शुक्रवार, भाद्र ८ २०८०
नेपाल वाइड
खोटाङ, ८ भदौ । खोटाङमा झरी वर्षाका कारण लेदो र पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । राँगाकाटेमा सडकभन्दा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, बयाक्तामा सडकमाथिबाट बन्दैगरेको अर्को सडकको माटो लेदोको रुपमा खस्दा मध्यपहाडी अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा खोटाङबाट काठ्माडौं तथा पुर्वी शहर आवतजावत गर्ने यात्रु अलपत्र परेका छन् ।
स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । सडक खुलाउनका लागि प्रहरीचौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको छ । खोटाङ–काठ्माडौंको बीचमा पर्ने भँडारे खोला, सोखु खोला लगायतका ठाउँमा पनि यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।
वर्षा सुरु भएसँगै खोटाङका सबै कच्ची सडक अवरुद्ध हुँदा मध्यपहाडी लोकमार्ग मात्र सञ्चालन हुने गरेको छ । असार १५ गतेदेखि जिल्लाको सबै कच्ची सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । दिक्तेल–हुर्लुङ–जालपा–ऐसेलुखर्क, दिक्तेल––जालपा–बाक्सिला, दिक्तेल–खार्मी–बालाबेँसी, दिक्तेल–साकेला–रतन्छा, दिक्तेल–पञ्चमी–खोटाङबजार, दिक्तेल–दोर्पा–रतन्छा, दिक्तेल–फोक्सिङटार–गाईघाट लगायतका सडक अवरुद्ध भएको हो ।
स्तरोन्नतीको जिम्मा लिएको ठेकेदार र सम्वन्धित क्षेत्रका स्थानीय तहले सडक सुचारु गराउनमा ध्यान नदिएको महासचिव हिङमाङले बताए । दिक्तेल रुपाकोट मझुवागढीको अगुवाईमा सञ्चालन गरिएको श्रमदानमार्फत मर्मत गरिएका कारण दिक्तेल–पाथेका सडक भने वर्षामा पनि सञ्चालन भइरहेको छ ।
भदौरे झरीका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ६ घर पहिरोको जोखिममा परेको छ । मुनिबाट गएको पहिरोले कृष्ण कार्कीको बन्दैगरेको घर, डम्बर कार्की, कमानसिं राई, केशव परियार र दिपक परियारको घर जोखिममा परेको हो । यस्तै, माथिबाट खसेको पहिरोले रमेश बस्नेतको घर जोखिममा परेको वडाध्यक्ष कमल गिरीले बताए । उनीहरुलाई त्रिपाल लगायतका सामग्री दिने तयारी भइरहेको छ ।