भाद्र ८ २०८०

    • बाजिन्द्र बिष्ट


    कठै ! मेरो जिल्लाका जनप्रतिनिधि !
    बाजिन्द्र बिष्ट

    खोटाङ, ८ भदौ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा (हाल उदयपुर निवासी) भाई रमेश बिक आफ्नो २७ वर्षीय श्रीमती अलिशा बिक (४ वर्ष र ४५ दिनको बच्चाकी आमा)लाई लिएर कोशी अस्पताल बिराटनगर पुग्नुहुन्छ । भदौ ३१ गते आकस्मिक कक्षमा भर्ना गरिएकी श्रीमतीको २४ घण्टा बित्दासम्म पनि खासै सुधार नदेखिएपछि आत्तेस हुँदै रमेशले मलाई फोन गर्नुहुन्छ, ‘दाई कता हुनुहुन्छ ?’  ‘म एकछिनमा अस्पताल आउँछु’ भनेर केहीछिनमा पुगेर बुझ्दा बिरामीलाई आईसियुमा राख्नु पर्ने डाक्टरले बताउनु भएको रहेछ तर आकस्मिक कक्षले बेड नभएको बताएपछि यताउती बुझ्न थालेँ, भनसुन गरेँ तर पाउन सकिएन ।

    मेडिसिन वार्डमा राखेर उपचार गर्न पाए पनि बिरामी र नवजात शिशुलाई सहज हुन्थ्यो भनेर अनुनयबिनय गरियो, त्यो नि छैन भनियो । कस्तो बिडम्बना ! उपचारका लागि ल्याएको बिरामीलाई स्थिति खराब छ भनेर न रेफर दिन्छ न त तत्काल बेड भर्ना । गर्न नि कतिसम्म गरेछन् भने ईसिजी गर्नुपर्छ भनेर १२ बजेको समय दिएर ‘आज इसिजी गर्ने मान्छे आएन भन्दिए’ । बिरामी बेडमा छट्पटाइरहेको छ । मैले बुझ्दा ‘इसिजी गर्ने मान्छे थियो, भर्खर गयो भन्छन्’, हे बिडम्बना ! सरकारी अस्पतालको लापरबाही पनि कति ?

    शुक्रबार इसिजि नहुँदोरहेछ । अब बिरामीलाई कसरी आईसियु वा मेडिसिन वार्ड लाने भन्ने चिन्ता र चासो मात्र रह्यो । आकस्मिक कक्षका ड्युटी अफिसर ८ बजे आउनुहुन्छ, म उहाँलाई भन्दिन्छु । राती बेड मिल्छ भनेर ४ बजे हिँड्छन् तर बेड नमिलेपछि अर्को अस्पताल जाने निधो गरेका रमेशलाई भदौ ३ गते फोन गर्दा दुःखद् समचार सुन्नुपर्‍यो । ‘४ वर्षीय छोरी र ४५ दिनको छोरा टुहुरा भयो’ भन्दै रमेशको सालो भाईले फोन उठाउनुभयो ।

    सरकारमा रहेका सम्वन्धित मन्त्री चर्को स्वरमा कुर्लिन्छ्न, ‘कोही उपचार नपाएर मर्न पर्दैन, पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन’ तर दिनरात गरिब जनता मरिरहनुपरेको छ । यता प्रदेश सरकारको त कुरै नगरौँ । ९३ सांसदले हेर्दिन भन्दा पनि प्रदेशसभा छिर्नु भन्दा पहिला अस्पतालको भिड देख्छन् । सरकार फेरिइरहन्छ, सरकार फेरिएसँगै अस्पतालका मेसु फेरिन्छन तर आँखा चिम्लिएर भित्र छिर्छन् प्रदेशका मन्त्री र सांसद । प्रदेश स्वास्थ्य मन्त्रालयसँगै जोडिएको अस्पताल हो कोशी अस्पताल तर झ्याल खोल्दा भिड देखिन्छ भनेर पर्दा लगाएर बस्छन् मन्त्री र मन्त्रालयका सचिव । घटना यो नौलो, नयाँ र पहिलो होईन । दिनरात यस्ता घटना हुन्छन् कुनै सरकारलाई मतलब छैन ।

    कोशी अस्पताल म करिब ३ महिनादेखि निरन्तर जसो जाने गर्छु र नियाल्छु, धेरै चाप हुने गर्छ । त्यहाँ उपचारमा आउने ९० प्रतिशत साधारण नागरिक जो फाटेको चप्पल लगाएर त कोही खाली खुट्टा आउनुहुन्छ । कोशी अस्पतालमा कार्यरत धेरैजसो डाक्टरको अस्पताल वरिपरि क्लिनिक छ या निजि अस्पतालमा काम गर्छन् र सरकारी अस्पतालमा तोकिएको समय पूर्ण बिताउदैनन् । दिनको ९–३ अथवा १०–३ को समय भए पनि १०–१/१०–२ सम्म मरितरी भेटिन्छन् । आकस्मिक कक्षमा भर्ना भै उपचाररत बिरामीको त्यहाँ उपचार हुने नहुने त्यहाँका ड्युटी अफिसरले भन्दैनन् तर लगभग बाध्य पार्छन् वरिपरि आफ्नो लगानी भएको अस्पताल जान किनकी आकस्मिक कक्षमा बसेको एक दुई दिन भै सक्यो सामान्य ड्युटीको डाक्टर वा तल्लो दर्जाको कोही आउदैन् । बोलायो ‘एक्छिन् भन्छन्’ । कर्मचारी हो कि प्रशिक्षणमा आएको बिद्यार्थी हो चिनिदैन ।

    विषय यति लामो लेख्दा कोशी अस्पताल मात्र सबै दोषी भन्नू भन्दा पनि राज्य प्रणाली, नीति, नेता, सरकार सबै गलत हुन् भन्ने हिसाबले यो अत्याचार देख्न नसकेर लेखेको हुँ । पात्र यी भन्दा अगाडि पनि बनाएर लेखौं जस्तो लागेको थियो त्यस्तै दर्दनाक अचेत अवस्थाको करिव ८० वर्षीय आमा (साथी)को घटना अस्पतालको बेवास्तापछि ३/४ वटा अस्पताल कुदाउँदै काठमाण्डौ लगिएको थियो तर थामिएँ र निरन्तर हेरिरहे कोशी अस्पताल टिकटको लाईन, उपचारका लागि पैसा तिर्नेको लाईन अनि भिडियो एक्स–रे गर्ने लाईन र हजारौं हुन्छन् तर काउन्टर दुई वटा हुन्छ ।

    अनि खोटाङबाट आएको बिरामी सम्झिन्छु सिमित खर्च बोकेर आउनुहुन्छ, टिकट लिन समस्या, लियो टिकट, डाक्टर भेट्यो, यी परिक्षण गर्नुपर्छ, पैसा तिरेर नमुना बुझाउनु अनि आउनु जानु । जाउ पैसा बुझाउन आजको दिन चट, भोली नमुना टेस्ट बुझाउने, पर्सी रिपोर्ट लिने र देखाउने, भिडियो एक्सरे गर्ने पालो छ एक हप्ता पछि । बिरामी उपचार गराएर फर्किनु हुन्छ कि त्यसै सबैलाई थाहा हुन्छ । निजी अस्पताल जाउँ, सबै छिटो हुन्छ तर बेलामा डिस्चार्ज हुँदैन, बिल तिर्ने बेला कसलाई भन्नू । बिरामीको आफन्तले सम्झिन्छन् ‘सिधै चोर अस्पताल हो लुट्छ सकिँदैन केही छुट हुन्न’ भनेर पन्छिन्छु । भनेपछि उपचारका लागि कहाँ जाने ? छक्क परेर मन पिरोलिन्छु । फेरि अर्को दिन फोन आउँछ, फलानो अस्पतालमा बिरामी लिएर आको छु, हे भगवान ! यति साह्रो कष्टकर अवस्था कहिलेसम्म जनताले बेहोर्नु पर्ने हो ? अहिलेसम्मका दलाल सरकार हो । उहिलेका अस्पताल नि मास्दैछौ । अहिले नी बनाउन सक्दैनौं, गर्छौ भ्रष्टाचार मात्र ? मच्चाउछौ काण्ड मात्र ?

    कुरा जोडौं खोटाङकै । पहाडको बाटो बर्षा, बाढी पहिरो, हिलोले गाडी चल्दैन । यस्तो अवस्थामा गाउँबाट उपचारमा जान प्रायः असम्भव छ । पहिला धामी झाँक्री, झारफुक गरेर हुँदै नभए, सहनै नसके अस्पताल जाने हो जसोतसो । एम्बुलेन्स मगाएर जानुपर्नेको अर्कै ब्यथा छ । चालकले महँगो अस्पताल पुर्‍याउँछ, कहाँ, कुन अस्पताल छ ? गाउँका नागरिकलाई के थाहा । थाहा छ त कांग्रेस एमाले र माओबादी । जनता बिरामी पर्दा कुन स्व. नेताको नामको वा नेताको लगानीको अस्पताल जाने के थाहा ?

    अहिलेसम्म खोटाङबाट निर्वाचित सबै माननीय जनता मारा हुन् । खोटाङ्गे जनताको स्वास्थ्य उपचार गर्न एउटा राम्रो सुविधा सम्पन्न अस्पताल बनाउन नसक्ने र भएको अस्पताल ब्यबस्थित गर्न नसक्ने, कठै मेरो जिल्लाका जनप्रतिनिधि ‘कुरीकुरी’ भन्छु । अस्पतालमा बिरामी भएको थाहा पाए फोटो खिच्नसम्म पुगे र पुगि राख्छन् तर आफ्नै जिल्लामा वा यत्रो कष्टले अस्पताल पुगेका जनताको सहज रुपमा उपचार हुने अस्पताल नभएको महसुस खै ? आफ्नो पार्टीको झोला बोक्नेलाई अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति गर्‍यो । केही अर्वौका सामान खरिद गर्‍यो, कमिसन मिलायो, बस पुग्यो ।

    आज स्वास्थ्य बिमाको कुरा गर्छन् । केही समय बिमा कार्यक्रम राम्रै थियो तर अहिले प्रदेश राजधानी बिराटनगरका निजी अस्पतालले बिमा कार्यक्रम बन्द गरी उहीँ चर्को शुल्क लिँदैछन् । अनि बिपन्नका लागि निःशुल्क खै कति प्रतिशतको उपचार गर्नु पर्ने त्यो बालेनको शहरमा सुनेको थिएँ । यता कस्को, कुन ..लाल शहर पर्‍यो ? कसरी थाहा पाउनु ? सरकारी अस्पतालको उपचारको त्यो हालत छ, कहाँ जाने उपचार गर्न ? सबै अहिलेसम्मका खोटाङ्गे माननीय ज्यु जवाफ चाहियो ? अर्वौका टावर बनाउन सक्नेले सुविधा सम्पन्न अस्पताल बनाउन सकिँदैन सरकार ?

    (लेखकः कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति हुन् ।)

    सम्बन्धित समाचार